२३ बैशाख २०८१, आईतवार

नाका खुलेपछि किनमेल



दार्चुला । नेपाल–भारत जोड्ने दार्चुलाको खलंगा नाका मंगलबार नौ घण्टाका लागि खोलिएपछि नेपालीहरूलाई भारतमा किनमेलको मौका मिलेको छ ।

भारतको बाटो भएर खलंगा आएका तिंकरका ब्याँसीका सौका समुदायहरूका लागि भन्दै मंगलबार बिहान ८ बजेदेखि साझ ५ बजेसम्म सीमा नाका खोलिएपछि नेपालीहरू भारतीय बजारमा गएर किनमेल गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा नाका खोल्न गरेको अनुरोधलाई भारतीय प्रशासनले सहमति जनाएपछि सीमा नाका खोलिएको थियो । यसअघि नै मंसिर ३ गते सीतापुर नाका खोल्न र मंगलबार सदरमुकाम खलंगाको नाका खोल्न नेपाली प्रशासनले भारतीय प्रशासनलाई अनुरोध गरेको थियो ।
सोही अनुसार भारतीय प्रशासनले सहमति जनाएको हो । सीमा नाका खोलिएसंगै भारतमा किनमेल गर्नेहरू नेपालीहरूका लागि मौका जुरेको थियो । ब्याँसी सौका समुदायका लागि भन्दै खोलिएको सीमा नाकाबाट भारतमा किनमेल गर्न जाने नेपालीहरूले मौका पाएका हुन् ।
केही सामग्रीहरू भारतमा नेपालको तुलनामा सस्तो पर्ने भएकाले दार्चुलाका सर्वसाधारणहरू मात्र नभई व्यापारीहरू पनि भारतमा किनमेल गरेका छन्् । भारतमा मुख्यगरी खाद्य सामग्री र तरकारी सस्तो पर्ने गरेको छ । चामल, पिठो, चिनी, साबुन सस्तो पर्ने गरेको छ ।
सीमा नाका खुलेको केही समय पश्चात् नेपाली बजार क्षेत्रमा किनमेल गर्ने भारतीय नागरिकहरूको भीडभाड बढेको थियो । सीमा नाका बन्द रहेको अवस्थामा भन्दा मंगलबार बढी व्यापार भएको नेपाली व्यापारीहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार