१४ बैशाख २०८१, शुक्रबार

दोस्रो शेयर बजारप्रति जनाकर्षण बढ्दै



धनगढी । सुदूरपश्चिम प्रदेशमा प्राथमिक शेयर (आइपिओ) संगै दोस्रो शेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।


प्राथमिक शेयर बजारबाट शेयर कारोबार शुरु गरेका सर्वसाधारणहरू पछिल्लो समय दोस्रो बजारमा पनि प्रवेश गर्न थालेका छन् ।

शेयर बजारबारे खासै जानकारी नराख्ने सुदूरपश्चिम प्रदेशका सर्वसाधारणहरू कोराना महामारी नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि शेयर कारोबारप्रति आकर्षित हुदै गएका थिए ।


धनगढीस्थित ब्रोकर कार्यालयका रुपमा स्थापना भएको दीपशिखा धितोपत्र कारोवार कम्पनी लिमिटेडमा लकडाउन अघि न्यून मात्रामा ग्राहकहरू आउने गरेका थिए । प्राइमरी र सेकेण्डरी शेयर कारोबार गर्दै आएको दीपशिखा धितोपत्र कम्पनीमा लकडाउन यता आम नागरिकको आकर्षण बढेको जनाइएको छ ।

‘शेयर कारोबार सम्बन्धी आम नागरिकमा चेतना बढेपछि अहिले कम्पनीमा भीडभाड बढेको छ’ कम्पनीका शाखा म्यानेजर निर्मल पाठकले भने– लकडाउन अघि फाटफुट रुपमा कारोबार गर्न आउथे । लकडाउनपछि अहिले वेलावेलामा कार्यालयमा भीडभाड बढ्ने गरेको छ ।

शाखा म्यानेजर पाठकका अनुसार लकडाउनअघि शेयर कोरोबारका लागि मासिक ५० जनाको हाराहारीमा मात्रै मान्छे आउने गर्दथे । अहिले कम्पनीको कार्यालयमा केवाइसी फर्म भर्नका लागि बिहानैदेखि भीडभाड हुने गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्राथमिक शेयर बाडफाँटपछि शाखामा केवाइसी फर्म भर्नेको भिडभाड बढेको जनाइएको छ ।

धनगढी उपमहानगरपालिकाका आशिष तामाङले तीनदेखि चार घण्टा लगाएर केवाइसी फर्म भर्न भ्याएको बताए । शुरुमा अनलाईनबाट फर्म भरेपछि पुनः प्रमाणीकरणका लागि धनगढीस्थित दीपशिखा धितोपत्र कारोबार कम्पनीमा आशिषले केवाइसी फर्मको सम्पूर्ण प्रक्रिया पुरा गरेको बताए ।

धनगढी कै सरिता क्षेत्रीले पनि लामो लाईन लागेर केवाइसी फर्म प्राप्त गरेको बताइन् । उनले पनि अनलाइनबाट फर्म भरे पनि पुनः प्रमाणिकरणका लागि कार्यालयमा आउनु परेको बताइन् ।

पछिल्लो समय दीपशिखा धितोपत्रमा केवाइसी र डिम्याट खाता भर्नेको भिडभाड निकै बढेको छ ।

केवाइसी फर्म भर्न लाइनमा रहेका हिमाल जोशीले आइतबार अनुमोदनसंग भने– कम्पनीको कार्यालयमा निकै भीडभाड हुने गरेको छ । कार्यालयमा एउटा मात्रै काउन्टर भएकाले पनि बढी समय लाग्ने गरेको । दुईवटा काउन्टर राखेको भए हामीलाई धेरै सहज हुन्थ्यो ।

कम्पनीका शाखा म्यानेजर पाठकले केवाइसी फर्म भर्न आउनेहरुको भीडलाई व्यवस्थित गर्न टोकन प्रणाली लागू गरिएको बताए । उनले भने– यो प्रणाली लागू भएपछि ग्राहकहरूलाई केही हदसम्म सहज भएको छ ।

उनले बिहानदेखि दिउसोसम्म एकैचोटी धेरै मानिस कार्यालयमा आउने गरेकाले बढी भीडभाड देखिएको बताए । उनले भने– एकै चोटी धेरै मानिस आउँछन्, जसले गर्दा ग्राहकहरुले सेवा पाउन केही ढिलाई भएको महशुस गर्नुभएको होला ।

उनले दिउसो ३ बजेपछि कार्यालय अहिले पनि सुनसान जस्तै हुने गरेको बताए ।

उनका अनुसार अहिले दैनिक दुई सय बढीले केवाईसी फर्म भरिरहेका छन् । भने डिम्याट खाता खोल्नेहरुको संख्या दैनिक सरदर २५ सम्म पुग्ने गरेको छ । उनले भने– डिम्याट खाता बैंकले पनि खोल्ने भएकाले यहाँ कम आउने गर्छन । तर, दोस्रो बजार कारोबारका लागि यही आउनुपर्छ ।’ उनका अनुसार अहिले दोस्रो बजार कारोबारका लागि सुदूरपश्चिममा १५ हजार बढी आवद्ध भएका छन् ।

सुदूरपश्चिममा अहिले दोस्रो शेयर बजारका रुपमा ब्रोकरको काम गर्ने दीपशिखा धितोपत्र कम्पनी मात्र रहेको छ । यसको शाखा कैलाली र कञ्चनपुरमा रहेको छ । म्यानेजर पाठकले दैनिक तीन करोड रुपैयाँ बढिको कारोबार हुने गरेको बताए ।

नेपाल पुँजि बजार लगानीकर्ता संघ, कैलालीकी अध्यक्ष निर्मला श्रेष्ठले शेयर कारोबारमा लगानी गर्ने महिलाको संख्या पनि बढेको बताइन् । उनले शेयर लगानीकर्ताको संख्या एकीन नभए पनि लगानीकर्ता महिलाहरू १५ देखि २० प्रतिशत रहेको अनुमान गरिन् ।

‘पहिले पहिले मलाई पनि शेयर कारोबार लिगल हो या इललिगल भन्ने शंका लाग्थ्यो’ अध्यक्ष श्रेष्ठले भनिन– मैले शेयर बजारमा लगानीको पा“च वर्षको अनुभवमा शेयर कारोबार सरकारबाट मान्यता प्राप्त र सरकारी निकायबाट सञ्चालित रहेको थाहा पाएँ । यो एकदमै नाफादायी रहेछ । त्यही भएर पनि यसमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ ।

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसंग पु“जी बजार लगानीकर्ता संघले सुदूरपश्चिमको नौ वटै जिल्लामा शेयर कारोबार सम्बन्धी सचेतनामुलक कार्यक्रम चलाउन पहल गरिरहेका जनाएको छ ।

‘यसले लगानीकर्ताहरूलाई सही कम्पनी छनौट गर्नका लागि सहज होस्’ नेपाल पु“जिबजार लगानीकर्ता संघ, सुदूरपश्चिम प्रदेश संयोजक कुमार थापाले भने– ‘यसको लागि हामीले पहल गरिरहेकै छौं ।

उनले विगतमा धनगढी, महेन्द्रनगर र डडेल्धुरामा यो कार्यक्रम आयोजना गरिएको बताए । उनले भने– कोभिड–१९ को कारणले यो कार्यक्रम रोकिएको थियो । अहिले पुनः यो कार्यक्रम चलाउनु पर्छ भनेर लागेका छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार