१२ बैशाख २०८१, बुधबार

स्थानीय तहहरूको गुनासो– कोरोना नियन्त्रणका लागि संघ र प्रदेश सरकारले सहयोग गरेनन्



धनगढी । ‘अहिले गोदावरी नगरपालिकाले आफ्नो स्रोतसाधनको प्रयोग गरि कोभिड–१९ महामारी रोकथाम तथा व्यवस्थापनमा लागिरहेको छ’ गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरबहादुर कुँवरले भने– हामीले अहिले आइसोलेसन स्थापनाका साथै स्वास्थ्यसम्बन्धी जनचेतनामुलक प्रचार–प्रसार लगायतका काम गरिरहेका छौं ।

कैलालीको गोदावरी नगरपालिकामा अहिलेसम्म एक हजार ९६ पुरुष र चार सय ४९ महिला गरि एक हजार पाँच सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अहिलेसम्म २० पुरुष र आठ महिला गरी २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । त्यस्तै, अहिलेसम्म छ सय ८१ पुरुष र दुई सय ६२ महिला गरी नौ सय ४३ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

गोदावरी नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरूलाई मालाखेती अस्पतालमा राखेर उपचार भइरहेको छ । सोमबार सो अस्पतालमा आठ जना उपचाररत रहेको जनाइएको छ । स्वास्थ्य शाखा प्रमुख कुँवरले भने– अस्पतालमा जटिल खालका विरामीहरू पनि रहेका छन् । उनीहरूलाई आवश्यक पर्ने अक्सिजनको अभाव भइरहेको छ । हामीले संघीय र प्रदेश सरकारसंग पटक–पटक संक्रमितको उपचारका लागि अक्सिजन, आइसियू र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्न अनुरोध गरेका छौं ।

उनले संघीय र प्रदेश सरकारले कुनै सुनुवाई नगर्दा कोरोना संक्रमणको नियन्त्रण तथा कोरोनाबाट मृत्यु हुनेको दरमा कमी ल्याउन नसकिएको बताए ।

उनले भने– स्रोतको कमी हुँदा आइसोलेसन र क्वारेन्टाइनलाई व्यवस्थापन गर्न सकेको छैनौं । यसले गर्दा संक्रमित थपिनुका साथै समुदायमा पनि संक्रमण फैलिदै गएको छ ।

कैलालीकै टीकापुर नगरपालिकामा अहिलेसम्म पिसिआर विधिबाट पाँच सय १८ र एन्टीजेन परिक्षणबाट दुई सय ४४ स्वाव परिक्षण गरिएकोमा एक सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टीकापुरमा अहिले ७४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण टीकापुर अस्पतालमा नगरपालिकाका १५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

टीकापुरस्थित टीकापुर अस्पतालमा रहेको उच्च उपचार कक्ष (एचडियु) मा हाल १२ जना रहेका छन्् । त्यस्तै, अब्जर्भेसन वार्डमा ११ जना र कोभिड जनरल वार्डमा नौ जनाको उपचार भैरहेको जनाइएको छ । टीकापुर अस्पतालमा उपचारमा रहेकाहरूमध्उे चार जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको बताइएको छ ।

टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले भने– नगरपालिकाले कोभिडको संक्रमण थप फैलिन नदिन स्वाब संकलन, सिटी हलमा आइसोलेसन स्थापना, शव व्यवस्थापनका लागि पिपिई सामग्री वितरण र शव वाहनको व्यवस्था गरेको छ ।

उनले अहिले अक्सिजन अभावका कारण मृत्यु दर बढेकोले जनस्तरबाटै सहयोग रकम संकलन भएको र सोही रकमबाट अक्सिजन कन्सन्टे«टर खरिद गर्ने काम भइरहेको बताए । उनले अक्सिजन सिलिण्डर र अक्सिजन प्लान्ट पनि जडान गर्ने कार्य अघि बढाएको बताए ।

स्वास्थ्य शाखा प्रमुख रावलले भने– संघिय सरकारलाई आर्थिक सहयोगका लागि पत्राचार गरेका छौं । उहाँहरूले आर्थिक सहयोग गर्छु भनेका छन््, तर अहिलेसम्म कत्ति पनि सहयोग आएको छैन । त्यस्तै, प्रदेश सरकारलाई एन्टीजेन किट, पिपिईका लागि आग्रह गरेका छौं, तर अहिलेसम्म प्रदेश सरकारबाट पनि कुनै सामग्री आएको छैन ।

उनले अहिले स्थानीय तहहरूले आफैले स्वास्थ्य सामग्री आदि खरिद गरेर काम गरिरहेको बताए । उनले प्रदेश सरकारले जिल्ला अस्पतालहरूलाई सहयोग गरेको भए पनि स्थानीय तहहरूलाई कुनै पनि सहयोग नगरेको बताए ।

अहिले पनि भारतबाट धमाधम सुदूरपश्चिमका नागरिकहरू प्रवेश गरिरहेका छन् । यसले गर्दा समुदायमै संक्रमण फैलिसकेको छ । उनले कोभिड संक्रमणलाई थप फैलन नदिन कोरोना संक्रमणको ‘चेन ब्रेक’ अनिवार्य रहेको बताए । उनले भने– चेन ब्रेक गर्नका लागि कन्टयाक्ट टे«सिङ गर्न सकिएको छैन । त्यस्तै, संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाव समेत परीक्षण गर्न सकिएको छैन ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा पनि दैनिक कोरोना संक्रमण दर बढ्दै गएको छ । उपमहानगरपालिकाले अहिलेसम्म साढे चार हजार बढी स्वाव संकलन गरेको जनाएको छ । धनगढी उपमहानगरपालिकाभित्र साढे पाँच हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उपमहानगरपालिकामा अहिले दुई हजार पाँच सय ६० सक्रिय संक्रमित रहेका छन् । उपमहानगरपालिकामा अहिलेसम्म कोरोनाबाट ६५ जनाको मृत्यु भइसकेको छ ।

धनगढी उपमहानगरपालिकामा संक्रमण दर बढ्दै गए पनि संघ र प्रदेश सरकारले नियन्त्रणका लागि स्थानीय तहलाई सहयोग नगर्दा समस्या भइरहेको स्थानीय जनप्रतिनिधिहरूको आरोप छ । ‘अहिले सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पताल संक्रमितहरूले भरिभराउ छ । अस्पतालको बाहिर पाल टाँगेर पनि संक्रमितको उपचार भइरहेको छ ।

तीन तहका सरकारले गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने भनेको थियो’ उपमहानगरपालिकाका अहेव लक्ष्मीराज उपाध्यायले भने– उपमहानगरपालिका र गोदावरी नगरपालिकाको संयूक्त पहलमा मेडिकल कलेजमा बेडहरू राखिएको छ । धनगढी उपमहानगरपालिकाले आवश्यक जनशक्तिको व्यवस्थापन गरि आइसोलेसनमा उपस्थित हुन भनेर पत्र पनि थमाइसकेको छ । तर, संघिय र प्रदेश सरकारले आइसोलेसनका लागि आवश्यक सामग्री, अक्सिजन, आइसियू, एचडियू, भेन्टिलेटर लगायतको व्यवस्थापन गर्न सकेको छैन ।

कोभिड संक्रमण फैलिन नदिन संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका व्यक्तिहरूलाई घरमै बस्न सुझाव दिइरहेको, विभिन्न सञ्चारमाध्यमबाट प्रचार–प्रसार गरिरहेको छ । उपमहानगरपालिकाले आफ्नै स्वाव संकलन केन्द्र स्थापना गरि स्वाव संकलन गरिरहेको छ भने अहिले अक्सिजन प्लान्टको व्यवस्थापन गर्न मेयर कोष स्थापना गरि विभिन्न व्यक्ति तथा संघ/संस्थाबाट सहयोग रकम संकलन गरिरहेको छ । उपमहानगरपालिकाले आइसोलेसनका लागि आवश्यक स्रोत साधन संघ र प्रदेश सरकारसंग माग गरेको भए पनि अहिलेसम्म सुनुवाई हुन नसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार