१३ बैशाख २०८१, बिहीबार

क्षयरोगका नयाँ बिरामीको पहिचान दरमा कमी



धनगढी । कैलालीमा क्षयरोगका नयाँ विरामीको पहिचान दरमा कमी आउँदै गएको छ । स्वास्थ्य कार्यालय कैलालीले उपलब्ध गराएको चार वर्षको तथ्यांक अनुसार नयाँ क्षयरोगीका विरामी पहिचान गर्ने दर घट्दै गएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने– कैलालीमा वार्षिक दुई हजार पाँच सय बढी क्षयरोगीका नयाँ विरामी पहिचान गर्नुपर्ने हुन्छ तर, हामीले एक हजार भन्दा बढी नयाँ विरामी फेला पार्न सकेका छैनौं । उनले समाजमा चेतना नहुनु, नीजि अस्पतालमा पत्ता लागेका विरामीहरूलाई सरकारी अस्पतालमा नपुर्याउनु लगायतका समस्याले लक्ष्य अनुसारको नयाँ विरामी पहिचान गर्न नसकिएको बताए ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४१ नयाँ क्षयरोगका विरामी पहिचान गरिएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा घटेर नौ सय ४७ नयाँ विरामी फेला परेको थियो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको छ महिनामा चार सय ६३ नयाँ क्षयरोगीका विरामी फेला परेका छन् ।

उनले भने– सबै क्षयरोगका विरामीहरूको पहिचान गरि उपचारको दायरामा ल्याए क्षयरोगको अन्त्य गर्न सकिने छ ।

कैलालीमा क्षयरोगका कारण चालु आर्थिक वर्षको छ महिनामा १४ जनाको मृत्यु भइसकेको छ । कार्यालय प्रमुख धामीले भने– क्षयरोगका कारण पाँच जना पुरुष र नौ महिला गरी १४ जनाको मृत्यु भएको छ । उनले देशभरमा क्षयरोगका कारण मृत्यु हुनेको दर दुई प्रतिशत रहेपनि सुदूरपश्चिम प्रदेशमा चार देखि पाँच प्रतिशत रहेको बताए । उनले समयमै क्षयरोगका पहिचान गरी उपचार गर्न सकेमा मृत्युदर घटाउन सकिने बताए ।

कैलालीमा क्षयरोगको नियन्त्रण र अन्त्य गर्न बसाइसराई, नियमित औषधि सेवन नगर्नु, आइसोलेसन वार्डहरू प्रर्याप्त नहुनु, ढिलो परीक्षण गराउनु लगायतका चुनौति रहेको बताए ।

लुकेर बसेका क्षयरोगी पत्ता लागेका कारणले बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउँन सकिने र सबभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उनले बताए ।

आज विश्व क्षयरोग दिवस

आज विश्व क्षयरोग दिवस । हरेक वर्ष विभिन्न कार्यक्रम गरि मनाईदै आएको यो दिवस यस वर्ष भने भव्यताका साथ नमनाइने भएको छ ।

कोरोना भाइरसका कारण स्वास्थ्य निर्देशनालय तथा मातहातका स्वास्थ्य कार्यालयहरूले भव्य कार्यक्रमको आयोजना गरेका छैनन । ‘संकेत समयको, क्षयरोगको अन्त्य’ भन्ने नारा दिइएको यो दिवसको पूर्व सन्ध्यामा मंगलबार कैलाली स्वास्थ्य कार्यालयले सञ्चारकर्मीहरूसंग अभिमुखीकरण कार्यक्रम गरेको छ ।

सोमबार कार्यालयले धनगढीमा रहेका विभिन्न नर्सिङ कलेजका विद्यार्थीहरूलाई कक्षामै गएर क्षयरोगबारे सचेतनामूलक कार्यक्रम गरेको थियो ।

हरेक बर्षको मार्च २४ विश्व क्षयरोग दिवस मनाइन्छ । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र बिभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिती प्राचीन समय बाटै आजसम्म भएको पाइन्छ ।

बिश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको किटाणुको संक्रमण जोखिममा रहेको देखिन्छ । बिकासोन्मुख देशहरूमा यो जोखिमदर त झन बढेर ९० प्रतिशत सम्म रहेको पनि देखिन्छ ।

प्रतिबर्ष बिश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार