१० श्रावण २०८१, बिहीबार

कोरोना विरुद्धको खोप अभियान



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी गाउकी महिला स्वास्थ्य स्वयंसेविका सुमन शर्मा बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालको खोप केन्द्रमा पुगिन् ।

खोप केन्द्रमा उनले आफू पनि कोरोना विरुद्धको खोप लगाउन आएको बताइन् । खोप केन्द्रमा खोप कार्ड वितरण गरिरहेकाले रजिष्टरमा उनको नाम, उमेर, ठेगाना, जिम्मेवारी, कार्यावधि लेखे । उनले खोप कार्ड पाइन् र लगत्तै खोप लगाइन् ।

‘कोरोना खोप लगाउन पाउँदा निकै खुशी लागेको छ’ खो लगाएपछि उनले अनुमोदनसंग संक्षिप्त प्रतिक्रिया दिइन् ।

संघीय सरकारले बुधबारदेखि देशैभरी कोरोना विरुद्धको खोप लगाउने अभियान शुरु गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेविका शर्मा जस्तै बुधबार सेती प्रादेशिक अस्पतालको खोप केन्द्रमा चिकित्सक, ल्याव एसिसटेन्ट, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यालयका अधिकारीहरू लगायत खोप लगाउन पुगेका थिए ।

खोप लगाउन आएकाहरूको भीडमा सेती प्रादेशिक अस्पतालका प्रसुति विभाग प्रमुख यशोदा ढकालले भनिन्– मलाई पनि कार्ड देऊ । म पनि खोप लगाउँछु ।

प्रसुति विभाग प्रमुख ढकालले खोप कार्ड लिएपछि खोप लगाइन् । खोप लगाएपछि उनी निकै प्रशन्न देखिइन् । उनले कोरोना महामारी शुरु हुँदा बिना त्रास अग्रपंक्तिमा रहेर काम गरेको अनुभव सुनाउ“दै अनुमोदनसंग भनिन्– कोरोना महामारीका बेला नडराएका हामीले खोप लगाउन पाउ“दा डराउनुपर्ने कारण छैन ।

सरकारले बुधबारदेखि शुरु गरेको खोप अभियान सुदूरपश्चिम प्रदेशमा पनि आरम्भ गरिएको छे । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा सेती प्रादेशिक अस्पतालमा एक संक्षिप्त समारोहको आयोजना गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । प्रदेशमा कोरोनाको पहिलो खोप सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ५८ वर्षीय डाक्टर गुणराज अवस्थीले लगाए ।

‘मैले कोरोना विरुद्धको पहिलो खोप लगाएर सुदूरपश्चिम प्रदेशमा खोप अभियानको शुभारम्भ गर्ने अवसर पाउँदा खुशी लागेको छ । यो अवसरमा मलाई दिनुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु’ स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले भने– यो खोप सुरक्षित छ । म सञ्चार माध्यमहरूबाट आग्रह गर्न चाहन्छु– सबैले ढुक्क भएर खोप लगाउनुहोस् ।

सेती प्रादेशिक अस्पतालको खोप केन्द्रमा पहिलो खोप लगाउन अग्रसरता देखाएका निर्देशक डाक्टर अवस्थीले भने– प्रदेशको स्वास्थ्य सुधारका लागि पहिलो कदम म चाल्छु ।

उनले नेपाल सरकारले यति छिटो कोरोनाविरुद्धको खोप भित्र्याई खोप अभियान शुरु गरेर राम्रो काम गरेको बताए । उनले भने– कतिपय विकासित देशले अझै कोरोना विरुद्धको खोप अभियान शुरु गर्न सकेका छैनन् । नेपालमा यो अभियान शुरु हुन सक्नु उत्कृष्ट काम भएको छ ।

सवारी चालकदेखि डाक्टरसम्मले लिए खोप

बुधबार सेती प्रादेशिक अस्पतालको खोप केन्द्रबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । सो केन्द्रबाट पहिलो खोप लिने स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले पहिलो खोप लगाएका थिए । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘भ्याक्सिन क्यारियर’ हस्तान्तरण गरेपछि डाक्टर अवस्थीले आफुबाट खोप लगाउन शुरु गरेका थिए ।

उनीपछि स्वास्थ्य कार्यालय कैलालीका प्रमुख ३९ वर्षीय लालबहादुर धामीले खोप लिएका थिए । खोप लिएपछि स्वास्थ्य कार्यालय प्रमुख धामीले भने– सबैलाई खोप कार्यक्रममा सहभागिता गराउनका लागि हामी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूले खोप लिएका हौं । यसले आम मानिसलाई खोप लगाउन ढुक्क हुने सन्देश पनि जाने विश्वास लिएको छु ।

बुधबार ण्कोरोनाको तेस्रो खोप लिने व्यक्ति थिए प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सवारी चालक ५३ वर्षीय कृष्णबहादुर विष्ट । खोप लिएपछि सवारी चालक बिष्टले अनुमोदनसंग भने– शुरुमा हल्का डर लागेको थियो । तर, खोप लगाएपछि राम्रो लागेको छ ।

सेती प्रादेशिक अस्पतालको खोप केन्द्रमा पहिलो दिन एक सय ७० जनाले कोरोना विरुद्धको खोप लगाएको जनाइएको छ । स्वास्थ्य निर्देशक डाक्टर अवस्थीसंगै डाक्टर जगदिश जोशी र डाक्टर सुनिल थापाले पनि खोप लिएका छन् ।

बाजुराबाहेक सबै जिल्लामा खोप अभियान

सुदूरपश्चिम प्रदेशको बाजुरा बाहेक सबै जिल्लामा बुधबारदेखि खोप अभियान शुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बाजुरामा कोरोना खोप ढुवानीमा ढिलाई भएका कारण बुधबारदेखि खोप अभियान शुरु हुन सकेन । मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने– जिल्लामा खोप पुग्न ढिलाई भएका कारण बाजुरामा अभियान शुरु हुन सकेन । आज (बिहीबार) देखि त्यहाँ पनि खोप अभियान सुरु हुने छ ।

सामाजिक विकास मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ भने अन्य आठ जिल्लाका जिल्ला अस्पतालहरूमा खोप केन्द्र तोकिएको छ । जिल्लामा पठाइएको खोप पाँच दिनभित्र लगाइसक्ने लक्ष्य लिइएको मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार कैलालीमा तीन हजार सात सय ३७, कञ्चनपुरमा दुई हजार पा“च सय ४५, बैतडीमा एक हजार नौ सय ९६, अछाममा एक हजार आठ सय ७१ र डोटीमा एक हजार चार सय ६१ जनालाई पहिलो चरणको खोप लगाउने तयारी गरिएको छ ।

त्यसैगरी बझाङमा एक हजार चार सय नौ, दार्चुलामा एक हजार दुई सय ५१, डडेल्धुरामा एक हजार एक सय ३५ र बाजुरामा ८ सय ९० जनालाई खोप लगाईने छ ।

पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई निःशुल्क रूपमा लगाउने प्रदेश सरकारको तयारी छ ।

बुधबार प्रदेशका आठ जिल्लामा एक हजार ८२ जनाले कोरोना विरुद्धको खोप लिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा पहिलो चरणमा १६ हजा दुई सय ९३ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ । पहिलो दिन छ दशमलव छ प्रतिशतले खोप लिएका छन्् ।

छ वटा जिल्लामा स्वास्थ्य प्रमुखबाट अभियान उद्घाटन

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर बाहेक छ वटा जिल्लामा खोप अभियानको स्वास्थ्य प्रमुखहरूले खोप लगाएर शुभारम्भ गरेका छन् ।

कैलालीमा पहिलो खोप लिने व्यक्त सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी थिए भने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी दोस्रो व्यक्ति बने ।

त्यस्तै, कञ्चनपुरमा महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर हरिकुमार श्रेष्ठ खोप लिने पहिलो व्यक्ति थिए भने कञ्चनपुर स्वास्थ्य कार्यालय प्रमुख शिवराज सुनार खोप लिने दोस्रो व्यक्ति बने ।

त्यस्तै, प्रदेशका पहाडी छ वटै जिल्लामा स्वास्थ्य कार्यालयका प्रमुखहरूले पहिलो खोप लिएर शुभारम्भ गरेका थिए ।

डोटीमा स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीलाई पहिलो खोप लगाएर अभियानको सुरु गरिएको थियो । खोपप्रति सर्वसाधारणमा विभिन्न आशंका भएकाले आफूले पहिलो खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । उनले खोप सुरक्षित रहेको र यसले कुनै पनि असर नगर्ने बताउ“दै ढुक्क भएर खोप लगाउन आग्रह गरे ।

मुख्यमन्त्रीले भने– जोखिम हटेको छैन, सावधानी अपनाइराखौं

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना विरुद्धको खोप अभियान शुरु भए पनि जोखिम अझै कम नभएकोले सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् ।

‘खोप पुग्यो भनेर विना सावधानी नअपनाएर हिड्ने काम नगरौं’ प्रदेशस्तरीय खोप अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले भने– कोरोना विरुद्धको खोप आए पनि यो महामारीको जोखिमबाट सुरक्षित हुन अपनाउनुपर्ने सजगतामा अझै ध्यान दिन आग्रह गर्छु ।

उनले विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डहरूलाई पूर्ण पालना गर्न सबैमा आग्रह गरे । मुख्यमन्त्री भट्टले प्राकृतिक रोगहरूबाट बच्न सबै एकिकृत ढंगले लाग्नुपर्ने बताए । उनले भने– महामारीहरू समय–समयमा आइरहन्छन् । यस्ता प्राकृतिक रोगबाट आफु र अरुलाई पनि बचाउन सबै सजग हुनुपर्छ ।’

कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार