१२ बैशाख २०८१, बुधबार

निःशुल्क अल्ट्रासाउण्ड सेवाले सुदूरपश्चिमका गर्भवती सुरक्षित



टीकापुर । टीकापुर नगरपालिका वडा नं ९ बौनियाँकी २७ वर्षीया रमा चौधरीले माघ ४ गते झुङ्गा शहरी स्वास्थ्य केन्द्र पुगेर अल्ट्रासाउण्ड गर्नुभयो तर बच्चा मरेको देखियो । माघ ६ गते सुत्केरी हुने मिति भएपनि केही दिन अघि नै बच्चा मरेको देखिएपछि तत्काल टीकापुर अस्पताल पुर्‍याएर मरेको छोरा निकालियो ।

चुरे गाउपालिका वडा नं १ चिउराकी २५ वर्षिया गर्भवती पार्वती बमले पुस २७ गते निगाली स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड गराउनुभयो । सुत्केरी हुने मिति दुई दिन पछि भएपनि गाउँमै आएको बेला अल्ट्रासाउण्ड गर्दा बच्चा छड्के देखियो । समयमै सेती प्रादेशिक अस्पताल धनगढी पुगेपछि शल्यक्रिया गरेर छोरा जन्माइयो ।

मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनाकी २५ वर्षिया निशाना शाहीले पनि दुई महिना अघि गर्भजाँच गराउदा बच्चा उल्टो देखाएको थियो । स्वास्थ्यकर्मीले अवस्था खतरा छ भनेर अस्पताल जानु भनेका थिए । टीकापुर अस्पतालमा पुगेर बच्चा जन्माउदा निसास्सिएर जन्मियो । अहिले आमा बच्चा दुवै सकुशल हुनुहुन्छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा प्रदेशका सबै पालिकामा सञ्चालनमा ल्याएको ग्रामिण अल्ट्रासाउण्ड सेवाले गर्भवती महिलालाई सुत्केरी हुँदा आउने जटिलताहरु पहिल्यै थाह पाएपछि सहज भैरहेको छ ।

टीकापुर नगरपालिकामा अल्ट्रासाउण्ड सेवा दिइरहेकी सिनियर अनमी कमला शर्माले एक हप्ताको अवधिमा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामै १२५ महिलाको गर्भजाँच गर्दा एउटाको बच्चा मरेको अवस्थामा र दुई जनाको बच्चा उल्टो देखिएको जनाइन् । यस्तै चुरे गाउँपालिकाको निगाली स्वास्थ्य केन्द्रमा ३८ जनाको गर्भजाँच गर्दा एक जनाको बच्चा छडके र पाँच जनाको साल तल झरेको पत्ता लागेको स्टाफ नर्स मुना घिमिरेले जानकारी दिइन् ।

पहाडी पालिका मोहन्यालमा अल्ट्रासाउण्ड सेवा दिइरहेकी स्टाफ नर्स ममता चन्द चार सय जतिको अल्टासाउण्ड गर्दा ४० भन्दा बढीलाई समस्या देखिएको बताउँछिन् । चन्दले भनिन्, ‘कैलालीको पहाडी क्षेत्रका गाउँबाट यस अघि दुई दिन हिडेर राजमार्ग पुगेपछि मात्रै अल्ट्रासाउण्ड सेवा पाइन्थ्यो, अहिले महिनामा तीन स्वास्थ्य संस्थामा गर्भजाँच हुन्छ । आठ स्वास्थ्य संस्था रहेको मोहन्यालका गर्भवतीले तीनतीन महिनामा सेवा पाइरहेका छन् ।’

संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई आमा र बच्चाको स्वास्थ्य सुधार गर्न दिएको रकमबाट सामाजिक विकास मन्त्रालयले ८८ वटै स्थानीय तहलाई एकएक थान अल्ट्रासाउण्ड र एक जना स्वास्थ्यकर्मीलाई तालिम उपलब्ध गराएपछि सेवा सञ्चालनमा आएको हो । यो सेवा शुरु भएपछि सुदूरपश्चिमका सबै स्थानीय तहका गर्भवती महिलाले आफ्नै पालिकामा स्वास्थ्य प्रोटोकल अनुसार निःशुल्क गर्भजाँच गर्न पाइरहेका छन् । यसअघि यो सेवा सशुल्क रुपमा तत्कालिन सदरमुकामस्थित सरकारी अस्पतालमा मात्र सिमित थियो ।

टीकापुर नगरपालिकाले पाएको अल्ट्रासाउण्ड मार्फत हरेक वडामा रहेका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रबाट घुम्ति सेवा दिइरहेको छ । यसअघि गर्भ जाँच गराउन छिमेकीको सहयोग लिएर टीकापुुर अस्पताल पुगेकी टीकापुर नगरपालिका वडा नं ६ सिमे्रनीकी मीना पुनमगर बताउँछिन् ।

यसपटक आफ्नै वडामा रहेको नारायणपुर स्वास्थ्य चौकीमा सेवा पाएकोमा मीना खुशी छन् । ‘यस पटक एक्लै हिडेरै आएकी छु छिटै पालो पाइयो पैसा पनि लागेन सजिलो भयो,’ उनले भनिन्, ‘अघिल्लो पटक टीकापुर अस्पताल जाँदा दिनभर कुरेर पालो नपाएपछि निजी अस्पतालमा ७०० रुपियाँ तिरेर अल्ट्रासाउण्ड गरेर आएँ, दुई जनाको जाने आउने गाडीभाडा, नास्ता गरेर एक हजार दुई सय खर्च भएको थियो ।’

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले प्रदेशभरीका सबै पालिकालाई एकएक थान अल्ट्रासाउण्ड मेशिन र एक जना स्वास्थ्यकर्मीलाई २१ दिनको तालिम दिएर पठाएकोे बताए । पहाडी जिल्लामा यो सेवा अघिल्लै वर्ष शुरु भएपनि तराईका केही पालिकामा कोभिडका कारण ढिलो शुरु भएको छ ।

‘सुदूरपश्चिममा हुने बाल विवाह, किशोरी अवस्थामा गर्भधारण, कम तौलको बच्चा जन्मिने समस्या नै छ । यो मेशिनले गर्भमा रहको बच्चा र आमाको स्वास्थ्य अवस्था थाह पाउन निकै ठूलो सहयोग पुगेको छ,’ डाक्टर अवस्थी भन्छन्, ‘अघिल्लो आर्थिक वर्षमा १४ हजार ९९ गर्भवती महिलाको अल्ट्रासाउण्ड गरिएकोमा पाँच सय ५६ जनामा जटिलता देखिएकाले सुविधा भएका अस्पताल रेफर भई केहीको शल्यक्रिया गर्नुपरेको र केहीलाई हेलिकप्टरबाट पनि उद्धार गर्नुपरेको छ ।’

नेपालमा ४२ वर्षअघि पाटन अस्पतालमा शुरु भएको र १५ वर्षअघि सोलुखुम्बु जिल्लामा ग्रामिण तहमा अल्ट्रासाउण्ड सेवा नाम दिइएको थियो यो सेवा सुदूरपश्चिममा भने ८८ वटै स्थानीय तहमा निःशुल्क रुपमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार