२० बैशाख २०८१, बिहीबार

अस्पतालहरूमा अक्सिजन अभाव: सरकार बल्ल जाग्यो



धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोनाको नयाँ भेरियन्टको संक्रमणसंगै सोमबारसम्म ३९ जनाको मृत्यु भएको छ । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण शरिरमा अक्सिजन कम भएर एक साताको अवधिमा मात्रै ३५ जना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनलायको रेकर्ड अनुसार सोमबार सबैभन्दा बढी ११ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाको नयाँ भेरियन्टको डरलाग्दो संक्रमणबाट बैशाख १९ गते आठ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, बैशाख १८ गते चार जना, १७ गते चार जना, १६ गते छ जना तथा बैशाख १५ र १४ गते एक÷एक जना संक्रमितको मृत्यु भएको थियो । यी सबैको मृत्युको एउटा प्रमुख कारण थियो–शरीरमा अक्सिजनको कमी ।

एक महिनादेखि सुदूरपश्चिम प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट फैलिएको थियो । त्यसअघि कोरोनाका कारण चार जनाको मृत्यु भएको थियो ।
तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित र मृत्यु हुने दर उच्च छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बैशाख २० गतेसम्म प्रदेशका विभिन्न जिल्लामा गरी तीन हजार दुई जनामा कोरोनाको नयाँ भेरियन्टको संक्रमण देखिएको छ । संक्रमितमध्ये प्रायः सबैमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको छ । चिकित्सकहरूका अनुसार संक्रमितमध्ये अधिकांश बिरामीमा निमोनियाको समस्या देखिएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर निराजन दत्त शर्माले श्वासप्रश्वास र निमोनियाको समस्या भएका बिरामीलाई अक्सिजनको बढि आवश्यकता पर्ने बताए । उनले संक्रमितहरूलाई माइलेस, मोडरेट र सिरियस गरी तीन समूहमा विभाजन गरी उपचार गर्ने गरिएको बताए ।

डाक्टर शर्माका अनुसार कोरोनाका माइलेस संक्रमितलाई होम आइसोलेशनमा राखेर उपचार गरिदैछ भने मोडरेट समुहका संक्रमितलाई अस्पतालको आइसोलेशन र सिरियस संक्रमितलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

उनले भने– अस्पतालको आइसोलेशन, आइसियु र भेन्टिलेटरमा रहेका संक्रमितहरूलाई अक्सिजनको बढी आवश्यकता रहेको हुन्छ ।

उनले प्रेसरले अक्सिजन दिनुपर्ने संक्रमितलाई सिलिन्डरको अक्सिजनले समेत नभ्याउने बताए । ‘तत्कालका लागि सिलिन्डरको अक्सिजनले काम चलाइएको भए पनि दीर्घ रुपमा उपचारका लागि ठूला अस्पतालमा अक्सिजन प्लान्ट नै आवश्यक पर्छ’ डाक्टर शर्माले भने– प्रेसरले दिने अक्सिजन सिलिन्डरले मात्रै पुग्दैन । ठूलो प्रेसर दिन सक्ने मेसिन नै चाहिन्छ ।

कोरोना संक्रमितहरू अक्सिजन नपाएर मृत्यु भइरहेको बेला सुदूरपश्चिम प्रदेश सरकारको अक्सिजन प्लान्ट जडान गर्ने योजनाको सुरसार पनि भएको छैन । सुदूरपश्चिम प्रदेश सरकारको हालै बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशका सबै जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्ने बजेटको व्यवस्थापन गरेको छ, तर अहिलेसम्म सम्बन्धित अस्पतालहरूमा अख्तियारी पुगेको छैन ।

अछाम जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने प्रदेश सरकारको योजना नै पुगेको छैन । अछाम जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर अतुल भारद्वाजले अस्पतालबाट अक्सिजन प्लान्ट जडान गर्न सहमति माग गरी प्रदेश सरकारलाई पठाइसकेको बताए । डाक्टर भारद्वाजले प्रदेश सरकारको सहमति आएपछि खरिद प्रक्रिया बढाइने बताए ।

अहिले अछाम अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

डोटी जिल्ला अस्पतालका मेडिकल अफिसर डाक्टर प्रकाश ठकुल्लाले अहिले अक्सिजन प्लान्ट खरिद गर्ने प्रक्रिया बुझ्ने काम भइरहेको बताए । उनले कोरोना महामारीलाई ध्यानमा राखेर छिट्टै खरिद प्रक्रिया अगाडि बढाइने बताए । उनले भने– अधिंकाश संक्रमितको अवस्था अक्सिजन दिनपर्ने खालको भए पनि अक्सिजनको अभावमा उनीहरूको उपचारमा समस्या भइरहेको छ ।

डोटी जिल्ला अस्पतालमा हाल १९ जना कोराना संक्रमितहरूको उपचार भइरहेको छ । मेडिकल अफिसर डाक्टर ठकुल्लाले अक्सिजन सिलिन्डर सहजै नपाउँदा उपचारमा समस्या भइरहेको बताए ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले पनि अक्सिजन प्लान्ट थप गर्नका लागि पहिले नै बजेट माग गरेको भए पनि हाल मात्रै प्रदेश सरकारबाट अनुमति पाएको छ । सेती प्रादेशिक अस्पतालमा तत्कालै अक्सिजन प्लान्ट आवश्यक भइसकेको भए पनि खरिद प्रक्रियामा जाँदा ढिलो हुने चिकित्सकहरू नै बताउँछन् ।

स्वासप्रस्वासको अत्यधिक समस्या भएका कोरोना संक्रमितहरू अक्सिजनको अभावमा अस्पतालमा छटपटाई रहेका छन् । अहिलेसम्म प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २६ पुगिसकेको छ ।

प्रदेशका प्रायः सबै जिल्ला अस्पतालहरूले निकै पहिले नै अक्सिजन प्लान्ट माग गरेको भए पनि ढिलो गरी निर्णय गरेको प्रदेश सरकारले कोरोनाको दोस्रो लहरले प्रदेशमा संक्रमितको ज्यान लिन थाले पनि अक्सिजन व्यवस्थापन गर्न सकेको देखिदैन ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले पहिले जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन नियमित उपचारमा नै खपत हुने गरेको र धनगढीस्थित अस्थायी कोभिड अस्पताललाई पनि सोही प्लान्टबाट अक्सिजन दिनुपर्ने बाध्यता रहेकोले अहिले अक्सिजनको कमी भइरहेको बताए ।

मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पाण्डेले प्रदेश सरकारबाट भरखरै मात्र अक्सिजन प्लान्ट जडान गर्ने स्वीकृति पाएको हुनाले खरिद प्रक्रियामा जान केही समय लाग्ने बताए । ‘हामी प्रक्रिया मिलाई रहेका छौ’ मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पाण्डेले भने– जति छोटो प्रक्रिया अपनाए पनि समय त लाग्छ नै । हामीले सार्वजनिक खरिद प्रक्रियामै रहेर टेण्डर गर्नपर्ने हुन्छ ।

उनले तत्कालै अक्सिजनको आवश्यक पर्ने संक्रमितहरूलाई अस्पतालकै प्लान्ट र निजी क्षेत्रबाट खरिद गरी आपूर्ति गरिरहेको बताए । तर, बजारमा हाल अक्सिजनको अभाव सिर्जना गरिएकाले पर्याप्त मात्रामा अक्सिजन सिलिण्डरहरू कोरोना अस्पतालसंग छैन । सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट भए पनि कोरोना अस्थायी अस्पताल छुट्टै रहेकाले अस्पतालमै उत्पादन भएको अक्सिजन सिलिन्डरमा भरेर संक्रमितलाई दिनुपर्ने अवस्था रहेको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पाण्डेले बताए ।

स्वास्थ्यकर्मीहरू अस्पतालमा भेन्टिलेटर र आइसियुको संख्या सीमित भएकाले अक्सिजन मात्रै दिएर पनि बचाउन सकिने विरामीलाई अक्सिजन सिलिण्डर समयमा उपलब्ध हुन नसक्दा जोगाउन कठिनाई भइरहेको बताउँछन् ।

टीकापुर नगरपालिकाका एक ४६ वर्षीय पुरषलाई श्वासप्रश्वासमा समस्या भएपछि थप अक्सिजन नपाएर उनको बैशाख १५ गते मृत्यु भएको थियो । त्यस्तै, घोडाघोडी नगरपालिकाका २८ वर्षीय कोरोना संक्रमित एक युवाको अक्सिजनकै अभावमा बैशाख १६ गते सेती प्रादेशिक अस्पतालमा ज्यान गएको थियो ।

प्रदेशमा आइसियु र भेन्टिलेटर अपुग भएको बेला अक्सिजन दिएर पनि संक्रमितको ज्यान जोगाउन सकिने उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।

६० सैयाको धनगढीस्थित कोरोना उपचार सम्बन्धी अस्थायी अस्पताल सञ्चालन गरेको सेती प्रादेशिक अस्पतालमा हाल क्षमताभन्दा बढी बिरामी उपचारमा छन् । ती मध्ये धेरैजसो बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल, महेन्द्रनगरस्थित महाकाली अस्पताल, डडेलधुरा अस्पताल र अछामको बयालपाटा अस्पतालमा एक÷एक र धनगढीमा एउटा निजी क्षेत्रको गरी जम्मा पाँच वटा अक्सिजन प्लान्ट रहेका छन् । ती प्लान्टबाट हाल दैनिक दुई सय ३५ सिलिन्डर अक्सिजन उत्पादन हुने गरेको भए पनि बिरामीको चाप बढेकोले अपुग भइरहेको चिकित्सकहरू बताउँछन् ।

दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन क्षमताको सेती प्रादेशिक अस्पतालको प्लान्टबाट विद्युतको कम भोल्टेजका कारण हाल दैनिक ५० सिलिन्डर मात्रै उत्पादन भइरहेको बताइएको छ ।

त्यस्तै महाकाली अस्पतालको प्लान्टबाट दैनिक चार/पाँच सिलिन्डर अक्सिजन मात्रै उत्पादन हुने गरेको छ । अस्पतालमा हाल दैनिक १५ देखि २० सिलिन्डर खपत भइरहेको छ ।

त्यस्तै, डडेलधुरा अस्पतालको प्लान्टबाट दैनिक २७ सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ । अछामको बयालपाटा अस्पतालको प्लान्टबाट दैनिक एक सय ५० सय लिटर अक्सिजन उत्पादन हुने गरेको बताइन्छ ।

धनगढीको बडिमालिका अक्सिजन ग्यास उद्योगले दैनिक एक सय ५० सिलिन्डर उत्पादन गरिरहेको छ । त्यहाँबाट सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा अक्सिजन आपुर्ति हुने गरेको छ । बडिमालिका अक्सिजन ग्यास उद्योगका सञ्चालक नरेश शाहले उत्पादनभन्दा माग तेब्बर अधिक रहेको बताए ।

यी बाहेक अक्सिजन ग्यास विक्रेताहरूले नेपालगञ्ज लगायतका ठाउँबाट आपूर्ति गर्ने गरेका छन् । सामान्य समयमा अक्सिजनको मात्रा माग अनुसार पुग्ने भए पनि कोभिडका विरामी थपिन थालेदेखि अक्सिजन अपुग भइरहेको बताइन्छ ।

डाक्टर शर्माले भने– नियमित उपचारका लागि यसअघि अक्सिजनको आपूर्ति ठिकै थियो, तर कडा खालको श्वासप्रश्वास र निमोनिया सहितका कोभिड संक्रमित आउन थालेपछि अक्सिजनको कमी भएको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मन्त्रीपरिषद्ले निर्णय गरी प्रत्येक जिल्ला अस्पतालहरूलाई अक्सिजन प्लान्ट जडान गर्न ८० लाख रुपैयाँका दरले विनियोजन गरेको बताए ।

मन्त्री सुवेदीले कोराना महामारीलाई दृष्टिगत गर्दै द्रुत मार्गबाट अक्सिजन प्लान्ट खरिद गरी जडान गर्न अस्पतालहरूलाई निर्देशन गरिएको बताए । उनले सेती प्रादेशिक अस्पताललाई समेत अक्सिजन प्लान्ट थप गर्न पत्राचार गरिएको बताए ।

सामाजिक विकास मन्त्रालयका अनुसार अक्सिजन प्लान्ट खरिद गर्न प्रदेशका ६ वटा पहाडी जिल्ला अस्पताल (डडेल्धुरा बाहेक) लाई ८० लाख रुपैयाँका दरले रकम दिने निर्णय भएको छ । त्यस्तै अक्सिजन कन्सेन्टेटर र सिलिन्डर खरिद गर्न सेती प्रादेशिक अस्पताललाई ४० लाख रुपैयाँ र महाकाली तथा टीकापुर अस्पताललाई ३० लाख रुपैयाँका दरले र अन्य छ वटा अस्पतालहरूलाई २० लाख रुपैयाँका दरले रकम निकास दिने निर्णय भएको छ ।

मन्त्री सुवेदीले अक्सिजन प्लान्ट राख्ने योजना प्रदेश सरकारको प्राथमिकतामा रहेकोे बताए । उनले अक्सिजन प्लान्ट संगै एमआरआई उपकरण पनि प्रदेशमा आवश्यक भएकाले सरकारले सो योजनालाई पनि संगसंगै अगाडि सारेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार