१४ बैशाख २०८१, शुक्रबार

कोरोना विरुद्धको ओप अभियान : लक्ष्यको ९१ प्रतिशतले लगाए खोप



धनगढी । कोरोना भाइरस संक्रमण विरुद्धको खोप अभियानका क्रममा सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा लक्षित समुहमध्ये ९१ प्रतिशतले खोप लगाएका छन् ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पहिलो चरणमा १६ हजार तीन सय ३८ जनालाई खोप लगाउने लक्ष निर्धारण गरिएकोमा आइतबारसम्म १४ हजार आठ सय ५५ जनाले खोप लगाएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार कैलालीमा तीन हजार ७३७ जनालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा चार हजार १८४ जनाले लगाएका छन ।

त्यस्तै, कञ्चनपुरमा दुई ५४५ जनालाई लक्षित गरिएकोमा दुई हजार ७९२ जनाले खोप लगाएका छन् । कैलाली र कञ्चनपुरमा लक्ष्य भन्दा क्रमशः १२ र १० प्रतिशत बढिले खोप लगाएको भएपनि पहाडी जिल्लामा लक्ष अनुसारका व्यक्तिले खोप लगाएनन् ।

दार्चुलामा एक हजार २५१ मा एक हजार ८२, बझाङमा एक हजार ४०९ मा एक हजार ९१, बैतडीमा दुई हजार ४१ मा एक हजार २९७, अछाममा एक हजार ८७१ मा एक हजार ४९५, बाजुरामा ८९० मा ६१५, डडेल्धुरामा एक हजार १३५ मा एक हजार ६२ र डोटीमा एक हजार ४५९ मा एक हजार १३७ जनाले मात्रै खोप लगाएका छन् ।

सबै भन्दा कम बैतडीमा ६८ र बाजुरामा ६९ प्रतिशतले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले हिमपात र दुर्गम लगायतका कारण पहाडी जिल्लामा लक्ष पुरा हुन नसकेको बताए ।

यसैगरी, क्षेत्रगतको आधारमा पाँच हजार ४३० जना स्वास्थ्यकर्मी, ६४१ जना सरसफाईकर्मी, तीन हजार ९७५ जना महिला स्वास्थ्य स्वयम्सेविका, १५९ जना एम्बुलेन्स चालक, ८२२ जना सुरक्षाकर्मी, एक हजार ३८७ जना कैदीबन्दी, १३० जना बृद्धाश्रमका, ९९ जना सीमानाकामा काम गर्ने र अन्य एक हजार ५२१ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको खोप कार्यक्रम शनिबार सम्पन्न भएको छ । सुदूरपश्चिममा पहिलो चरणमा खोप लगाउन ३६ हजार डोज प्राप्त भएकोमा १५ हजार डोज खर्च भएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

सुदूरपश्चिम प्रदेशमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रको कुल जनसंख्या ८७ हजार ३१५ जना रहेपनि पहिलो चरणमा १६ हजार तीन सय ३८ जनालाई लक्ष्यित गरिएको थियो । दोस्रो चरणमा समेत अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रलाई नै लक्षित गरी खोप कार्यक्रम चलाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले प्रदेशलाई दोस्रो चरणमा प्राप्त हुने खोपको मात्रा अनुसार लक्षित वर्ग निर्धारण गरिने बताए ।

मन्त्रालयले आइतबार धनगढीमा सञ्चारकर्मीहरूसंग खोप कार्यक्रम र मन्त्रालयको दोस्रो चौमासिक प्रगति सम्बन्धी अन्तरक्रिया गर्न आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव रघुराम विष्टले पहिलो चरणमा खोप लगाउँदा कुनै पनि समस्या नदेखिएकोले खोप सुरक्षित रहेको प्रमाणित भएको बताए । उनले अब खोप ढुक्कसंग लगाउन सकिने बताए ।

संक्रमण दर घट्यो, खतरा टरेको छैन

सुदूरपश्चिम प्रदेशमा झण्डै एक महिना यता नोबेल कोरोना भाइरस संक्रमण दर कम भएको देखिएको दैनिक एक देखि पाँच जनामा मात्रै सो भाइरस संक्रमण भएको देखिन्छ । आइतबार पनि ७५ जनाको स्वाब परीक्षण गर्दा तीन जनामा मात्रै संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण दर कम भएपनि खतरा नटरेको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । उनले खोप लगाइसकेका व्यक्तिले समेत मास्क, हात सफाई र व्यक्तिगत दुरी कायम गर्न अति जरुरी रहेको बताए ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ३५ हजार ९८८ जनाको स्वाब परीक्षण गर्दा १३ हजार ९९१ जना (१० प्रतिशत) मा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये १२ हजार ८९४ (९२ प्रतिशत) निको भइसकेका छन् । हाल प्रदेशमा एक हजार ४२ जना (कुल संक्रमित मध्य ८ प्रतिशत) मात्रै सक्रिय संक्रमित छन् । जस मध्ये कुल संक्रिय संक्रमितको ९३ प्रतिशत (९७० जना) होम आइसोलेशनमा छन् भने ७२ जना अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका छन् । संक्रमित मध्ये ५५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार