१३ बैशाख २०८१, बिहीबार

यस्तो बेलामा सरकारलाई मात्र दोष दिएर कोरोना नियन्त्रण हुँदैन : स्वास्थ्य निर्देशक डा. अवस्थी



कोरोनाको दोस्रो लहरपछि सुदूरपश्चिममा तिव्ररुपमा सङ्क्रमण फैलिरहेको छ । कोरोना नियन्त्रणका लागि के कस्ता प्रयासहरु भइरहेका छन् ? भन्ने विषयमा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीसँग बैतडीमा कार्यरत पत्रकार गोकर्ण दयालले गरेको कुराकानी ।

समुदायस्तरमा कोरोना सङ्क्रमण तिव्ररुपमा फैलिरहेको छ । नियन्त्रणका लागि के कस्ता प्रयासहरु भईरहेका छन् ?
कोरोनाको चेन ब्रेक गर्न अहिले जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेका छन् । स्वास्थ्यकर्मीहरु ज्यानको बाजी लगाएर कोरोना सङ्क्रमितको उपचारमा खटिएका छन् ।
भारतसँग जोडिएको हुनाले सुदूरपीश्चम जोखिममा रहेको छ । भारतमा काम गर्ने अप्रवासी कामदार आउने क्रम जारी छ । उहाँहरुको सीमा नाकामै एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
आम नागरिकले पनि कोरोनाको चेन तोड्न स्वास्थ्य मापदण्ड र बन्दाबन्दीको पालना गर्न जरुरी छ । कोरोना भाइरसले अहिले संसार आक्रान्त बनेको छ । विश्वका आठ अर्ब मानिस प्रभावित छन् । यस्तो बेलामा सरकारलाई मात्र दोष दिएर कोरोना नियन्त्रण हुँदैन । प्रत्येक नेपालीले ‘म र मेरो परिवार सुरक्षित बस्न स्वास्थ्य मापदण्ड पालना गर्नु पर्छ’ भन्ने कुरामा ध्यान दिन जरुरी छ ।

सुदूरपश्चिममा कोरोना सङ्क्रमणको अवस्था कस्तो छ ?
कोरोनाको दोस्रो लहरपछि जेठ १ गतेसम्म सुदूरपश्चिममा आरटी पीसीआरबाट एक लाख ६५ हजार र एन्टीजेन विधिबाट ३४ हजार २७२ जना गरेर एक लाख ९९ हजार २७२ जनाको परीक्षण भएको छ । आजको मितिसम्म २९ हजार २०८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने ३३३ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या एक लाख ६५ हजार ५२९ रहेको छ ।

सुदूरपश्चिमका नौ जिल्ला मध्ये उच्च जोखिममा रहेका वा सङ्क्रमणको दर बढी भएका कुन–कुन जिल्ला छन् ?
अहिलेसम्म कैलालीमा सबै भन्दाबढी सङ्क्रमित भेटिएका छन् । त्यसपछि कञ्चनपुर र पहाडी जिल्लामा बैतडी तेस्रो नम्बरमा रहेको छ । यी जिल्ला भारतसँग खुला सीमा नाका भएका जिल्ला हुनाले यहाँ सङ्क्रमणको दर उच्च रहेको छ । भारतबाट आउने र समुदायका अधिकांश मानिसले पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना नगर्ने समस्या देखिएको छ ।

अस्पतालहरुमा अक्सिजनको अभाव भएको चौतर्फी गुनासो आईरहेको छ । आपूर्तिको अवस्था के केस्तो रहेको छ ?
सुदूरपश्चिममा दैनिक एक हजार नौ सय अक्सिजन सिलिण्डर आवश्यक परेको छ । हामीसँग मौजदात जम्मा पाँचसय मात्र सिलिण्डर छन् । जति सक्दो चाँडो अक्सिजन उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरिरहेका छौं । सङ्घीय सरकारले अहिले विभिन्न मुलुकबाट अक्सिन ल्याउन पनि सुरु गरिसकेकोले आशावादी बनेको छौं ।

तीन तहका सरकारले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई के कस्तो सहयोग गरिरहेका छन् ?
संसारमा कोरोना महामारी फैलिएको १९ महिना भईसकेको छ । नेपालमा पनि कोरोना आएको एक वर्षभन्दा बढी भइसकेको छ । महामारीसँग लड्न प्रयाप्त तयारी पुगेन कि भन्ने हो । अब, स्थानीय सरकारले बर्थिङ सेन्टर बनाएर मात्र पुग्दैन । यस्तो कोरोना कहरका बेला सुत्केरीलाई दुई मिटर टाढाबाट सुत्केरी गराउन सकिदैन । नजिकै जान स्वास्थ्यकर्मीलाई पीपीई सेट लगायतको व्यवस्था पनि गर्नु पर्ने देखिन्छ । समग्रममा अब स्वास्थ्य क्षेत्रमा राज्यले प्रयाप्त लगानी गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार