२३ बैशाख २०८१, आईतवार

कोभिड–१९ विरुद्धको खोपः लक्षित समूहमा परेनन् सर्वसाधारण



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ मंगलपुरका पवन बुढा दुबईबाट फर्किएको पाँच महिनापछि कोरोना भाइरसबाट संक्रमित भए । अहिले उनी रिकभर हुँदै गएका छन् । उनको परिवारमा रहेका छ जनामध्ये उनका भाइले मात्रै कोरोना विरुद्धको खोप पाए । उनका भाई सरकारी कर्मचारी हुन् । पवनले भने– आमा, बुबा, श्रीमती, छोरी र मैले कोरोना विरुद्धको खोप पाएनौं ।

गौरीगंगा नगरपालिकाकै वडा नम्बर ४ की वडा सदस्य अमृता विकले कोभिड खोपको दुबै डोज लगाए पनि संक्रमित भइन् । उनकी सासुले जेष्ठ नागरिक भएकोले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउन पाइन् । उनले दोस्रो डोज कहिले पाउने ? भन्ने टुंगो छैन । उनको परिवारका अन्य सदस्यहरूले खोपको पहिलो डोज पनि पाएका छैनन् । वडा सदस्य अमृता बस्ने कालिका टोलमा अहिले सात जना कोरोना संक्रमित छन् । ‘छिमेकमा वल्लोपल्लो घरमा कोरोना संक्रमित छन्’ वडा सदस्य अमृताले भनिन्– हाम्रो टोलबाट रोजगारीका लागि भारत र अन्य मुलुकमा जाने गरेका मानिस् छन् । उनीहरू कोही पनि फर्किएका छैनन् । हामीलाई गाउँघरमै संक्रमण भएको हो ।

गोदावरी नगरपालिका वडा नम्बर वडा नम्बर ११ को शिवगौरी टोलका पदम गिरीको परिवारका सदस्य भारतमा रोजगारी गर्ने र उतै बस्ने गरेकाले उनले नेपाल भारत ओहोरदोहोर गरिरहन्छन् । उनका परिवारका चारै जनाले कोरोनाको खोप पाएका छैनन् । उनको परिवारमाउनी, श्रीमती, एक छोरा र एक छोरी छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ का गणेश विकको परिवारका सदस्य पनि रोजगारीका लागि भारत ओहोरदोहोर गरिरहन्छन् । उनका परिवारमा रहेका पाँचै जना सदस्यले पनि अहिलेसम्म कोरोना विरुद्धको खोप पाएका छैनन् ।

गोदावरी नगरपालिका वडा नम्बर १२ शारदाबस्तीका बिष्णु विकका दुई दाजु र एक भाई रोजगारीका लागि भारत आउनेजाने गरेका छन् । उनको भाई परिवार सहित रोजगारीका लागि भारतमा छन् । कोरोना महामारी फैलिएपछि उनका दुवै दाई र भाई गत वर्ष घर फर्किए । .लकडाउन केही खुकुलो भएपछि केही महिनापछि उनीहरू पुनः भारत गए । भारतमा कोरोनाको दोस्रो लहर चर्किएपछि उनका दुवै दाजुहरू घर फर्किए । भारतबाट फर्किने क्रममा उनका माइला दाई कोरोना संक्रमित भइसकेका थिए । दाई कोरोना संक्रमित भएर फर्किएपछि उनको परिवारमा अरुलाई समेत संक्रमण हुने त्रास बढ्यो । बिष्णुको १४ जनाको परिवार छ, तर उनकी आमा बाहेकले अरुले कोरोना विरुद्धको खोप पाएका छैनन् । ‘आमाले पहिलो डोज लगाउन पाउनु भयो’ उनले भने– दोस्रो डोज अझै लगाउन पाउनु भएको छैन ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ बेलारकी सुनिता चौधरी र उनका श्रीमान् डकर्मी हुन् । उनीहरूले दैनिक ज्याला मजदुरी गरेर पाँच जनाको परिवारको गुजारा गरिरहेका छन् । उनीहरूको परिवारमा सासु र छोराछोरी छन् । सुनिताकी सासुको उमेर ६५ वर्ष पुगिकसकेकोले उनले कोरोना विरुद्धको पहिलो खोप लगाउन पाइन् । ‘बाँकी कसैले पनि खोप लगाउन पाएका छैनौं’ सुनिताले भनिन्– सासुले पनि दोस्रो डोज लगाउन पाउनु भएको छैन ।

उनीहरू जस्तै सुदूरपश्चिम प्रदेशका सर्वसाधारण, मजदुर, रोजगारका लागि भारत र अन्यदेशमा रहेका वा घर फर्केका व्यक्तिका परिवारका सदस्यहरू, बालबालिकाले कोरोना विरुद्धको खोप लगाउन पाएका छैनन् ।

२०६८ सालको जनगणना अनुसार २५ लाख ५२ हजार पाँच सय १७ जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा ३८ हजार दुई सय ७२ जना अर्थात् एक दशमलव ५० प्रतिशतले पहिलो डोज खोप लगाउन पाएका छन् । ती मध्ये ३० हजार सात सय ६८ जना (एक दशमलव २१ प्रतिशत) ले दोस्रो डोज लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोनाको खोप पाउनेमा चिकित्सकसहित स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रका अन्य कर्मचारी तथा प्राविधिक, अस्पताल तथा सरकार कार्यालयका सरसफाई मजदुर, एम्बुलेन्स चालक, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, गृह प्रशासनका जेष्ठ उमेरका कर्मचारी, खोप लगाउन परिचालित स्वयंसेवक, स्थानीय तहका जनप्रतिनिधि, निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राविधिक तथा सम्बन्धनप्राप्त संस्थामा कार्यरत कर्मचारी, न्याय सेवा समूहका कर्मचारी र पत्रकार÷सञ्चारकर्मीहरूले कोरोना विरुद्धको खोप लगाउन पाएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले यी बाहेकका कोरोना संक्रमणको उच्च जोखिममा रहेका जोखिममा रहेका सर्वसाधारणहरू उनीहरूले सरकारको खोप पाउने लक्षित समूहमा पर्न नसकेको बताए । उनले केही स्थानीय तहहरूमा ६५ वर्ष माथिका जेष्ठ नागरिकका लागि खोप कार्यक्रम सञ्चालन गरिएको भए पनि सबै जेष्ठ नागरिकहरूले खोप पाउन नसकेको बताए ।

‘सरकारले प्राथमिकता निर्धारण गरेको समूहलाई नै कोरोना विरुद्धको पहिलो र दोस्रो डोज लगाउने काम भएको छ,’ स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले भने– सरकारको प्राथमिकतामा नपरेका समूहले खोप पाएका छैनन् । थप खोप कहिले आउँछ भन्ने पनि टुंगो छैन ।

प्रदेश स्वास्थ्य निर्देशनालयका कोरोना विरुद्धको खोप अभियानका फोकलपर्सन हेमराज जोशीले अब आउने कोरोनाको खोप पहिलो डोज लगाइसकेका ६५ वर्ष माथिको उमेरका जेष्ठ नागरिकलाई खोप दिइने बताए । उनले बाँकी खोप सरकारले कसलाई लगाउने ? भन्ने सरकारको निर्णयमा भरपर्ने बताए ।

स्वास्थ्य र सुरक्षा क्षेत्रमा कार्यरत व्यक्तिपछि कोरोना संक्रमणको सबैभन्दा बढि जोखिमा रहेका समुह भनेको भारतमा रोजगारी गरिरहेका व्यक्ति तथा उनका परिवार हुन् । तर उनीहरूलाई खोप लगाउनका लागि कुनै पनि तहका सरकारहरूले पहल गरेका छैनन् । स्वास्थ्यकर्मीहरूले कोरोना विरुद्धको खोप उपलब्ध भएमा जुनसुकै तहका सरकार, निजी क्षेत्र वा व्यक्तिले खरिद गरी लगाउन सक्ने बताउँछन् । तर, संघीय सरकारले खोप खरिद गर्न नसकेको अवस्थामा प्रदेश सरकाले पनि खोप खरिद गर्ने कुनै तयारी गरेको छैन ।

यसैबीच, सुदूरपश्चिम प्रदेशका नागरिक संस्था तथा नागरिक समाजहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै नागरिकका लागि अविलम्ब खोप व्यवस्था गर्न माग गरेका छन् ।

प्रदेशमा कोरोना संक्रमण फैलिएदेखि बैशाख ३१ गते शुक्रबारसम्म तीन सय १७ जनाको मृत्यु भइसकेको छ ।

२०७८ बैशाख महिनाको कोभिड संक्रमणको अवस्था

सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीको दोस्रो लहरमा पहिलो लहरको तुलनामा मृत्युको संख्या निकै अधिक रहेको छ । यस वर्ष बैशाख महिनामा मात्रै कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा दुई सय ५९ जनाको मृत्यु भइसकेको छ । प्रदेशमा कोरोनाको पहिलो लहरमा गत वर्ष २०७७ बैशाखदेखि चैत ३० गतेसम्म ५८ जनासंक्रमितको मृत्यु भएको थियो ।

२०७७ सालमा कोभिड संक्रमणको अवस्था

पत्रकार लक्की चौधरीले कोरोना विरुद्धको दुबै डोज खोप लगाउँदा पनि आफू संक्रमित भएको फेसबुकमै लेखेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ४ की वडासदस्य अमृता विकले पनि दुबै डोज खोप लगाउँदा पनि आफू संक्रमित भएको बताइन् । गौरीगंगा नगरपालिका वडा नम्बर १ मंगलपुरका पवन बुढाले आफ्नो भाइले पहिलो डोज लगाइसकेपछि संक्रमित भएको बताए ।

खोपको विश्वसनीयता कति ?

प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत तथा कोरोना विरुद्धको खोप अभियानका फोकल पर्सन हेमराज जोशीले भारतमा उत्पादित ‘कोभिड सिल्ड’ खोप लगाउनेलाई कोरोना संक्रमणबाट ७० प्रतिशत बचाउन सकिने ग्यारेन्टी रहेको बताए । उनले खोप लगाएका भएपनि बाँकी ३० प्रतिशत कोरोना संक्रमण हुने सम्भावना रहने बताए । उनले खोप लगाएकालाई कोरोना संक्रमण भए पनि कडा खालको संक्रमण नभएको बताए ।

भेक्टर कन्ट्रोल अधिकृत तथा कोरोना विरुद्धको खोप अभियानका फोकल पर्सन जोशीका अनुसार कोरोनाको पहिलो वा दोस्रो डोज खोप लगाउने व्यक्तिमध्ये कति संक्रमित भए ? भन्ने तथ्यांक राख्ने गरिएको छैन । ‘खोप लगाउने मध्ये कति संक्रमित भए ? भन्ने तथ्यांक राख्ने गरिएको छैन । त्यसैले पहिलो वा दोस्रो डोज लगाएका कति जना संक्रमित भएका छन् भन्न सकिदैन । उनले भने– यो हाम्रो रिपोर्टिङको विषय पनि भएन । अवका दिनमा कसैले यो विषयमा रिसर्च ग¥यो भने तथ्यांक फेला पर्न सक्छ । खोप लगाएका संक्रमितको मृत्यु भयो वा भएन भन्ने तथ्यांक पनि हामीसंग छैन ।

कोरोना संक्रमितहरूको उपचारमा खटिएका सेती प्रादेशिक अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डाक्टर निराजनदत्त पौडेल शर्माले भारतीय उत्पादन कोभिडसिल्ड खोप लगाएका व्यक्तिहरू पनि अस्पतालमा भर्ना भएको बताए । उनले तुलनात्मक रुपमा खोप लगाएका व्यक्तिहरू संक्रमित भए पनि छिटो निको हुने बताए ।

‘कोभिडसिल्डको एक डोज मात्रै अथवा दुबै डोज लगाएका संक्रमितहरू पनि अस्पतालमा भर्ना भएका छन्,’ डाक्टर शर्माले भने– तर, खोप नलगाएका संक्रमितहरू भन्दा उनीहरूको समस्या कम छ । अहिले धेरै जस्तो विरामीहरू पिसिआर गर्दा नेगेटिभ आउने, तर एक्सरेमा फोक्सोको दुबै भाग सुन्निएको देखिने र कडा खालका निमोनिया भएका संक्रमितहरू आइरहेका छन् । यस्ता खालका संक्रमितहरूको एन्टिजेन परीक्षण भने पोजेभिट देखिने गरेको छ । यस्तो लक्षण भएका केही जना खोप लगाएका संक्रमित पनि आएका छन् । हामीले उपचारको क्रममा खोप लगाएको वा नलगाएको सोध्ने गरे पनि तर खोप लगाएका कति जना अस्पतालमा भर्ना भए भन्ने विवरण राख्ने व्यवस्था गरेका छैनौं । यो काम जनस्वास्थ्य कार्यालयले गर्नु पर्ने हो । हाम्रो बुझाईमा अहिलेसम्म खोप लगाएका अधिकांस संक्रमितहरू रिकभर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार