१२ श्रावण २०८१, शनिबार

योगेश भट्टराई भन्छन् : चन्द्रागिरी होइन, तुल्सीलाल प्रतिष्ठान जान्छौँ



काठमाडौं / नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपालले राखेको बैठकमा आफूहरु सहभागी नहुने बताएका छन् । 

एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि प्रक्रिया थालेका नेपाल समूहको बैठक काठमाडौंको चन्द्रागिरीमा चलिरहेको छ । पार्टी एकताको पक्षमा रहेको बताउने भट्टराईसहितका नेताहरु भने नेपाल समूहले राखेको बैठकमा सहभागी नहुने भएका हुन् । 

‘हामी चन्द्रागिरी जाँदैनौँ’, न्यूज कारखानासँग कुरा गर्दै भट्टराईले भने, ‘तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा सहभागी हुन्छौँ ।’

तुल्सीलाल प्रतिष्ठानमा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको सो बैठक अपरान्ह ३ बजेसम्मका लागि सारिएको छ । 

लामो समय नेपाल समूहमा रहेका भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त, अमृत बोहरा, भीम आचार्य र अष्टलक्ष्मी शाक्य तटस्थ रहँदै आएका छन् । उनीहरुले गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीसामु दबाब सृजना गरेका छन् ।

सोही विषयमा मंगलबार बस्न लागेको स्थायी कमिटी बैठकमा छलफल हुने योगेश भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार