२३ बैशाख २०८१, आईतवार

संक्रमित श्रीमती निको भएपछि सुरतको मुहारमा फर्कियो खुसी, अस्पताललाई गरे आर्थिक सहयोग



अछाम । जिल्लाको साँफेबगर नगरपालिका २ की निता भुलको स्वास्थ्यमा वैशाख २५ गते एक्कासी समस्या आयो। टाउको दुखाईसँगै ज्वरोले उनलाई गलायो। स्वास्थ्य एक्कासी बिग्रिएपछि उनका श्रीमान सुरत भुलले साँफेबगर बजारमै रहेको मेडिकलबाट एकजना स्वास्थ्यकर्मीको सल्लाहमा औषधि गरे।

‘औषधिले केही समय काम त गरेको थियो। निताको ज्वरो पनि कम भयो,’ सुरत भन्छन् ‘तर श्रीमतीलाई श्वास फेर्न एकदमै गाह्रो भयो, उनी दुई पाइला समेत हिँड्न नसक्ने भइन्।’

श्रीमतीको अवस्था देखेपछि सुरतको मनमा चिसो पस्यो। उनलाई लाग्यो ‘यो कोरोना बाहेक अरु केही होइन्।’ उनले तत्काल श्रीमतीलाई बयालपाटा अस्पताल लगे।

उनमा देखिएका लक्षण कोरोनासंग मिल्दो जुल्दो थियो। अक्सिनको मात्रा पनि ८० भन्दा कम थियो। अस्पतालका मेडिकल अधिकृत डा विप्लव श्रेष्ठले पिसिआर परीक्षण गर्न भने। उनकै सुझाब अनुसार स्वाब दिने काम भयो।

सुरतको मनमा डर पस्दै गयो। श्रीमतीको स्वास्थ्य एक्कासी बिग्रँदै गएको देखेपछि उनी थप डराइरहेका थिए। उनी मनमनै सोचिरहेका थिए- ‘श्रीमतीलाई कोरोना नदेखियोस्।’

भन्छन्- ‘श्रीमतीलाई कोरोना नदेखियोस् भनेर मनमनै सोचिरहेको थिएँ। कोरोना संक्रमितले बेड नपाएको र अक्सिजन अभाव भएको कुरा आइरहेकाले मैले रिपोर्ट नेगेटिभ आइदियोस् भन्ने कामना गरेको थिएँ।’ 

तर, स्वाब दिएको भोलिपल्ट रिपोर्ट आयो- कोरोना पोजिटिभ उनको ओठतालु सुक्यो। भन्छन् -‘अक्सिजनको मात्रा ह्वात्तै घटेर संक्रमितको जीवन नै तलमाथी भएका समाचार धेरै सुनेको थिएँ। त्यही भएर म पनि निकै डराएँ।’ 

संक्रमण देखिएपछि अस्पतालले नितालाई आइसोलेसन वार्डमा राखेर उपचार प्रक्रिया अगाडि बढाइसकेको थियो। डा श्रेष्ठको प्रत्यक्ष निगरानीमा उनको उपचार सुरु भयो। 

अक्सिजनको कमी भएकाले उनलाई अक्सिजन चढाएर उपचार प्रक्रिया अगाडि बढाइएको थियो। 

बयालपाटा असपतालका मेडिकल निर्देशक डा मन्दीप पाठकका अनुसार उपचार प्रक्रिया अगाडि बढाएपछि क्रमिक रुपमा स्वास्थ्यमा सुधार हुँदै गएपनि शरीरमा अक्सिजनको मात्रा भने तलमाथि भइनै रहेको थियो। 

‘हामीले संक्रमितलाई नआत्तिन र सुधार हुँदै गइरहेको जानकारी दिँदै गयौँ,’ उनले भने, ‘नियमित उहाँसँगको कुराकानी र हाम्रो हेरचाहपछि क्रमश शरीरमा अक्सिजनको मात्रा बढ्दै गएको थियो।’

जति निताको शरीरमा अक्सिजनको मात्रा बढ्दै जान्थ्यो त्यति नै यता सुरतको मनको डर पनि कम हुँदै गइरहेको थियो। भन्छन् ‘अक्सिजन घटेको छ भन्दा मन खङ्ग्रङ्ग हुन्थ्यो। बढ्दै गयो भनेपछि आशा पलाउँदै जान्थ्यो।’

अस्पतालमा ८ दिनको उपचारपछि निता डिस्चार्ज भएकी छिन्। निता डिस्चार्ज भएपछि सुरतले खुसी हुँदै भने ‘सुरुमा त मैले अब श्रीमती निको भएर घर आउँछिन् भन्ने आश नै गरेको थिइन्। उनको अवस्था देखेपछि त म निकै आत्तिएको थिएँ। तर बयालपाटा अस्पताल मेरा लागि बरदान साबित भयो।’

श्रीमतीलाई संक्रमणले च्याप्दै लगेपछि उनले बाहिर लगेर उपचार गर्ने सोच पनि बनाएका थिए। तर देशभर कोरोनाको कहरले गर्दा तत्कालै उपचारका लागि बाहिर लैजान सक्ने अवस्था थिएन। उनि भन्छन् ‘बेड नपाएर कतिपयले ज्यान गुमाएका समाचारले आफूलाई ठुलो चिन्ताले पिरोलेको थियो।’ 

श्रीमतीको स्वास्थ्य अवस्था देखेर दुखी बनेका सुरत श्रीमती निको भएर घर फर्किएपछि दंग छन्। 

‘हामीलाई दोस्रो जीवन मिलेको छ, बयालपाटा अस्पताल हाम्रा लागी बरदान नै भएको छ। अस्पतालका स्वास्थ्यकर्मीको मेहनतले मेरो श्रीमतीले दोस्रो जीवन पाइन्’ उनले स्वास्थ्यखबरसंगको कुराकानीमा भने। 

श्रीमती निको भएको खुसीमा अस्पताललाई आर्थिक सहयोग
समाजसेवी सुरत भुलले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले आफ्नो श्रीमतीलाई दोस्रो जीवन दिएको भन्दै आइतबार घर फर्किने बेला अस्पताललाई ५१ हजार ५ सय ५५ रुपयाँ आर्थिक सहयोग गरेका छन्। बयालपाटा अस्पतालले बिरामीलाई निको बनाएर दोस्रो जीवन दिएर घर पठाउने गरेको भन्दै आफूले सहयोग गरेको उनले बताए।

यस्तो कोरोनाको कहरमा अस्पतालले नि:शुल्क रुपमा जनताको सेवा दिनुका साथै कोरोनाका बिरामीको पनि उपचार गरिरहेको भन्दै आफूले सहयोग गरेको भुलको भनाइ छ। 

स्वास्थ्यकर्मीको उपचार गर्ने साहस नै आत्मबल र हौसल्ला भएको सुरत भुलको भनाई छ। अस्पतालले दिइरहेको सेवा र स्वासथ्यकर्मीको कामको जति प्रशंसा गरे पनि कमै हुने बुझाई सुरतको छ। 

कोरोना संक्रमितलाई उपचारको अग्रमोर्चामा डा बिप्लव श्रेष्ठ 
बयालपाटा अस्पतालका मेडिकल अधिकृत डा विप्लव श्रेष्ठको टोलीले निता भुलसंगै वार्डमा रहेका सबै बिरामीको हरेक दिन खटेर उपचार गरिरहेका छन्। वार्डमा भर्ना भएका नितासंगै अन्य ४ जना अरु बिरामी पनि निको भएर घर फर्किएका छन्। ‘स्रोत साधनले भ्याएसम्म बिरामीको उपचार गरिरहेका छौँ,’ डा श्रेष्ठले भने, ‘अक्सिजन आवश्यक पर्ने बिरामीलाई नियमित अक्सिजन दिइरहेका छौँ भने जसको अक्सिजन लेभल राम्रो छ उनिहरुको नर्मल रुपमा उपचार भइरहेको छ।’ 

डा श्रेष्ठको नेतृत्वमा बयालपाटा अस्पतालले कोभिड रेस्पोन्स टिम बनाएको छ। डा श्रेष्ठको टिमले नै हाल कोरोना संक्रमितको उपचार गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार