४ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिम प्रदेशमा क्षयरोगी बढे



धनगढी । सुदूरपश्चिम प्रदेशमा क्षयरोगीको संख्यामा बृद्धि आएको छ । प्रदेशमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा नौ सय बढि क्षयरोगका नयाँ बिरामी फेला परेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दिपायलले पुस महिनासम्म नौ सय २७ जना नयाँ क्षयरोगका विरामी फेला परेको जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली जिल्लामा क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । कैलालीमा पा“च महिनाको अवधिमा तीन सय ५४ जना नयाँ बिरामी फेला परेका छन् ।

त्यस्तै, कञ्चनपुरमा दुई सय ५८, डोटीमा ६३, बझाङमा ६१, बैतडीमा ५२, बाजुरामा ४७, डडेल्धुरामा ४२, अछाममा ३५ र दार्चुलामा १५ जना नयाँ क्षयरोगी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नेपाल सरकारले सन् २०१६ देखि २०२५ सम्म नेपालमा ७५ प्रतिशत क्षयरोगीको संख्या घटाउने लक्ष्य निर्धारण गरेको छ । तर, सुदूरपश्चिम प्रदेशमा क्षयरोगीको संख्या घटेको छैन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले नेपालमा सबैभन्दा बढी क्षयरोगी सुदूरपश्चिम प्रदेशमा नै रहेको बताए ।

स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा दुई हजार चार सय ९५ जना क्षयरोगका बिरामी फेला परेको बताए । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशमा दुई हजार छ सय पा“च जना क्षयरोगका विरामी रहेका थिए ।

संख्यात्मक रुपमा सबैभन्दा बढी क्षयरोगी कैलाली जिल्लामा देखिए पनि प्रति एक लाख जनसंख्यामा कति जनालाई रोग लागेको छ भन्ने आधारमा कञ्चनपुरमा क्षयरोगको संक्रमण अधिक रहेको पाइएको छ ।

स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले सरकारले क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र सुदूरपश्चिम प्रदेशका चार सय २७ वटा स्वास्थ्य केन्द्रबाट क्षयरोगका विरामीलाई निःशुल्क रुपमा औषधी उपलब्ध गराइएको जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशमा एक सय चार वटा खकार जाँच केन्द्र सञ्चालनमा रहेका छन् भने पाँच वटा जिन एक्सपर्ट सेन्टर, चार वटा डिआरटिबि उपचार केन्द्र र दुई वटा उपचार केन्द्र रहेका छन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा कडा खालको क्षयरोगीको उपचारका लागि एउटा अस्पताल सञ्चालनमा रहेको छ ।

उनले लुकेर बसेका क्षयरोगीको खोजी गरी स्वास्थ्य संस्थाको सम्पर्कमा ल्याउने कामलाई निरन्तररूपमा अगाडि बढाउनुपर्ने बताए ।

लुकेर बसेका क्षयरोगी पत्ता लागेका कारणले बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिने र सबभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार