१९ मंसिर २०८२, शुक्रबार

एमाले विभाजन : सम्धी माधवतिरै, वामदेव यता न उता !



काठमाडौं / औपचारिक विभाजनको बाटोमा गएको नेकपा एमालेभित्र नेता तानातानको शृंखला सुरु भएको छ । 

वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रिया अघि बढाएपछि विगतमा नेपाल खेमाबाट टाढिएका उनका सम्धी सोमप्रसाद पाण्डे पुनः नेपालतिरै फर्किएका छन् । 

उता, माधव नेपाललाई साथ दिने बताउँदै आएका एमाले उपाध्यक्ष वामदेव गौतम भने दुवै पार्टीका बैठकमा सहभागी भएका छैनन् । 

चन्द्रागिरि रिसोर्टमा जारी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठकमा विगतमा एमालेमै रहेका भनिएका पाण्डे, माया ज्ञवाली, रामप्रित पासवानलगायतका नेता सहभागी भएको सो पार्टीका नेता जगन्नाथ खतिवडाले न्युज कारखानालाई बताए । 

उपाध्यक्ष गौतम भने हिजोदेखि जारी नेपाल पक्षधर नेताहरूको बैठकमा सहभागी भएनन् भने तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकमा समेत सहभागी भएका छैनन् । 
एमाले पार्टी कार्यालयका शेरबहादुर तामाङका अनुसार गौतम अहिलेसम्म बैठकमा सहभागी हुन पुगेका छैनन् । 

विगतमा नेपाललाई साथ दिँदै आएका १० जना स्थायी कमिटी सदस्य जारी बैठकमा सहभागी भए पनि गौतम हालसम्म बैठकमा उपस्थित भइनसकेको तामाङले जानकारी दिए । 

पार्टी विभाजनको कसरत भइरहेका वेला दुवैतर्फबाट केन्द्रीय सदस्य पनि तानातान चलिरहेको छ । निर्वाचन आयोगले बुधबार नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न साढे दुई घन्टाको समय छुट्याएको छ ।
 

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार