३० भाद्र २०८१, आईतवार

रामुकमारीले भनिन वामदेव एमाले छोडेर आउनुहुन्छ



काठमाडौं / प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले एमाले उपाध्यक्ष वामदेव गौतम पार्टीबाट राजीनामा दिएर आउने बताएकी छन् ।

निर्वाचन आयोगमा सनाखतका लागि पुगेकी झाँक्रीले सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी अभियानमा सबैका लागि ढोका खुला रहेको बताइन् । ‘हाम्रो अभियानसँग सहमत भएकाहरु नै आउने हो । सबैका लागि ढोका खुला छ । वामदेव कमरेड एमालेमा राजीनामा गरेर आउनुहुन्छ भन्ने सुनिएको छ । उहाँ सरकारले मनोनित गरेको मान्छे हो । उहाँलाई दल परिवर्तनको कानुन आकर्षित हुँदैन । त्यसकारण निर्णय गर्नुहुन्छ होला,’ झाँक्रीले भनिन् ।

झाँक्रीले पार्टीमा सोचेभन्दा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट संख्या बढेर आएको दाबी पनि गरिन् ।

झाँक्रीले संसदीय दलको १५४ सांसद र २०३ केन्द्रीय कमिटीका सदस्यहरुमध्ये सनाखत गर्न चाहनेलाई दिनुपर्ने बताइन् । ‘उहाँहरुले रोक्न पाउनुहुन्न । यदि त्यस्तो रोक्ने हो भने कहाँनेर छ कानुनमा देखाउनुपर्छ । हिजोअस्ति हामीसँग पूर्वाग्रह राख्नुभयो । विभाजनदेखि यहाँसम्म आउन प्रमुख आयुक्तको ठूलो भूमिका छ,’ उनले भनिन्, ‘सनाखतमा आउनेलाई दिनुपर्छ । दिनुहुन्न भने कुन कानुन अनुसार दिनुहुन्न त्यसको जवाफ हामी खोज्छौं ।’

अर्का नेता गंगाधर तुलाधरले माध्यमार्गी नेताहरुले धोका दिएको टिप्पणी गरे । ‘पार्टी गठन गर्न ढिला भयो भनेर कराउने उहाँहरु नै हो । उहाँले धोका दिनुभयो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार