३ जेष्ठ २०८१, बिहीबार

होम आइसोलेशनः सावधानी न्यून, संक्रमण फैलाउँदै



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का एक महिलामा डेढ साताअघि रुघाखोकी र ज्वरोको समस्या देखिएपछि स्वाब परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक प्रयोगशाला गइन् । स्वाब दिएको केही दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भयो । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनका श्रीमानले पनि आफ्नो स्वाब परिक्षण गरे । उनमा पनि कोरोना संक्रमण रहेको पुष्टि भयो । अहिले दुवै श्रीमान–श्रीमति होम आइसोलेशनमा बसेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३७ वर्षीय पुरुषमा करिब तीन साताअघि कोरोना संक्रमणका मिल्दाजुल्दा लक्षण देखिएपछि उनले सेती अस्पतालको प्रयोगशालामा परीक्षणका लागि स्वाब दिए । उनको रिपोर्ट आउन तीन दिन लाग्यो । रिपोर्ट नआउँदासम्म उनी घरमा छुट्टै आइसोलेशनमा बसेनन् । घरपरिवारमै घुलमिल भइरहे । उनले स्वाब दिएको तीन दिनपछि रिपोर्ट आयो । उनमा कोरोना संक्रमण पुष्टि भयो ।

ती व्यक्तिमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको दुई दिनपछि उनकी श्रीमतीमा पनि कोरोनाका लक्षण देखिन थाल्यो । उनकी श्रीमतिले पनि स्वाब दिइन् । उनमा पनि कोरोना संक्रमण पुष्टि भयो । ‘अहिले श्रीमतिको दोस्रो पटक स्वाब परिक्षण भयो । उनको रिपोर्ट नेगेटिभ आइसकेको छ । मलाई पनि त्यस्तो कुनै लक्षणहरू छैनन । तर, मेरो दोस्रो स्वाब परिक्षणमा पनि रिपोर्ट ‘पोजेटिभ’ आएको छ । म अहिले अलग्गै बसेको छु’ ती पुरुषले भने ।

कोरोनाको दोस्रो भेरिएन्ट फैलिएसंगै पछिल्लो एक महिनादेखि धनगढी सहित कैलाली र समग्र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । भरखरै नेपालमा तेस्रो भेरिएन्ट (भारतीय भेरिएन्ट) कोरोना भाइरस भेटिएको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पुष्टि गरिसकेको छ । कोरोनाको तेस्रो भेरिएन्ट अझ घातक र सबै उमेर समुहका लागि उत्तिकै संक्रामक र जोखिमपूर्ण रहेको विज्ञहरूले बताइसकेका छन्् । कोरोना संक्रमण दर बढेको बढ्यै भए पनि संक्रमणको “चेन ब्रेक” गर्नेतर्फ सरकारका तर्फबाट अहिलेसम्म प्रभावकारी प्रयास भएको देखिँदैन । संक्रमितहरूलाई होम आइसोलेशनमा बस्न सरकारले यसअघि नै “अनुरोध” गरिसकेको छ, तर होम आइसोलेशन पनि प्रभावकारी हुनसकेका छैनन् ।

कुनै एक जनामा कोरोना संक्रमण पुष्टि हुँदा परिवारका अन्य सदस्यहरूमा पनि संक्रमण फैलिने गरेको तथ्यांकहरूले देखाइरहेका छन्् । स्वास्थ्यकर्मीहरू कोरोनाका लक्षण देखिएमा परीक्षणका लागि स्वाब दिने र रिपोर्ट नआएसम्म घरपरिवारभित्रै घुलमिल हुने गरेका कारणले पनि परिवारका अन्य सदस्यहरू पनि संक्रमित हुने समस्या बढेको बताउँछन् ।

धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मी कृष्ण बोहरा स्वाबको रिपोर्ट नआउन्जेल शंकास्पद संक्रमित परिवार र समुदायमा घुलमिल हुने गरेको पाइएको बताउँछन्् । उनी भन्छन्– पिसिआर रिपोर्ट ढिलो गरि आउनु पनि कोरोना संक्रमण बढ्नुको अर्को कारण हो । यसको पीडा संक्रमितलाई मात्रै अनुभव हुन्छ । किनकी रिपोर्ट पोजिटिभ आएपछि मात्र सामाजिक दुरी कायम गर्ने मानसिकता देखिन्छ ।

धनगढी उपमहानगरपालिकाभित्र साढे पाँच हजार बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा अहिले दुई हजार पाँच सय ६० सक्रिय संक्रमित रहेका छन् । उपमहानगरपालिकामा अहिलेसम्म कोरोना संक्रमणबाट ६५ जनाको मृत्यु भइसकेको छ ।

धनगढी उपमहानगरपालिकामा वडा नम्बर ५, १, २, ३ र ४ मा सबैभन्दा बढी कोरोना संक्रमित रहेको उपमहानगरपालिकाको तथ्यांकमा उल्लेख छ । उपमहानगरपालिकाको तथ्यांक अनुसार सबैभन्दा बढी वडा नम्बर ५ मा छ सय ६४ जना कोरोना संक्रमित रहेका छन् ।

त्यस्तै, वडा नम्बर १ मा तीन सय ६०, वडा नम्बर २ मा तीन सय ३८, वडा नम्बर ३ मा तीन सय २० र वडा नम्बर ४ मा तीन सय १० जना सक्रिय संक्रमित रहेका छन् । धनगढी उपमहानगरपालिकाभित्र अहिलेसम्म कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु वडा नम्बर २ मा भएको छ । उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार वडा नम्बर २ मा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भइसकेको छ ।

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अहेव लक्ष्मीराज उपाध्याय भन्छन््– उपमहानगरपालिकाभित्र पढेलेखेका, सरकारी कर्मचारी तथा आफूलाई बुद्धिजीवी भन्न रुचाउनेहरूमा नै बढि संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरू ‘होम आइसोलेसन’ मा रहेको, तर आफूलाई एकान्तबासमा राख्नु भन्दा पनि विभिन्न बहानामा खुलेआम घुम्ने गरेको पाइन्छ ।

‘संक्रमित श्रीमतिको दोस्रो स्वाब परिक्षणका लागि श्रीमानले मोटरसाइकलमा प्रयोगशालामा ल्याउने गरेको पनि भेटिएको छ । संक्रमण पुष्टि भएका व्यक्तिहरू मर्निङ वाकका नाममा सडकमा घुमफिर गरिरहेको पाइन्छ’ उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अहेव उपाध्यायले भने– उनीहरूलाई कसरी सचेत गराउने ? भन्ने जल्दोबल्दो सवाल छ । यस्तै अवस्था रहिरह्यो भने कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न निकै कठिनाई हुन्छ ।

अहेव उपाध्यायले कोरोना संक्रमण पुष्टि भएकाहरूलाई होम आइसोलेसनबाट बाहिर सुरक्षित आइसोलेशनमा राख्नेतर्फ तत्काल प्रबन्ध गर्नुपर्ने बताए ।

धनगढी उपमहानगरपालिकाले होम आइसोलेसनमा रहेका संक्रमितहरूसंग फोन सम्पर्क गर्दै घरभित्र छुट्टै बस्न तथा परिवार र समाजलाई सुरक्षित राख्न योगदान पुर्याउन आग्रह गर्दै आएको छ ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै “कोरोना संक्रमितहरू सार्वजनिक स्थानमा खुलेआम हिँडीरहेको पाइएको” प्रति चिन्ता व्यक्त गरेको छ । विज्ञप्तीमा स्वास्थ्य मन्त्रालयले भनेको छ– सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरसहित देशभरका २० भन्दा बढी जिल्लामा कोरोना संक्रमितहरू खुलेआम हिँडीरहेको पाइएको छ । यसरी संक्रमितहरू खुलेआम हिँड्दा संक्रमणको दर कम गर्न चुनौती थपिएको छ ।

धनगढी उपमहागनरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोनाको दोस्रो लहर शुरु भएयता धनगढीमा स्वाब परिक्षण गराउनेको कुल संख्यामा ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भइरहेकोमा एक सातायता यो दर झन् बढेको छ । उपमहानगरपालिकामा एक सातायता स्वाब परिक्षण गराएकामध्ये ७५ प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ । अहेव उपाध्यायले भने– एक हप्ता यता जति पनि स्वाब दिन आइरहेका छन्, तिनिहरूमध्ये दुई तिहाई बढिमा संक्रमण पुष्टि भइरहेको छ ।

धनगढी उपमहानगरपालिकामा दैनिक सरदर डेढ सयको हाराहारीमा कोरोना संक्रमित थपिदै गएका छन् । धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका अधिकाँस व्यक्तिहरू होम आइसोलेसनमै बसेका छन् । ती संक्रमितहरूलाई घरभित्रै बस्न, स्वस्थकर खाना खान, योग गर्न लगायतका सुझाव उपमहानगरपालिकाभित्रका स्वास्थ्यकर्मीहरूले आग्रह र सुझाव दिइरहेका छन् । तर, संक्रमितहरू कसरी घरभित्र बसिरहेका छन्् ? भन्ने कुनै प्रभावकारी अनुगमन भइरहेको छैन ।

धनगढी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले पनि केही संक्रमितहरू खुला रुपमा सडकमा घुम्ने गरेको पाइएको बताए । ‘अहिले धेरै मानिस सचेत भइसकेका छन् । तर, केही संक्रमितहरू खुला घुमिरहेको भन्ने सुनिएको छ । संक्रमित आफै सचेत हुनुपर्छ’ उनले भने– हामीले सबैको घर–घरमा निगरानी राख्न सक्दैनौ । को कति खेर घरबाट बाहिर निस्कन्छ, त्यो पनि थाहा हुँदैन । परिवार र समुदायलाई सुरक्षित राख्ने हो भने संक्रमित आफैले सर्तकता अपनाउनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार