१४ बैशाख २०८१, शुक्रबार

गौरा पर्व : सुदूरपश्चिममा मनाइयो ‘नानीगौरा’



बैतडी / सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज ‘नानीगौरा’ मनाइएको छ । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ ।

आजको दिनलाई स्थानीय भाषामा ‘नानीगौरा’ भन्ने चलन छ । सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ ।

हिजो भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रहेको सुर्नया गाउँपालिका ६ का हरिना अवस्थीले बताइन् । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने चलन छ ।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए ।

दूर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोलि नै महिलाहरुले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रहेको छ । तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् ।

शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रहेको छ । तर यो बर्ष कोरोना कारण गाउँघरमा गौराको रौनक नभएको स्थानीयले बताएका छन् । कोरोनाका कारण सामूहिक रुपमा जमघट नपाएकाले गौराको रौनक नभएको दशरथचन्द नगरपालिका २ कागणेशबहादुर बोहराले बताए । गौराको समयमा सामूहिक रुपमा ठाडो खेल, ढुस्को, धमारी लगायतका सांस्कृतिक खेलहरु खेलिने भए पनि स्थानीय प्रशासनले भीडभाड नगर्न आग्रह गरेको छ ।

यसपालि छैन रौनक

गौरापर्वको बैतडीमा खासै चहलपहल छैन । कोरोना महामारीका कारण यो वर्ष गौरामा रौनक नभएको बैतडीका स्थानीयले बताएका छन् । गौरा सामाजिक सद्भावको पर्व भएकाले बसाईसराई गरेर गएकाहरु आउने भए पनि यो वर्ष कोरोनाका कारण अन्य ठाउँका मानिस आउन नसकेको दशरथचन्द नगरपालिका ४ जर्गकाका शिराम पाण्डेयले बताए ।

कोरोनाको त्रास कारण गाउँघरमा गौराको रौनक नभएको दशरथचन्द नगरपालिका-२ देहीमाडौंका गणेश बोहराले बताए । अरु वर्षजस्तो यो वर्ष गौराको रौनक नभएको उनले बताए । गौराको समयमा विभिन्न खालका सांस्कृतिक खेलहरु खेलिने भए पनि कोरोनाका कारण खेल्नसमेत समस्या भएको उनले बताए ।

गौराको समयमा अन्य बर्षको तुलनामा बजारहरुमा समेत चहलपहल कम भएको व्यापारीले बताएका छन् । अन्य वर्षको तुलनामा यो वर्ष बजार चहलपहल कम भएको देहिमाडौंका व्यापारी सूर्यबहादुर बोहराले बताए । गौराको समयमा टाढाटाढाका मान्छेहरु आउने भए पनि यो वर्ष त्यस्तो चहलपहल नभएको उनको भनाइ छ । -NK

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार