२९ बैशाख २०८१, शनिबार

आइएमईबाट पैसा



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ की आशा विक कोरोना संक्रमित भइन । उनी अहिले संक्रमणमुक्त भएकी उनी अहिले गर्भवती रहेकी छिन । गभवति भएपछि अहिले उनलाई पौष्टिक आहारको जोहो गर्न समस्या रहेको छ ।

सोमबार उनले दलित महिला अधिकार मञ्चको सहयोगमा उनले आइएमइबाट चार हजार पाँच सय रुपैयाँ प्राप्त गरिन । उनले भनिन –‘कोरोना संक्रमणमुक्त त भए तर, अहिले गर्भवति पनि छु । यो अवस्थामा पौष्टिक आहारको आवश्यकता पर्छ । यो रकमले त्यही सामाग्री खरिद गर्छु ।’

धनगढी उपमहानगरपालिका १८ फूलबारीकी दिलकुमारी दर्जी कोरोना संक्रमणमुक्त भइन । उनी संक्रमण मुक्त भएपनि श्रीमान भने कोरोनाबाटै गुमाउनुपर्यो । फूलबारीकै आइएमइमा भेटिएकी ज्येष्ठ नागरिक दर्जीले भनिन –‘संक्रमित हुँदा पनि आर्थिक अभाव झेल्नुपर्यो । अहिले विरामी पनि छु । औषधि उपचार गर्न रकम अभाव छ ।’ उनले मञ्चले आइएमइबाट उपलब्ध गराएको रकम देखाउँदै भनिन –‘यो पैसाले आवश्यक अनुसारको औषधि किन्छु र खान्छु ।’

डि.सि.ए.को सहयोगमा ड्रफ परियोजना अन्तर्गत दलित महिला अधिकार मंच नेपालले धनगढीका १९ वटै वडामा अति विपन्न कोरोना प्रभावितहरुलाई नगद रकम सहयोग गर्ने अभियान अघि बढाएको छ ।

कोभिड संक्रमणबाट पीडित भएका विपन्न वर्ग भित्रका महिला, दलित महिला, अपाङता रहेका महिला, एकल महिला, जेष्ठ नागरिकरुलाई पौष्टिक खानेकुराका लागि सहयोग गरिएको छ उनले भनिन ।

उनले उपमहानगरपालिकाका १९ वटै वडाका पाँच सय घर परिवारलाई प्रति घर चार हजार पाँच सय रकम आइएमई मार्फत पठाइएको बताइन ।

उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री

मञ्चले अति विपन्न कोरोना प्रभावितहरुको लागि धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष सावित्रा घिमिरेले धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट र स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहरालाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरेकी हुन । संस्थाले हस्तान्तरण गरेको स्वास्थ्य तथा सरसफाई सामग्रीमा हाइजिनिक किट १०० बक्स, फेस शिल्ड १०० पीस, थर्मामिटर १०० पीस, डिटोल नुहाउने साबुन १०० पीस, डिटोल एन्टीसेप्टीक २५० एमएल १०० पीस, हायण्ड सेनिटाइजर ५०० एमएल १०० पीस, वासिङ सोप १०० पाकेट, फेस मास्क १०० पाकेट, ग्लोव १०० पाकेट, थर्मस १०० पीस, सेनिटाइजर ५ लिटर १०० पीस, टिसु पेपर १०० पाकेट रहेको छ ।

संस्थाकी अध्यक्ष घिमिरेले डफ परियोजना अन्तर्गत कोभिड–१९ को दोस्रो चरण प्रतिकार्य २०२१ मा अति विपन्न तीन सय कोरोना प्रभावितहरुका लागि धनगढी उपमहानगरपालिका मार्फत स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको बताइन ।

कार्यक्रममा मञ्चकी कोषाध्यक्ष निर्मला विक, सदस्य ईन्द्रा दानपाली, कार्यक्रम संयोजक रोहित विक, राजेन्द्र रैका लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार