१४ बैशाख २०८१, शुक्रबार

औद्योगिकरण बिना आर्थिक समृद्धि असम्भव– मन्त्री भट्ट




अत्तरिया (कैलाली) / संघीय उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकभर व्यापक औद्योगिकरण नगरीकन मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको बताएका छन् ।

उनले वर्तमान सरकार मुलुकभरी औद्यागिकरणको लागि कटिवद्ध रहेको बताए । “देशभर नै औद्योगिकरण नगरी मुलुकको आर्थिक समृद्धि सम्भव छैन” आइतबार कैलालीको गोदावरी नगरपालिका, अत्तरियामा आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले भने– हामी (सरकार) ले लिएको समृद्ध नेपाल ः सुखी नेपालीको नारालाई सार्थक बनाउन औद्योगिकरण तीब्र बनाएका छौ ।

उनले सोमबार कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्रको सिलन्यास हुने कार्यक्रम रहेको बताए । सो औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उनले जानकारी दिए ।

मन्त्री भट्टले दैजी–छेला औद्योगिक क्षेत्र सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिको कोशेढुंगा बन्ने दाबी गरे । उनले भने– सधैं पूर्वबाट विकास हुने गर्दथ्यो, यसपटक हामीले पश्चिमबाट शुरु गर्दैछौं ।

उनले औद्योगिक क्षेत्र बनेपछि सुदूरपश्चिम प्रदेशमा धमाधम लगानी भित्रिने बताए । उनले भने– दैजी छेला औद्योगिक क्षेत्रबाट सुदूरपश्चिममा औद्योगिक क्रान्ति शुरु हुने छ ।

दैजी–छेलाको दुई सय ९३ विघा जमीनमा नौं अर्ब रुपैयाको लागतमा पाँच वर्षभित्र निर्माण हुने गरी ठेक्का सम्झौता भएको छ । दैजी–छेला औद्योगिक क्षेत्रलाई नौं सय विघा जमीनमा विस्तार गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । दैजी–छेलामा सात कट्ठादेखि पाँच बिघासम्मका एक सय वटा प्लट रहने जनाइएको छ ।

दैजी–छेला औद्योगिक क्षेत्र स्थापनाका लागि यसै बर्ष वातावरणीय प्रभाव मुल्यांकन स्वीकृत भएको थियो ।

२०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, वेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन सहमति जनाइसकेका थिए ।

२०७५ साल असोजमा डिभिजन वन कार्यालय महेन्द्रनगरले वन तथा वातावरण मन्त्रालयमा दैजि–छेला क्षेत्रमा उद्यौगिक क्षेत्र स्थापना गर्न नसकिने पत्र पेश गरेपछि सो काम अलपत्र परेको थियो ।

उनले दैजी–छेला औद्योगिक क्षेत्रपछि बाकेको नौबस्ता मयुरघाट, रुपन्देहीको मोतीपुर, हेटौंडा र दमक–झापा औद्योगिक क्षेत्रको पनि शिलान्यास गरिने जानकारी दिए ।

उनले कैलालीको डुडेझारी औद्योगिक क्षेत्रको प्रक्रिया अघि बढेको बताए । मन्त्री भट्टले चालू आर्थिक वर्षभित्रै सुदूरपश्चिम प्रदेशमा फलामखानी कारखानाको काम पनि अघि बढाइने बताए । उनले भने– फलाम कारखानाका लागि आवश्यक पर्ने जग्गाको भोगाधिकार कायम गर्ने लगायतका काम भइरहेको छ ।

उनले कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र (सेज) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि चालू आर्थिक वर्ष भित्रै पुरा हुने बताए ।

मन्त्री भट्टले कञ्चनपुरको दोधाराचादनीमा निर्माण हुने सुख्खा बन्दरगाहको गुरुयोजना निर्माण कार्य पुरा भएको बताए । उनले भने– सुख्खा बन्दरगाह निर्माणका लागि वन मन्त्रालयबाट अनुमति पाएपछि वातावरणीय प्रभाव मूल्यांकनका साथै अन्य काम अघि बढाउनेछौं ।

उनले दोधाराचादनी सुख्खा बन्दरगाह सबैभन्दा प्रमुख व्यापारिक नाका बन्ने दाबी गरे ।
सञ्चारकर्मीहरुको एक जिज्ञासामा मन्त्री भट्टले प्रधानमन्त्री ओलीको यस पटकको सुदूरपश्चिम भ्रमण विसुद्ध रुपमा विकासको भ्रमण रहने बताए ।

एक अर्को प्रसंगमा मन्त्री भट्टले संसद विघटन सम्बन्धी मुद्दामा अदालतले सरकारका पक्षमा फैसला गर्ने ठोकुवा गरे । उनले भने– आफ्नै पार्टीभित्रबाट सरकारलाई अप्ठ्यारोमा पारिएपछि प्रधानमन्त्रीले नया जनादेशका लागिे प्रतिनिधि सभा विघटन गर्नुभएको हो । हामीलाई विश्वास छ– अदालतले सरकारको पक्षमा फैसला दिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार