२३ बैशाख २०८१, आईतवार

एक वर्षदेखि इँट्टा अभाव



धनगढी । कैलालीमा अझै पनि इट्टाको सहज उत्पादन हुन सकेको छैन । गत माघ महिनामा आएको हिउदे वर्षाले पभावित इट्टा व्यवसायीहरुले सरकारले जारी गरेको लकडाउनका कारण अहिलेसम्म सहज रुपमा इट्टा उत्पादन गर्न नसकेको जनाइएको छ ।

बजारमा इट्टा अभावसंगै मूल्यवृद्धि भएपछि निर्माण व्यवसायीहरुले भारतबाट आयात गर्न पाउनुपर्ने माग अघि सारेका छन् ।

निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले भने –‘अहिले पनि हामीले माग अनुसारको इट्टा पाउन सकेका छैनौं ।’ उनका अनुसार इट्टा व्यवसायीहरुले अहिले इट्टा थोर–थारै उत्पादन गरिरहेका छन । उनले भने –‘हामीलाई इट्टा चाहिएको छ तर, इट्टा व्यवसायीहरुले उपलब्ध गराउन सकेका छैनन ।’

अहिले इट्टा उद्योगले उत्पादन गरेको प्रति इट्टाको मूल्य पनि महँगो रहेको छ । खप्तड इट्टा टायल उद्योगका सञ्चालक दीपेन्द्र श्रेष्ठले लामो समयदेखि बन्द रहेको इट्टा भट्टाबाट अहिले उत्पादन शुरु भइरहेको बताए । उनले भने –‘कोरोना महामारीसंगै सरकारले जारी गरेको लकडाउनका कारण हामी व्यवसायी मारमा परेका छौं ।’

गत माघमा प्रति इट्टा १३ रुपैया“ रहेकोमा अहिले प्रति इट्टा १५ रुपैया“ तिरेर पनि पाउन नसकेको निर्माण व्यवसायीहरुको गुनासो रहेको छ । अध्यक्ष उपाध्यायले भने –‘अहिले यहाँ इट्टासंगै निर्माण सामाग्रीको मूल्य पनि बढेको छ । जसले गर्दा हामीले सम्झौता गरेको योजनामा लागत बढ्न जान्छ ।’ उनले कैलालीमा अहिले प्रति इट्टा १५ रुपैया“को दर रहेकाले मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, भन्सार कार्यालय प्रमुख लगायतलाई ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए । उनले भने –‘अहिले भारतमा प्रति इट्टा १० रुपैया रहेको छ । त्यसैले हामीले भारतबाट आयात गर्न पाउनुपर्छ भनी माग गरेका छौं ।’

इट्टा व्यवसायी श्रेष्ठले भने –‘भारतबाट इट्टा आयात भएमा कैलाली कञ्चनपुरका इट्टा व्यवसायनै बन्द अवस्थामा पुग्छ ।’ उनले गत वर्षको माघदेखि फागुनमा वर्षाका कारण इट्टा व्यवसायीहरुले आर्थिक भार खेप्नु परेको स्मरण गर्दै भने –‘फागुनसम्म हामीले इट्टा उत्पादन गर्न पाएनौं । चैतमा केही इट्टा उत्पादन हुनै लागेको थियो सरकारले लकडाउन जारी गर्यो ।’ उनले एक वर्षदेखि इट्टा व्यवसायीहरु मारमा परिरहेको स्मरण गर्दै भने –‘हामीले मजदुरको ज्याला, बैंकको ब्याज लगायत तिर्न पनि धौ–धौं भइरहेको छ ।’

सुदूरपश्चिम इट्टा व्यवसायी संघका महासचिव सुरेन्द्र कठायतले भने–‘सरकारले मारमा परेका उद्योगीहरुको पुर्नउत्थान हुने गरी कार्यक्रम पनि ल्याउन सकेको छैन ।’ उनले प्रदेश सरकारले इट्टा व्यवसायीहरुलाई अघि बढाउन विशेष राहत कार्यक्रम ल्याउनुपर्ने माग गरे ।

अन्य सामाग्रीमा पनि मूल्य वृद्धि

इट्टासंगै अन्य निर्माण सामाग्रीहरुको मूल्यवृद्धि भएको निर्माण व्यवसायीहरुको गुनासो रहेको छ । विकासे योजना निर्माणका लागि आवश्यक पर्ने इट्टा, सरिया, सिमेन्ट, नदीजन्य पदार्थ लगायतमा मूल्यवृद्धि भएपछि निर्माण व्यवसायीहरु मारमा परेको जनाइएको छ ।

‘अहिले इट्टादेखि सिमेन्ट सरियामा पनि १५ देखि २५ प्रतिशत मूल्य वृद्धि भएको छ’ अध्यक्ष उपाध्यायले भने –‘यसले गर्दा हामीले सम्झौता गरेका योजनाहरुको लागत बढ्छ ।’ उनले अहिले पनि कैलालीका विभिन्न नदीबाट नदीजन्य पदार्थ उत्खनन हुन नसकिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार