११ बैशाख २०८१, मंगलवार

निःशुल्क शिक्षा कार्यान्वयनको प्रयासमा गर्दै गौरीगंगा



धनगढी । नेपालको संविधानको धारा ३१ (२) ले “प्रत्येक नागरिकलाई माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने” व्यवस्था गरेको छ । तर, अझै पनि सरकारी विद्यालयहरुमा आधारभूत तहदेखि नै विभिन्न बहानामा अभिभावकहरुबाट शैक्षिक शुल्क उठाउने गरिएको छ ।
नेपालको संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षाको अधिकारलाई कैलालीको गौरीगंगा नगरपालिकाले कार्यान्वयन गर्ने जमर्को गरेको छ ।

गौरिगंगा नगरपालिकामा १० वटा माध्यमिक विद्यालय (तीन वटा कक्षा १२ सम्म र सात वटा कक्षा १० सम्म), ३२ वटा आधारभूत विद्यालय (१४ वटा कक्षा ८ सम्म र १८ वटा कक्षा ५ सम्म) सहित ४२ वटा सरकारी विद्यालय सञ्चालनमा रहेका छन् ।

गौरीगंगा नगरपालिकाले माध्यमिक विद्यालयसम्म निःशुल्क शिक्षाका लागि आवश्यक बजेटको व्यवस्थाबारे अनुमान गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले नगरपालिकामा पूर्ण रुपमा निःशुल्क शिक्षा लागू गर्न वार्षिक ११ करोड रुपैयाँ आवश्यक पर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत जाशीले यति ठूलो रकम नगरपालिका एक्लैले बेहोर्न निकै कठिन हुने बताए । उनका अनुसार चालू आर्थिक वर्षको बजेटमा शिक्षामा साढे तीन करोड रुपैयाँ विनियोजन गरिएको बताए । उनले भने– विगतका वर्षहरुमा शिक्षाको बजेट एक करोड रुपैयाँ पनि पुग्दैनथ्यो ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ देखि अभिभावकबाट शैक्षिक शुल्क नलिन सबै सामुदायिके विद्यालयहरुलाई पत्राचार गरिसकेको जनाएको छ ।

नगरपालिकाले अभिभावकबाट शैक्षिक शुल्क नलिने विद्यालयलाई अनुदान दिने नीति बनाएको छ । ‘शैक्षिक शुल्क नलिने विद्यालयलाई हामीले विद्यालय सञ्चालनका लागि अनुदान दिन्छौं भनेका छौं’ प्रमुख प्रशासकीय अधिकृत जोशीले भने– हाम्रो अनुरोध मानेर विद्यालयहरुले शुल्क लिन छोडेका छन् । किनकि अहिले सामुदायिक विद्यालयहरु नगरपालिकामा अनुदानका लागि आउने गरेका छन् ।

गौरिगंगा नगर प्रमुख भीमबहादुर देउवाले सामुदायिक विद्यालयहरुमा कार्यरत निजी स्रोतका शिक्षकहरुलाई तलब दिन दुई करोड रुपैयाँको आधार अनुदान दिइने बताए । उनले नगरपालिकाभित्र निःशुल्क शिक्षाको अधिकार कार्यान्वयन गर्नेतर्फ पहल गरिरहेको बताए ।
उनले सबै सामुदायिक विद्यालयहरुमा पूर्ण रुपमा निःशुल्क शिक्षाको प्रबन्ध गर्नका लागि नगरपालिकाको बजेटले मात्रै नभ्याउने भएकाले अन्य स्रोतको खोजी गर्नुका साथै विद्यालय सञ्चालन खर्च कम गर्ने प्रयास गरिएको बताए ।

उनले भने– विद्यालयको प्रशासन खर्च कम गर्न दुई वा त्यो भन्दा बढी सामुदायिक विद्यालयहरुलाई एकापसमा गाभ्ने नीति पनि अललम्वन गर्नेबारे सोच्दैछौं । विद्यालयहरु मर्ज गरेर निजी स्रोतमा शिक्षक कम गर्न सकिन्छ ।

उनले यस वर्ष कोभिड–१९ महामारीका कारण विद्यालय सञ्चालन हुन नसकेकाले काम गर्न नसकिएको बताए ।

गौरिगंगा नगरपालिकाभित्रका सामुदायिक माध्यमिक विद्यालयहरुमा दरबन्दी संख्या निकै कम रहेकाले पनि नगरपालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन गर्न चूनौति रहेको छ ।

दुई वटा माध्यमिक विद्यालयमा चार÷चार जना मात्रै शिक्षकको दरबन्दी रहेको छ । कक्षा ५ सम्म शुल्क नलिए पनि कक्षा ५ देखि माथिका कक्षाका विद्यार्थीसंग शैक्षिक शुल्क नलिए विद्यालय चलाउनै निकै कठिन हुने शिक्षकहरु बताउँछन् । ‘आफ्नो आयस्रोत भएका विद्यालयहरुले कक्षा ८ सम्म पनि निःशुल्क गरेका छन्,’ एक विद्यालयका प्रधानाध्यापकले भने– स्रोत नभएका केही विद्यालयहरुले प्राथमिक तहबाटै शुल्क लिनुपर्ने बाध्यता छ । यदि नगरपालिकाले विद्यालयका लागि आवश्यक अनुदानको व्यवस्था गर्यो भने हामी विद्यार्थी वा अभिभावकसंग शुल्क लिँदैनौ ।
ती प्रधानाध्यापकले अभिभावकहरुबाट ऐच्छिक रुपमा सहयोग शुल्क लिइरहेको बताए । उनले विद्यालयको अभिभावक भेलाबाटै सहयोग लिने निर्णय भएको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोशीले नगरपालिकाले सामुदायिक विद्यालयहरुको सम्पूर्ण आर्थिक भार अहिले नै उठाउन नसक्ने भएकाले विद्यालयहरुले कुनै न कुनै रुपमा शुल्क लिइरहेको बताए ।

गौरिगंगा नगरपालिकाले निःशुल्क शिक्षाको कार्यक्रमका साथै ‘सपोर्ट अन द स्पोर्ट’, महिलासंग उपमेयर, जनता आवास, एक वडा एक पक्की सडक, स्वास्थ्य सेवामा सुधार लगायतका कार्यक्रम अघि बढाएको बताएको छ ।

‘सपोर्ट अन द स्पोर्ट’ कार्यक्रम अन्तरगत विपत्तिमा परेका नगरबासीलाई तत्कालै राहत दिने काम गरिने नगर प्रमुख देउवाले बताए । उनले आगलागीबाट घर जलेमा तत्काल भाडाकुँडा, खानेकुरा, बासको व्यवस्था गर्ने कार्य गरिरहेको बताए । त्यस्तै, कुनै पनि दुर्घटनामा पीडिट वा प्रभावित नगरबासीलाई तत्काल सहयोग गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘जहाँ अबल, त्यहाँ नगर’ नारा राखेर सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तरगत विपन्न परिवारको छाप्रोमा टीनको छाना हाल्ने, घर नभएकालाई घर बनाइदिने काम पनि अघि बढाइएको नगरप्रमुख देउवाले बताए । उनले प्रत्येक वर्ष ४० देखि ५० घर बनाउँदै आएकोमा यस वर्ष ४४ वटा घर बनाउने योजना रहेको बताए ।

त्यस्तै, गौरिगंगा नगरपालिकामा वडास्तरीय र नगरस्तरीय जेष्ठ नागरिक सञ्जाल गठन भएका छन् । विद्यालय, वडा र नगरस्तरमा बाल क्लबहरु पनि सञ्चालनमा छन् । सञ्जाल र क्लब मार्फत् पनि बालबालिका र जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य शिविर, खेलकुद, विभिन्न प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।

त्यस्तै, एक वडा एक पक्की सडक कार्यक्रम अन्तरगत प्रत्येक वडा कार्यालयले प्रत्येक वर्ष एउटा पक्की सडक बनाउनुपर्ने कार्यक्रम तयार गरिएको छ । जसमा यस वर्ष प्रत्येक वडाहरुले ५०÷५० लाख रुपैयाँ छुट्याएका छन् । कम्तिमा ५० लाख रुपैयाँ सडक कालोपत्रे गर्नका लागि बजेट विनियोजन गरेका वडाहरुलाई सामाजिक कार्यक्रमका लागि बजेट छुट्याउनु नपर्ने र नगरपालिका स्वयंले नै सामाजिक कार्यक्रमका लागि खर्च गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, महिलासंग उपमेयर कार्यक्रम अन्तरगत महिलाको विवाह भएदेखि गर्भवति तथा बच्चा जन्मिएपछिसम्म नगरपालिकाले विशेष सेवासुविधा उपलब्ध गराउने गरेको छ ।

नगरप्रमुख देउवाले नगरपालिकाले गर्भवति, नवजात शिशु, बालबालिका तथा जेष्ठ नागरिकको हेरचाहमा विशेष ध्यान दिइरहेको बताए । ‘यो कार्यक्रमले स्वस्थ, शिक्षित र सबल नागरिक निर्माणमा सहयोग पुग्ने आशा गरेका छौं’ नगर प्रमुख देउवाले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार