८ जेष्ठ २०८१, मंगलवार

कर्णाली नदीमा एकातिर अनुमति अर्कैतिर उत्खनन्



टीकापुर । जानकी गाउँपालिकाले कर्णाली नदीमा ठेक्का दिएको क्षेत्र भन्दा अन्यत्रैबाट ढुंगा गिट्टी, बालुवा उत्खनन् भैरहेको छ ।

जानकी गाउँपालिकाले आफ्नो क्षेत्रमा वातावरणीय प्रभाव मुल्यांकन गरी पाँच वटा विन्दूमा ८१ हजार घनमिटर नदीजन्य स्रोत उत्खनन् गर्न ७१ लाखमा ठेक्का लगाएको छ । प्रतिवेदनले नदीको भँगालोको बीचमा थुप्रिएका पाँच वटा ठाउँबाट ढुङ्गा, गिट्टी, बालुवा ९० सेन्टिमिटरसम्म उत्खनन गर्ने अनुमति दिएको छ । स्थानीयले जहाँ पायो त्यहीँबाट सामग्री उठाइरहेका छन् ।

गाउँपालिकाले गरेको वातावरणीय प्रभाव मुल्यांकनमा शिवशक्ति सामुदायिक वन नजिकदेखि जगतपुर वनघुस्रासम्म ४६० मिटर क्षेत्रबाट ढुंगा गिट्टी, बालुवा उत्खनन्को अनुमति पाएको निराजन कन्ट्रक्शनले त्यो भन्दा करीब डेढ किलोमिटर यतै मालझुलमा बोर्ड लगाएर शुल्क उठाउन थालेको छ । ठेकेदारले बोर्ड लगाएपछि त्यही स्थानबाट ढुङ्गा गिट्टी बालुवा उठाउन थालेका छन् ।

अति उत्खनन् नरोकिए टीकापुर नगरपालिका, जानकी गाउँपालिका खतरामा पर्ने र तत्काल वन क्षेत्र कटान भैरहेको जानकी गाउँपालिका वडा नं ६ का तुलबहादुर शाह बताउँछन् । उनी भन्छन्, ‘ढुङ्गे ठेकेदारको मनपरी छ शिव मन्दिर नजिक तटवन्ध बगाएको छ त्यहीनेर ढुगा उठाउदै छन् स्थानीयले भनेर मान्दैनन् प्रशासनिक निकायबाट रोक्ने प्रयास भएन, ढुङ्गा बेचेर नाफा कमाउनेहरुको मनपरी छ ।’

ठेकेदार अम्बर रावल आफूले बोर्ड लगाएर उठाउन लागेको स्थान सही रहेको दावी गर्दै त्यही ठाउँबाट रानी जमरा कुलरिया सिचाई आयोजनाले पनि उत्खनन गरिरहेको बताउँछन् । रावल भन्छन् ‘प्रभाव मुल्यांकन भएको भन्दा अन्य स्थानबाट स्थानीयहरुले सामग्री उठाइरहेकोले सम्वन्धित निकायले नै रोक्नु पर्छ हामी रोयाल्टी नकाटन भन्यो भने रोकिदिन्छौं ।’

जगतपुर र शिवशक्ति सामुदायिक वनको किनारमा ठेकेदारबाट र स्थानीयले ढुंगा बालुवा चोरी निकासी गरिरहेकाले पछिल्ला पाँच वर्ष यता पानीको वहाव बढेको र कटान भैरहेको जानकी गाउँपालिका वडा नं ६ जगतपुरका ६६ वर्षिय मोतिलाल सुनारले बताए ।

कर्णाली चिसापानीबाट दुईवटा भँगालोमा बाडिएर बर्दिया तर्फ गेरुवा र कैलाली तर्फ कर्णाली भएर बग्ने नदी पछिल्ला वर्ष पूरै कैलाली तर्फको भँगालोमा बगिरहेको छ । बर्दियातर्फ राष्ट्रिय निकुञ्ज भएकाले उत्खनन नहुने तर कैलालीतर्फ अत्याधिक उत्खनन् भैरहेकाले पूरै पानी कैलालीतर्फ बग्न थालेको हो । एकातिर पूरै पानी कैलालीतर्फ बगिरहेको छ अर्कोतिर अनियन्त्रित रुपमा किनारमा उत्खनन् हुँदा कैलालीतर्फ जोखिम बढ्दै गएको छ । बीचमा थुप्रिने र किनारमा उत्खनन् भैरहेकाले यहाँको तटवन्धले काम गर्न छोडेको रानी जमरा कुलरिया सिचाईँ आयोजनाका निर्देशक केदारकुमार श्रेष्ठको भनाई छ ।

जानकी गाउँपालिका स्थानीय अनुगमन समितिका संयोजक तथा जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी वातावरणीय प्रभाव मूल्यांकन भई नदीजन्य स्रोत उत्खनन गर्न अनुमति दिएको स्थान भन्दा बेग्लै ठाउँमा बोर्ड राखेर नदीजन्य श्रोत उत्खनन भैरहेकोले तत्काल रोक्न निर्देशन दिएको र आगामी दिनमा कडाइका साथ अनुगमन गरिने बताउँछन् ।

कर्णाली र महाकाली जलाधार क्षेत्रमा निगरानी गरिरहेको बल्चौर जन तथा वातावरणीय श्रोत विकास केन्द्र (बाफर) नेपालका सचिव कर्ण रावल महाकाली नदीमा भिमदत्त नगरपालिकाले उत्खनन् व्यवस्थित गरेजस्तै कैलालीका लम्कीचुहा, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले पनि व्यवस्थित गर्नुपर्ने सुझाव दिन्छन् । ठेक्का लगायो छोड्यो भने केही लाखको लोभले करोडौंको संरचना पनि ध्वस्त हुने र दक्षिणी क्षेत्रमा कुनै न कुनै दिन ठूलो नोक्सानी हुने सक्ने भएकाले समयमै सचेत हुनुपर्ने रावलको भनाई छ ।

जिल्ला अनुगमन समितिले यो वर्ष अनुगमन नै गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार