१२ बैशाख २०८१, बुधबार

महाकाली झोलुंगे पुल जीर्ण बन्दै



फाइल तस्बिर

कञ्चनपुर । कञ्चनपुृरको महाकाली नदीमा निमार्ण भएको दक्षिण एसियाकै दोस्रो लामो झोलुङगे पुल जिर्ण अवस्थामा पुगेको छ । जिल्लामा कोरोना महामारीको दोस्रो लहरपछि सुरु भएको निषेधाज्ञापछि पुलको अवस्था जिर्ण हुँदै गएको हो । पुल जिर्ण हुँदा पुलबाट महाकाली पारि रहेको दोधरा चाँदनी नगरपालिका आवातजावत गर्न समस्या भएको छ ।

वर्षा सुरु भएपछि झोलुंगे पुल माथि निमार्णाधिन चारलेनको पक्की पुलको पहुँच मार्ग समेत महाकाली नदीको बाढीले भत्किएपछि स्थानियलाई आवतजनवतमा झनै समस्या भएको छ ।

‘सदरमुकाम आवतजावत गर्नको महाकाली नदीमा चारलेनको निमार्णाधिन पक्की पुल थियो, केही दिन अगाडि नदीमा आएको बाढीले गर्दा पुलको पहुँच मार्ग भत्किदा सदरमुकाम जाने बाटो बन्द भयो’ दोधरा चाँदनी नगरपालिकाका स्थानिय रमेश सुनारले भने, ‘कोरोना महाकारीका कारण सुरु भएको निषेधाज्ञा केही खुकुलो पारिएको छ, दैनिक सदरमुकाम आउने जाने काम पर्दछ, सदरमुकाम आवतजावत गरिने झोलुंगे पुल जिर्ण हुँदै जाँदा अहिले पुलमा यात्रा गर्दा निकै समस्या छ ।’ वर्षायाममा नदीमा पानीको बहाव बढेको हुँदा जिर्ण हुँदै गरेको पुलबाट गरिने यात्रा जोखिमपूर्ण भएको उनको भनाई छ ।

पुल जिर्ण हुँदा आवतजावत गर्नको लागि जोखिमपूर्ण यात्रा गनुपर्ने बाध्यता रहेको अर्का स्थानिय राम चन्द्र बोहराले बताए । ‘दोधरा चाँदनी नगरपालिकाबाट दैनिक सयौँ दुई पांग्र सवारी साधन सदरमुकाम महेन्द्रनगर आवतजावत गर्ने गर्दछन्, त्यसमा पनि केही दिन अगाडि आवातजावत गर्न सकिने अवस्थामा पुगेको पक्की पुलको संरचना बाढीले भत्काएपछि पुलले अत्याधिक चाप खेप्नु परेको छ’ उनले भने, ‘यसले गर्दा पुल मार्फत ओहोरदोहोर गर्ने दोधरा चाँदनीका स्थानियलाई आवत जावतमा पनि समस्या सृजना हुने स्थिती आएको छ ।’

समय समयमा झोलुङ्ले पुल सँग जोडिएका नगरपालिका दोधरा चाँदनी र भीमदत्तले पनि मर्मत सम्भार गर्ने गरेको स्थिती थियो । पुलका नटबोल्टहरू केही टुटेका छन्् भने केही जिर्ण अवस्थामा छन्् । यस्तै पुलको सस्पेन्सर र लड्डा खस्ने अवस्थामा पुगेका छन् । यस्तै पुलको मध्य भागको केही स्थानमा भने दुई पांग्रे सवारी साधन अड्किने गरेर पुलका प्लेटहरू टुटेका छन् ।

बिभिन्न स्थानमा प्लेट टुट्दा बेला बखत मोटरसाईकलहरू दुर्घटना पर्दै आएपनि पुलको मर्मत सम्भारमा कसैको चासो नभएको स्थानियहरूको गुनासो रहदै आएको छ ।

यता दोधरा चाँदनी नगरपालिकाले भने जिर्ण पुलको मर्मत कार्य केही समय भित्र सुरु हुने जनाएको छ । नगरपालिकाकी उपप्रमुख चिनी ओझा गिरीले नगरपालिकाले इन्जिनियर सहितको प्राविधिक टोली पठाएर पुलको निमार्ण अबिलम्व गरिने बताईन् ।

‘यसअघि पनि नगरपालिकाले समय समयमा जिर्ण भएको अवस्थामा पुलको मर्मत कार्य गर्ने गरेको थियो, उपप्रमुख गिरीले भनिन्, ‘यसपटक पनि केही मर्मत गर्नुपर्ने आवश्यक भएको भन्ने जनगुनासो आएको छ, तसर्थ केही समयभित्रै आवश्यक जनशक्ति पठाएर जिर्ण भएको पुलको मर्मत कार्य सुरु गरिने नगरपालिकाको योजना रहेको छ ।’ नगरपालिकाले नगरसभा मार्फत नै बजेट विनियोजन गरेर पुलको मर्मतका लागि आवश्यक सामान खरिद गरेर मर्मत सम्भार कार्य गर्ने उनको भनाई छ ।

नगरपालिका देखि सदरमुकाम आउनको लागि दुईपांग्रे सवारी साधन भन्दा अन्य साधन लिएर आउनको लागि भारतको बाटो प्रयोग गरेर आउनु पर्ने बाध्यता रहेको छ । नदीमा निमार्णधिन चारलेनको पक्की पुल निमार्णपछि भने स्थानियलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार