२१ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा दैनिक पाँच करोडको शेयर कारोबार



धनगढी । सुदूरपश्चिम प्रदेशमा शेयर कारोबारले गति लिएको छ । नेपाल पुँजिबजार लगानीकर्ता संघ, सुदूरपश्चिमले प्रदेशमा दैनिक पाँच करोड रुपैयाको हाराहारीमा शेयर कारोबार हुने गरेको जनाएको छ ।

प्राइमरी र सेकेण्डरी शेयर बजारमा विगत भन्दा लगानीकर्ताको संख्या दोब्बरले बृद्धि भएको छ । शेयर बजारको सेकेण्डरी मार्केटमा लगानीकर्ताहरु तेब्बर संख्यामा थपिएको नेपाल पुँजिबजार लगानीकर्ता संघ, सुदूरपश्चिम प्रदेशका संयोजक कुमार थापाले बताए । ‘शेयर बजारमा कारोबार समेत प्रदेशभरि बढ्दो क्रममा छ,’ उनले भने, ‘शेयर बजारमा लगानीकर्ताहरुले नाफा पाएपछि दिन प्रति दिन लगानीकर्ता थपिदै गएका छन् । प्रदेशमा दैनिक पाँच करोड रुपैयाँको हाराहारीमा कारोबार भइरहेको देखिन्छ ।’

धनगढीमा मात्रै दैनिक दुई करोड रुपैयाको हाराहारीमा सेकेण्डरी मार्केटको कारोबार भइरहेको छ । सेकेण्डरी मार्केट भन्दा प्राइमरी शेयर मार्केटमा लगानी बढि भइरहेको छ । तर प्राइमरी शेयर मार्केटमा सबै लगानीकर्ताको पहुँच पुग्न सकेको छैन ।

पछिल्लो समयमा महेन्द्रनगरमा पनि ब्रोकर हाउसको शाखा खुलेको छ । धनगढीमा पहिलेदेखि नै थियो । महेन्द्रनगरमा पनि ब्रोकर साउसको शाखा खुलेपछि शेयर कारोबार थप बृद्धि भएको छ । सुदूरपश्चिममा समग्रमा दैनिक चार देखि पाच करोड रुपैयाको शेयर कारोबार भइरहेको छ ।

बैंकहरुले पनि डिम्याट, आइपिओ भर्ने सुविधा दिएपछि शेयर कारोबार गर्न लगानीकर्ताहरु आकर्षित भएका छन् । ‘बैंकहरुले पनि डिम्याट खोल्न थालेपछि प्रदेशको नौ वटै जिल्लामा डिम्याट खोल्न सजिलो भएको छ,’ संयोजक थापाले भने, ‘बैंकमा डिम्याट खोल्नेहरुको संख्या पनि बढेको छ । ब्रोकर हाउस धाउनु भन्दा आफ्नो खाता रहेको बैंकमै डिम्याट खोल्न पाइने भएपछि लगानीकर्तालाई सहज भएको छ । बैंकमा डिम्याट र आइपिओ भर्न पाएपछि लगानीकर्तालाई ब्रोकर कार्यालय गइरहनुपर्ने बाध्यता हटेको छ र शेयर कारोबारका सबै लगानीकर्ताहरुको पहुँच पुगेको छ ।’

शेयर कारोबारमा कम लगानीमा मनग्य आम्दानी हुने भएकाले र कोभिडको कारण होटल, पर्यटन, निर्माण र उद्योग क्षेत्र थप्प भएपछि पनि लगानीकर्ताहरु शेयर बजारतिर आकर्षित भएका छन् । ‘पछिल्लो समयमा पुनर्बिमा कम्पनीको आइपिओ आएको थियो,’ संयोजक थापाले भने, ‘त्यसमा मानिसहरुले एक सय रुपैयाँ प्रति कित्ता किनेर १८ सय भन्दा बढिमा विक्री गर्न सफल भएर मनग्य फाइदा लिएका थिए । यसको शेयर एक जनालाई ४० देखि ५० कित्ता परेको थियो । यो नाफादेखेपछि लगानीकर्ताको संख्या ह्वात्तै बढ्यो ।’

नेपाल पुँजिबजार लगानीकर्ता संघ कैलालीकी अध्यक्ष निर्मला श्रेष्ठले शेयर कारोबारमा लगानी गर्ने महिलाको संख्या पनि बढेको बताइन् । उनले शेयर लगानीकर्ताको संख्या एकीन नभएपनि लगानीकर्ता महिलाहरु १५ देखि २० प्रतिशत रहेको अनुमान गर्छिन् । ‘पहिले पहिले मलाई पनि शेयर कारोबार लिगल हो या इललिगल भन्ने शंका लाग्थ्यो,’ अध्यक्ष श्रेष्ठले भनिन्– मैले शेयर बजारमा लगानीको पाँच वर्षको अनुभवमा शेयर कारोबार सरकारबाट मान्यता प्राप्त र सरकारी निकायबाट सञ्चालित रहेको थाहा पाएँ । यो एकदमै नाफादायी रहेछ । त्यही भएर पनि यसमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ ।’

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसंग संघले सुदूरपश्चिमको नौ वटै जिल्लामा शेयर कारोबार सम्बन्धी सचेतनामुलक कार्यक्रम चलाउन पहल गरिरहेका संघले जनाएको छ । ‘जसले गर्दा लगानीकर्ताहरुलाई सही कम्पनी छनौट गर्नका लागि ज्ञान मिलोस्,’ संयोजक थापाले भने, ‘यसको लागि हामीले पहल गरिरहेकै छौं । विगतमा हामीले धनगढी, महेन्द्रनगर र डडेल्धुरामा यो कार्यक्रम पनि गरेको थियौं । कोभिड–१९ को कारणले यो कार्यक्रम रोकिएको छ । फेरि पनि हामीले यो कार्यक्रम चलाउनु पर्छ भनेर लागेका छौं ।’

राजनीतिक घटना क्रममले मानिसको सामान्य जनजीवनमा असर ल्याएको भए पनि सुदूरपश्चिम प्रदेशमा शेयर बजारमा खासै प्रभाव पारेको देखिदैन । ‘नेपालको स्टक मार्केटमै यसको अवसर छैन,’ संयोजक थापाले भने, ‘हरेक क्षेत्रको कारोबारमा थप्प भएको छ । कोरोनाले होटल, पर्यटन, निर्माण, उद्योग क्षेत्रमा असर परेपछि त्यताको पुँजि शेयर बजारमा आएको छ । यसले गर्दा शेयर बजार द्रुत गतिमा अगाडि बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार