६ चैत्र २०८०, मंगलवार

उद्योग बाणिज्य महासंघको निर्वाचन



नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन आज (शनिबार) शुरु भएकाे छ । महासंघको निर्वाचनमा केन्द्रीय सदस्य पदका लागि सुदूरपश्चिम प्रदेशबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र बाजुराका उद्यमी देबहादुर रोकायाले प्रदेशतर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् भने टीकापुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष परशु चपार्इँले जिल्ला÷नगर तर्फको खुल्ला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
केन्द्रीय सदस्य पदका उम्मेदवार कुँवर सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय व्यापारिक नाका, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, व्यवसायीका लागि कर छुट, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज दर कम गर्ने, राज्यका व्यवसायीमैत्री नीति, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई राहत, भन्सार, बाणिज्य, घरेलु तथा साना उद्योग लगायतका कार्यालयमा हुने झमेलाहरू समाधान गराउन पहल गर्ने लगायतका एजेण्डा सहित निर्वाचनमा उत्रिएका छन् ।
अर्को उम्मेदवार रोकायाले व्यवसायीहरूका समस्याहरू समाधानका लागि साझा एजेण्डा, धनगढीदेखि दुर्गम पहाडी जिल्लाहरुमा यातायातको सहज पहुँच, व्यवसायीको हकहितको संरक्षण, उद्योग सञ्चालनको उचित वातावरण निर्माणका एजेण्डा सहित चुनावी मैदानमा छन् ।
त्यस्तै, खुला तर्फका केन्द्रीय सदस्य पदका उम्मेदवार चपार्इँले व्यवसायीहरूले भोग्दै आएका कर, ब्याज, भन्सार, दर्ता नविकरण लगायतका समस्या, कोरोनाका कारण मारमा परेका व्यवसायीलाई सरकारबाट राहत दिलाउन पहल गर्ने, औद्योगिक क्षेत्र स्थापना र सुदूरपश्चिममा पर्यटन उद्योगको विकास गर्न सरकारसंग पहल गर्ने लगायतका एजेण्डा सहित निर्वाचनमा होमिएका छन् ।
प्रस्तुत छ, तीनै जना उम्मेदवारहरुसंग अनुमोदन दैनिकका लागि सम्वाददाता मुकेश चौधरीले गरेको कुराकानीको सारसंक्षेपः

व्यवसायीहरूका समस्या समाधानमा गम्भीर छु

?

पुष्पराज कुँवर, सदस्यका उम्मेदवार (प्रदेशतर्फ)

उद्योग वाणिज्य महासंघले जिल्ला÷नगर उद्योग बाणिज्य संघका लागि जेजति गर्नु पर्दथ्यो, त्यो गर्न सकेको छैन । कैलाली उद्योग बाणिज्य संघ सुदूरपश्चिमको अग्रणी संस्था हो र नौ वटै जिल्ला योसंग जोडिएको हुनाले यसबाट साना तथा मझौला व्यवसायीहरूले ठूलो आश गरेका हुन्छन् । यसअघि महासंघमा यो प्रदेशबाट धेरै जना केन्द्रिय सदस्य हुनुभएको छ । व्यवसायीका समस्या समाधानका लागि धेरै काम पनि भएका छन् । तर, अझै धेरै काम गर्नुपर्ने छ । व्यवसायीहरूका थुपै्र समस्या छन् । करका नीतिहरूमा परिवर्तन हुने, भन्सार मुल्यांकन परिवर्तन, घरेलु तथा साना उद्योग कार्यालय तथा बाणिज्य कार्यालयका विषय, राज्यले ल्याउने नयाँ नीति आदि सवाल छन् ।
मैले सधैं महासंघसंग समन्वय गरेर यी समस्या समाधानका लागि पहल गर्दै आएको छु । अहिले मैले जिल्ला÷नगर उद्योग बाणिज्य संघका समग्र समस्याहरूको सम्बोधनमा पहल गर्ने योजनाका साथ उम्मेदवारी दिएको छु । व्यवसायी भनेको ठूला व्यवसायी मात्रै होइनन् । साना तथा मझौला व्यवसायीहरू पनि व्यवसायी हुन् । उहाँहरूको समस्याहरू समाधानमा सधैं लाग्नु पर्छ । यो मेरो मुख्य एजेण्डा हो ।
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूको व्याज र सेवासुविधाको सवाल छ । महासंघमा गएर सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाहरूले लिने व्याजदरको विषयमा पनि मैले आवाज उठाउने छु । व्याजको दररेट घटाउने कुरा, सेवा सुविधाको विषयमा आवाज उठाउने कुरा पनि मेरो प्राथमिकतामा छ । सुदूरपश्चिमले भोग्नु परेको सबैभन्दा ठूलो समस्या हामीसंग अन्तराष्ट्रियस्तरको नाका छैन । अन्तर्राष्ट्रियस्तरको नाका बनाउन पहल गर्ने छु । सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र बनाउन दवाव सिर्जना गर्ने कुरामा पनि हामी जोड दिएका छौं । राज्यको नीति नभएकाले सुदूरपश्चिममा ठूलो औद्योगिक प्रतिष्ठानहरू आउन सकेका छैनन् । यसका लागि विजुलीमा छुट गर्ने, करमा छुट गर्ने कुराहरूका लागि हामीले पहल गर्ने छौ ।
करको दर, भन्सारको मुल्यांकन व्यवसायीहरूले अहिले झेलिरहेको मुख्य समस्या हो । माथिबाटै एकरुपता नभएको हुनाले भन्सार बिन्दुमा एकमुष्ट हिसावले आउने, यहाँ नआएर हिसाव नमिलेपछि अनुगमन गर्ने क्रममा अनावश्यक दुःख दिने, वाणिज्य कार्यालयहरूले अनुमगनको नाममा अनावश्यक दण्डजरिवाना गर्ने गरेका छन् । यस्तो विषयमा पनि व्यवसायीहरूलाई राहत हुने कुराहरूमा म लाग्ने छु ।
सुदूरपश्चिममा उद्योगधन्दाहरूको विकासका लागि राज्यले औद्योगिक क्षेत्र घोषणा गर्नुप¥यो । विजुली, पानी लगायत उद्योगलाई चाहिने सम्पूर्ण पुर्वाधारहरूको व्यवस्था राज्यले त्यहाँ गर्नु प¥यो । अनि मात्रै यहाँ लगानीकर्ताहरू आउन तत्पर हुन्छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट लगानी आउने वातावरण नै छैन । यहाँ औद्यागिक क्षेत्र भएको भए कोभिडको बेला उद्योगहरूले आफ्ना मजदुरहरूलाई भित्रै राख्न राख्न सक्थे र राज्यले पनि दिन सक्ने छुटहरू दिन सक्थ्यो । कोभिड–१९ का कारण व्यवसायीहरूले आफ्नो उद्योगधन्दा चलाउन पनि नसकिरहेको अवस्था छ । मजदुरहरूलाई पनि आउन, जानको समस्या भइरहेको छ । औद्योगिक क्षेत्र नभएको हुनाले उद्योग खोल्न जमीन नै नपाउने अवस्था छ । जमीन किन्नुपर्ने भएकाले उद्योगमा लगानी गर्ने रकम सबै जमीनमा खर्च गर्नुपर्ने अवस्था छ । जग्गाको मुल्य निकै बढेको छ । उत्पादनमा भन्दा जमीनमै बढि रकम लगाउनु पर्ने भएपछि लगानीकर्ताहरू डराएको अवस्था छ । यो वातावरण राज्यले बनाइदिएपछि लगानीकर्ताहरू एकैचोटी आउन सक्छन् ।
कोभिड–१९ ले व्यवसायीहरूलाई समस्यामा पारेको छ । होटल, पर्यटन, यातायात व्यवसायीहरू सबै भन्दा धेरै मारमा छन् । हामीले विगतमा पनि महासंघ मार्फत् सरकारसंग र प्रशासनसंग पहल गरेर केही सहज बनाउने काम ग¥यौं । कोभिडको बेला बैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई समेत हामीले रोक्न सकेका छैनौं । व्यवसाय गर्न राज्यले केही छुट दिएको भए दिनहु देश बाहिर जाने युवाहरू यतै व्यवसायमा लाग्न सक्थे । देशको अर्थतन्त्रलाई मजबुट बनाउनका लागि मर्कामा परिरहेका व्यवसायीलाई के कसरी राहत दिलाउन सकिन्छ भनेर हामीले प्रदेश सरकार र नेपाल सरकारसंग पहल गरिरहेका छौं ।
सुदूरपश्चिम प्रदेशको आर्थिक विकासको सवालमा विगतमा पनि हामीले सशक्त ढंगले आवाज उठाइरहेका छौं । आउँदा दिनमा पनि यहाँको उद्योग व्यवसाय, घरेलु तथा साना उद्योग व्यवसायहरूलाई उकास्ने कुरामा राज्यसंग पहल गर्ने र समस्या समाधान गर्न हामी सधैं तत्पर रहने छौं ।

निजी क्षेत्रका साझा एजेण्डामा काम गर्नेछु

देवबहादुर रोकाया, सदस्यका उम्मेदवार (प्रदेशतर्फ)

सबै जना साझा तरिकाले अगाडि जान सक्ने वातावरण कसरी बनाउने भन्नेमा मेरो जोड छ । तराई, पहाड र साना ठूला उद्यमीहरूले सबैले साझा एजेण्डा बोकेर जाने खालको वातावरण बनाउनको लागि मेरो उम्मेदवारी हो । कसैले कम ग¥यो, कसैले बढि ग¥यो भन्ने पनि होइन । मेरो व्यक्तिगत उम्मेदवारी पनि होइन । मैले सबै जिल्ला, नगर उद्योग बाणिज्य संघका साथीहरुसंग सरसल्लाह गरेर साझा एजेण्डा बनाएर उम्मेदवारी दिएको हुँ ।
सुदूरपश्चिम प्रदेशका साना तथा मझौला व्यवसाय र ठूला व्यवसाय, कर, वाणिज्य कुराहरू उठाउने सन्दर्भमा साझा एजेण्डा बनाएका छौं । राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंकले हामी साना तथा मझौला व्यवसायीहरूलाई ब्याज समेत तिर्न नसकिने अवस्थामा कसरी निकास दिन सक्छन् भन्ने विषयमा पनि हामी कुरा उठाएका छौं । अहिलेको अवस्थामा नीजि क्षेत्र आपसमा लडाई गर्ने समय होइन । व्यवसायीहरूले आपसमा मिलेर व्यवसायीका समस्या समाधान गर्न सरकारसंग संवाद गरौं भन्ने हो ।
विगतमा केहीले बद्मासी गरेका होलान् । सबैले कालोबजारी कालोबजारी भन्दै जाँदा साँच्चै कसैले गरेको छ भने छानविन गरेर कारबाही गरौं । होइन भने सबै व्यवसायीलाई एउटै घानमा राख्नु हुँदैन । हामीले यसको विरुद्ध पनि कुरा राख्ने छौं ।
पहिलो कुरा हामी व्यवसायीहरूको खोजी गर्नमै कमी गरेका छौं । व्यवसाय गर्न सक्नेहरूलाई पनि सहज तरिकाले ऋण उपलब्ध हुन सकेको छैन । हाम्रोमा यातायात पनि सरल बन्न सकेको छैन । यातायात नियमित गराउनका लागि पनि हामीले सरकारसंग डाइलग गर्ने छौं । धनगढीदेखि बाजुरा, अछाम, बैतडीसम्मको यातायात सरल भयो भनेदेखि यहाँको व्यवसाय फस्टाउँछ । एक ठाउँको विकास भएर मात्रै पनि व्यवसायको विकास हुँदैन । मैले बाजुराको विकास गर्ने मात्रै कुरा गरेभने धनगढीबाट बाजुरा सहज तरिकाले जान सक्ने वातावरण बन्दैन र बाजुरामा व्यवसायको विकास हुन सक्दैन । हामीसंग प्रसस्त पानी, जंगल, जडिबुटी, खानीहरू छ । त्यसलाई सदुपयोग गर्न सकिएको छैन । यिनीहरूलाई हामीले साझा तरिकाले अगाडि बढाउन हाम्रो पहल रहन्छ ।
कोभिडका कारण व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न सकिरहेका छैनन् । यि विषयमा महासंघले अगाडि नै बोल्नु पथ्र्यौ । बोलेन । कोरोनाकै कारण व्यवसायीहरूले करोडौं करोड रुपैयाँको व्याज तिर्न नसकिरहेको अवस्था छ । यो अवस्थामा व्यवसायलाई माथि उठाउनु पर्छ । सरकारसंग ठूलो महत्वाकांक्षी आशा राखीराख्नु भन्दा यिनै कुराहरूको माग गर्नुपर्छ । निजी क्षेत्रका समस्या समाधान गर्नका लागि महासंघबाट हामीले पहल गर्नुपर्छ । त्यसपछि व्यक्तिगत रुपमा कसले के के गर्ने भन्ने कुरामा अगाडि बढ्नु पर्छ ।

महासंघमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व होस्

परशु चपार्इँ, सदस्यका उम्मेदवार (खुल्ला नगर–जिल्लातर्फ)

उद्योग वाणिज्य महासंघमा सुदूरपश्चिमबाट राम्रो प्रतिनिधित्व अहिलेसम्म भएको छैन । महासंघमा सुदूरपश्चिमको राम्रो प्रतिनिधित्व होस् भन्ने हो । जसले गर्दा सुदूरपश्चिममा हामीले औद्योगिक क्षेत्र लिएर ठूलो लगानी भित्र्याउनलाई सहज होस् । ठूला लगानीकर्तालाई सुदूरपश्चिममा ल्याउन सकौं भन्ने मेरो चाहना हो । सुदूरपश्चिमेली व्यवसायीहरूको समस्यालाई केन्द्रसम्म पु¥याउनका लागि हामी लागीपर्ने छौं ।
करको दर पनि बढि छ । बैंक तथा वित्तीय संस्थाहरूले चर्को व्याजमा ऋण दिने गरेका छन् । पछिल्लो समयमा कोरोनाले गर्दा व्यवसायीहरूलाई व्याज र कर तिर्न नै समस्या भइरहेको छ । भन्सारबाट सामान ल्याउन पनि समस्या छ । ठूला भन्सारहरूबाट एकमुष्ट पास गरेर ल्याएको सामानको हिसाब नमिले पनि साना व्यवसायीहरूले अनुगमनको नाममा अनावश्यक दण्ड जरिवानाको भागी हुनु परेको छ । व्यवसाय दर्ता नविकरणमा पनि ठूलो झमेला छ । व्यवसाय दर्तामा राज्यबाट विभिन्न अप्ठेराहरू सिर्जना हुने गरेका छन् । यो समस्या समाधानका लागि महासंघसंग समन्वय गर्नेछु । समय समयमा परिवर्तन हुने राज्यको नीतिले समेत व्यवसायीहरूलाई समस्यामा पार्ने गरेको छ । अहिले पनि यसलाई कसरी सहज गर्न सकिन्छ भन्ने तिर लागेका छौं ।
पुर्वमा जस्तो पश्चिममा उद्योगहरू छैनन् । यहाँ एकदमै न्युन उद्योगहरू छन् । राज्यको नीति लगानीमैत्री नभएकाले पनि सुदूरपश्चिममा ठूला लगानीकर्ताहरू आउन सकेका छैनन् । औद्योगिक क्षेत्र नभएकाले उद्योगधन्दा सञ्चालन गर्ने वातावरण बन्न सकेको छैन । यि समस्याहरू समाधान गर्नका लागि मैले उद्योग वाणिज्य महासंघमा सुदूरपश्चिमको पनि राम्रो उपस्थिति हुन जरुरी देखेको छु ।
उद्योग व्यवसायलाई हामीले विभिन्न पार्टबाट अगाडि बढाउन सक्छौं । हामीले पर्यटनमा लगानी बढाउन सक्छौं । हामीसंग टीकापुर पार्क, घोडाघोडी, खप्तड, शुक्लाफाँटा जस्ता थुप्रै पर्यटकीय ठाउँहरू छन् । पर्यटनसंगै अन्य उद्योगहरू पनि ल्याउन सकिन्छ । सबै भन्दा ठूलो सम्भावना पर्यटनमै छ । यसको लागि हामीले धेरै विषयमा छलफल चलाएका छौं । यसलाई पनि हामीले पूर्ण रुपले निरन्तरता दिने छौं ।
कोरोनाको समस्या अहिलेको विश्व व्यापी समस्या हो । यसको समाधान निजी क्षेत्रले गर्नु भन्दा पनि राज्यले यसमा अहम भुमिका खेल्नु पर्छ । कोरोनाका कारणले प्रत्यक्ष रुपमा असर परेका व्यवसायीहरूलाई राहतका लागि सरकारसंग पहल गर्ने छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार