१६ चैत्र २०८०, शुक्रबार

चैते धानखेती विस्तार कार्यक्रमप्रति आकर्षण बढेन



वार्षिक लक्षमा दुई सय हेक्टर जग्गा घटाइयो

धनगढी । सुदूरपश्चिम प्रदेशमा चैते धान खेती विस्तार कार्यक्रमप्रति यस वर्ष पनि आकर्षण बढ्न सकेको छैन । चैते धानखेती कार्यक्रममा किसानको आकर्षण बढ्न नसकेपछि वार्षिक लक्ष्यमा चालू आर्थिक वर्ष २०७७/०७८ मा थप दुई सय हेक्टर घटाइएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा प्रदेशको दुई जिल्लामा पाँच सय हेक्टर जग्गामा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएको थियो । चालू आर्थिक वर्षमा थप दुई सय हेक्टर घटाएर तीन सय हेक्टरमा धान खेती विस्तार गर्ने लक्ष्य लिइएको छ ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रमार्फत चैते धान खेती विस्तार गर्ने कार्यक्रम लिएको जनाएको छ । मन्त्रालयका सूचना अधिकारी गोकुलबहादुर बोहराले भने– हामीले तीन सय हेक्टरमा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएका छौं । अहिलेसम्म आवेदन भने माग गरिएको छैन ।

उनले तराई तथा भित्रि मधेश क्षेत्रमा चैते धान उत्पादनको राम्रो सम्भावना रहे पनि किसानहरू आकर्षित नभएका कारण वार्षिक लक्ष्य कम हुँदै गएको बताए ।

मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशका छ वटा जिल्लामा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएको थियो । मन्त्रालयले सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, अछाम र बैतडीमा गरी एक हजार हेक्टरमा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएको थियो ।

गत आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशका तीन जिल्लामा चैते धान खेती गरिएको थियो । प्रदेशको डडेल्धुरामा चार हेक्टर, कञ्चनपुरमा ६४ हेक्टर र कैलालीमा चार सय २६ गरि चार सय ९४ हेक्टरमा चैते धान खेती गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार गत वर्ष डडेल्धुरामा २०, कैलालीमा एक हजार नौ सय र कञ्चनपुरमा एक हजार तीन सय १५ गरी तीन हजार दुई सय ३५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

२०७३ सालमा संघीय कृषि मन्त्रालयले कैलाली जिल्लामा चैते धान खेती विस्तार कार्यक्रम लागू गरेको थियो, तर त्यस वेला पनि लक्ष्य अनुसारको आवेदन आएका थिएनन् । २०७२ सालमा नौ सय हेक्टरमा चैते धान खेती गर्ने लक्ष्य निर्धारण गरेकोमा एक सय ४७ हेक्टर र २०७३ सालमा तीन सय हेक्टरमा चैते धान खेती गर्ने लक्ष्य निर्धारण गरेकोमा दुई सय ३० हेक्टरमा मात्रै खेती गर्न आवेदन परेको थियो ।

अनुदान स्वरुप फेर्दै कृषि ज्ञान केन्द्र

विगतमा चैते धान खेतीमा कृषकहरूलाई आकर्षण गर्न मन्त्रालयले विऊमा अनुदान दिंदै आएको थियो । २०७२ देखि शुरु भएको चैते धान खेती विस्तार कार्यक्रममा शुरुमा विऊमा सर्शत अनुदानको व्यवस्था गरिएको थियो भने प्रदेश मन्त्रालयले त्यसको स्वरुप परिवर्तन गर्दै ५० प्रतिशत विऊमा अनुदानको व्यवस्था गरेको थियो ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले भने– यस वर्ष हामीले अनुदान भन्दा पनि प्रतिफलमा आधारित कार्यक्रम अघि बढाउने छौं ।’ उनले २० क्ण्टिल भन्दा बढी धान उत्पादन गर्ने कृषकलाई प्रति किलो सात रुपैयाका दरले रकम उपलब्ध गराइने बताए । उनले भने– अनुदान दि“दा प्रतिफल आएन त्यसैले हामीले बढी उत्पादन गर्ने किसानलाई रकम उपलब्ध गराउने योजना बनाएका हौं ।’

उनले मुख्यमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्र्तगत ५० लाख डल्लो बजेट रहेकोले त्यसैबाट चैते धान खेती विस्तार कार्यक्रम अघि बढ्ने बताए । उनले भने– हाम्रो नियमित कार्यक्रममा छैन । तर, मुख्यमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बजेटबाट कार्यक्रम अघि बढाइने छ । हामीलाई अहिले कार्यक्रम र लक्ष्य आएको छैन । छिट्टै आएपछि हामीले आवेदन सुरु गर्छौ ।’

किसानले अपेक्षा गरेअनुसार मूल्य नपाउने भएकाले पनि आकर्षित हुन नसकेको बताए । उनले भने– किसानहरूले हाइव्रिड वीऊ माग्छन्, तर हामीले सूचिकृत भएका वीऊमात्र रोप्न आग्रह गर्छौ । यसले गर्दा पनि किसानहरूमा यो कार्यक्रमप्रति आकर्षण बढ्न सकेको छैन ।’

उनले सबै ठाउ“मा सिचाइको व्यवस्था नहुँदा पनि किसानहरूलाई समस्या भएको बताए । उनले किसानहरू चैते धान खेती गर्नुभन्दा मुंग, मकै, आलु लगायतका बाली रोप्न चाहने बताए ।
यस्तै, कैलालीमा अहिले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र किसान प्रोजेक्टले पनि चैते धान खेती विस्तार कार्यक्रमलाई अघि बढाइरहेको जनाइएको छ । ज्ञान केन्द्रका प्रमुख शर्माले किसान प्रोजेक्टले स्थानीय तहमा पुगि आवेदन संकलन गरिरहेको जानकारी दिए ।

चैते धान बढी पानी जम्ने (खल्ला), नहर क्षेत्र तथा डुवान हुने क्षेत्रमा बढी उत्पादन हुने गरेको कृषि प्राविधिकहरू बताउँछन् ।

कृषि ज्ञान केन्द्रका अनुसार कैलालीको भजनी, टीकापुर र कञ्चनपुरको पुनर्बास नगरपालिका, बेल्डाडी गाउँपालिकामा चैते धान खेतीको राम्रो सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार