८ कार्तिक २०८१, बिहीबार

टीकापुरमा संक्रमितको संख्या ६४ पुग्यो, ७ जनाको मृत्यु



टीकापुर । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि संक्रमणको दर समेत बढेको छ । कैलालीको टीकापुरमा संक्रीय संक्रमितको संख्या ६४ पुगेको छ । टीकापुरमा ४९ जना पिसिआर परीक्षण गरेका संक्रमित र १५ जना एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएकाहरु होम आइसोलेसनमा बसिरहेका छन् ।

कोरोनाको लक्षण देखिएका ५ जना टीकापुर अस्पतालको अक्सीजन वार्डमा भर्ना भएका छन् । टीकापुरमा कोरोनाको लक्षण देखिएका ८७ जनाको पिसिआर परीक्षणको नतिजा आउन बाँकी छ । टीकापुर अस्पतालमा दैनिक २० जनाको श्वाव संकलन हुने गरेको छ । यसरी संकलन भएका स्वाव परीक्षणका लागि भेरी अस्पताल पठाउने व्यवस्था मिलाइएको छ । बाँकी नगरपालिकाले परीक्षण गरेका स्वाव परीक्षणका लागि सेती अस्पताल धनगढी पठाउने गरिएको छ ।

कोरोना परीक्षण गर्नेमा पनि कोहलपुर लगायतका ठाउँमा गर्नेको तथ्यांक नगरपालिकामा प्राप्त हुने गरेको छैन । यसले संक्रमितको संख्या सयौँ रहेको अनुमान गर्न सकिने टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले बताए । ‘लक्षण देखिएका सयौँ नागरिक घरमै थन्किएका छन् । जसलाई श्वासप्रश्वासमा समस्या भयो उनीहरु मात्र उपचारमा आउने गरेका छन्’, संयोजक रावलले भने, ‘घरघरमा बिरामी रहेका छन् । जटिलता भएकाहरुलाई उपचारमा ल्याउने, बाहिर रेफर गर्ने काम भएको छ ।’

टीकापुरमा कोरोनाका दोस्रो भेरियन्टकै कारण बिहीबारसम्म ७ जनाको मृत्यु भएको छ । बिहीबार मात्र ३ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट टीकापुर नगरपालिका वडा नं. १ का ७४ वर्षीय, ७० वर्षीय, र ७१ वर्षीय पुरुषको ज्यान गएको छ भने ५० वर्षीय एक महिलाको समेत ज्यान गएको छ ।

त्यस्तै कोरोनाबाट ज्यान जानेमा वडा नंं. ७ का ४६ वर्षका एक पुरुष र वडा नं. ८ का ५५ वर्षीय पुरुष रहेका छन् । एक जनाको उमेर खुलेको छैन । वडा नं. ७ का पुरुष भने मृत्यु हुनुभन्दा तीन दिनअघि नै कोरोना मुक्त भएका थिए ।

यसले मृत्युदर पनि डरलाग्दो रुपमा बढेको रावलको भनाइ छ । नगरपालिकाले हरेक साताको सोमबार र बुधबार दुई दिन स्वाव संकलन गर्ने गरेको छ ।

कैलालीको जानकी गाउँपालिकामा ६ जना संक्रीय संक्रमित छन् । उनीहरु होम आइसोलेसनमै बसिरहेका छन् । जानकी गाउँपालिकाले जानकीको भोक्सीमा रहेको मम सेण्टरमा २० शैयाको आइसोलेसन वार्ड तयारी गरेको स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले जानकारी दिए ।

कैलालीको टीकापुर अस्पतालमा बिहीबारबाट अक्सीजन सिलिण्डर सहितको १५ शैयाको वार्ड सञ्चालनमा आएको छ । यहाँ भेण्टिलेर जडान, जनशक्तिलाई भेण्टिलेटर सञ्चालनसम्बन्धी तालिम दिने लगायतका पक्रिया समेत अघि बढाइएको डाक्टर रमेश उपाध्यायले बताए । ‘यहाँ आउने अधिकांश विरामीमा कोरोना लक्षण देखिएको छ । लक्षण देखिएका कम समस्या भएकालाई घरमै पठाएका छौँ, जटिल समस्या भएका ५ जना भर्ना भएका छन्’, डाक्टर उपाध्यायले भने, ‘नागरिक सुरक्षित नभए यहाँ पनि नेपालगञ्जकै स्थिति आउन सक्छ । अब घरमै सुरक्षित बसेर फैलने दर रोकौँ ।’

टीकापुरमा संक्रमित बढ्दै गएपछि नगरपालिकाले सिटी हलमा ३८ शैयाको अक्सीजन सहितको वार्ड सञ्चालनको तयारी थालेको छ । २० सिलिण्डर अक्सीजन खरिद गरेर समस्या भएका अस्पतालमा नअटेका विरामी सिटी हलमा राख्ने तयारी गरिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार