१५ बैशाख २०८१, शनिबार

फलफूलका विरुवा रोपिए



डडेल्धुरा । कृषि ज्ञान केन्द्र बाजुराले यस वर्ष बाजुरामा एक लाख २५ हजार फलफुलका बिरूवा रोपेको छ ।

गत वर्षहरू झै यो वर्ष पनि सरकारी अनुदान र किसानको लागतमा एक लाख २५ हजार बिरूवा रोप्ने काम भइरहको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैसीले बताए ।

उनका अनुसार ५०० हेक्टर क्षेत्रफलमा फलफुल लगाइएको छ । उनले भने, यो वर्ष बिरुवाको सङ्ख्या विगतका वर्षको तुलनामा करिव पाँच गुणाले बढी लगाइएको छ ।

यस वर्ष बाजुरामा विजु ओखर १९ हजार ५०, कलमी ओखर ९००, टर्किवाट ल्याइएको च्यान्दलर जातको एक वर्षमै फल्ने ओखर २१ हजार २५० वोट रोपिएको छ भने एक वर्षमै फल्ने फुजी र गाला जातको स्याउ चार हजार ८००, अन्य जातको स्याउ ६५ हजार ५००, किवी तीन हजार र नास्पाती÷आरु÷आरुवखडा ५०० विरुवा गरेर जम्मा एक लाख १५ हजार फलफुल विरुवा रोपिएको सूचना अधिकारी जैशीको भनाइ छ ।

यसका साथै १० हजार जंगली मेलका बोटलाई कलमी गरेर नास्पती बनाइएको छ । बिरुवा सङ्ख्याको आधारमा ओखर २५८ हेक्टर, स्याउ २०० हेक्टर, किवी आठ हेक्टर र अन्य फलफूल ३४ हेक्टर गरेर ५०० हेक्टरमा हिउँदे फलफूलको थप क्षेत्र विस्तार भएको पनि कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

भौगोलिकरुपमा दुर्गम हुँदा गरिवीमा रहेको बाजुरा भविश्यमा फलफुलबाट आर्थिकरुपमा सबल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार