२१ बैशाख २०८१, शुक्रबार

गुद्री बाबाको कथा



हसुलिया । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियाका रामबहादुर चौधरी आफुनो वास्तविक नामले भन्दा पनि ‘गुद्रीबाबा’ को नामले चिनिन्छन् ।

उनी गुलरियामा वर्षौदेखि सिरक, गद्दा बनाउँदै आएका छन् । यही कामले उनलाई ‘गुद्री बाबा’ को नाम दिइएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ७ सिंहपुरको एक विपन्न परिवारमा जन्मिएका रामबहादुरको बल्यकाल दुःखकष्टमा वित्यो । ‘म चप्पल पनि नपाएर खाली खुट्टा काम गर्थे । फाटेका लुगा लगाउँथे’ उनले भने– बाल्यकालदेखि नै भारतीय काठ मिस्त्रीहरूसँग दिनको पाँच रुपियाँ ज्यालामा काम गर्थे । काठका मिस्त्रीहरूसँग काम गर्दागर्दै ४२ वर्षको भएपछि त्यो काम गर्न अफ्ठेरो हुनथाल्यो ।

उनले २०६४ मा काठमिस्त्रीको काम छोडेर गुलरिया बजारमा आठ सय रुपैयाँको लगानीमा सिरक बनाउने काम सुरु गरे । ‘एक हजार तीन सय रुपैयाँको उधारो किराना सामान ल्याएर ठेलामा पसल पनि शुरु गरे’ उनी सम्झिन्छन्– सानो रकमले व्यापार संचालन गरे । मिहिनेत गरेको फल मिठो हुन्छ सोचेर काम गर्दै गएँ । ठेलामा बिहान ४ बजेदेखि राति नौ बजेसम्म व्यस्त हुन्थे । कहिलेकाहीँ त साँझ बिहान खाना नखाएर पनि काम गरे ।

निरन्तरको मिहिनेतपछि उनको व्यापार बढेर अहिले किराना पसल सटरमा पुगेको छ । उनले किरानासंगै तरकारी पनि राखेका छन् । ‘आजकाल पसलमा खुद्रा र थोकमा पनि सामान बेच्ने गरेको छु,’ रामबहादुरले भने– गद्दा, सिरक सिलाई र धुलाईको काम पनि निकै नै राम्रो चलिरहेको छ ।

सिरक, गद्दा पसल खोलेको १२ वर्ष पुग्यो । उनलाई गाउँलेले ‘गुद्री बाबाको नाम दिए । नाम भन्दा कामको नामले चर्चित हुन पाएको निकै खुशी लागेको रामबहादुरले सुनाए । ‘मलाई रामबहादुर चौधरीको नाम भन्दा गुद्री बाबाको नामले बढी चिन्छन्’ उनले भने, ।

गुलरिया बजारमा गुद्री बाबाको नामले चिनिएका उनका दुई जना छोरा, दुई बुहारी तथा अन्य दुई जना कामदारले सिरक, गद्दा बनाउने काममा सहयोग गर्छन् । ‘सात जना काम गरेर पनि अर्डर गरेको गद्दा, सिरक पुर्‍याउन हम्मेहम्मे पर्छ,’ उनले भने– अहिले रुई धुल्ने ठुलो मेसिन पनि राखेका छु ।

उनले सिरक, गद्दाको कामबाट वार्षिक ५० लाखसम्मको कारोबार भइरहेको बताए । उनको अहिले बेलौरीमा आठ कोठाको पक्की घर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार