१५ चैत्र २०८०, बिहीबार

धनगढी–दिपायल–उरैभन्ज्याङ फाष्टट्रयाककाे ट्रयाक अझै खुलेन



धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ का स्थानीय लक्ष्मण साउँद हार्टखोलीबाट पैदल स्याउले बजार आउँदै थिए । फास्ट ट्रयाकका रुपमा संघीय सरकारले अघि बढाएको सडकमा खोलिएको ट्रयाकमा ठुल–ठुला ढुङ्गा र ठाउँ–ठाउँमा परेका खाल्डाहरू देखाउँदै उनले प्रश्न गरे– यो सडक कहिले कालोपत्रे होला ? कहिले हामीले गाडीमा सहज रुपमा आवतजावत गर्न पाउला ?

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत संघीय सरकारले धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडकलाई फास्ट ट्रयाकका रुपमा अघि बढाएको छ । तर, अहिलेसम्म सडकको ट्रयाक खोल्ने बाहेक अरु काम अघि बढेका छैनन् । कतिपय स्थानमा त ट्रयाकसमेत खोलिएका छैनन् ।
लक्ष्मणले भने– यो वर्ष बन्छ, आउँदो वर्ष बन्छ भनेको सुन्दासुन्दा छ वर्ष वितिसक्यो, तर कहिले बन्ने ? कुनै टुङ्गो छैन ।

हार्टखोलीकै देवबहादुर नेपालीले भने– यहाँबाट बिहानमात्र धनगढीका लागि बस र जीप चल्छन् । दिउसो हामीले फर्किदा पैदल आउनुपर्छ ।

सो सडकखण्ड ग्राभेलिङ मात्रे भएकाले सो रुटमा चल्ने सवारी साधनले पनि चर्को भाडा असुल्ने गरेको स्थानीयको गुनासो छ । देवबहादुरका अनुसारे हार्टखोलीदेखि स्याउलेसम्मको गाडी भाडा ४० देखि ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।

अहिले हार्टखोली पिकनिक र गर्मी छल्ने तथा हिउदमा घाम ताप्न आउनेहरुका लागि आकर्षक पर्यटकीयस्थल बनेको छ । तर, सडकको दुरावस्थाका कारण आन्तरिक पर्यटकको आवागमन अपेक्षा गरिएअनुरुप नभएको स्थानीय होटल व्यवसायीहरुको भनाई छ । हार्टखोलीमा होटल व्यवसाय सञ्चालन गरिरहेका डम्बर बहादुर बोहराले भने– यहाँ सडकको निकै समस्या छ । सडक सुगम भएको भए यहाको आयआर्जनमा ठूलो टेवा पुग्नेथियो ।

२०७५ साल कार्तिक महिनामा सो फास्ट ट्रयाकको निरीक्षण गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भनेका थिए– धनगढीदेखि दिपायलसम्म आउँदो बैशाख–जेठ (२०७६) भित्रै कैलाली र डोटीबाट ट्रयाक जोडेर गाडी चल्ने कच्ची बाटो बनाउन सकिन्छ । तपाईहरू त्यही अनुरुप काम गर्नुस् ।

तर, मुख्यमन्त्री भट्टले ट्रयाक खोल्ने आश्वासन दिएको दुई वर्ष पुगिसकेको छ, तर यो अवधिमा १० किलोमिटर पनि सडकको ट्रयाक खुलेको छैन ।

फाष्टट्रयाक आयोजनाका कार्यालय प्रमुख खगेन्द्र शाहीले भने– आर्थिक वर्ष २०७६÷७७ मा कोरोना भाइरस (कोभिड–१९) का कारण कुनै पनि काम हुन पाएन ।

उनले यस वर्ष फास्ट ट्रयाकको काम तिव्र रुपमा अघि बढाइने बताए । उनका अनुसार अहिलेसम्म कैलाली र डोटी गरी हालसम्म झण्डै १० किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । उनले सो सडकका लागि चालु आर्थिक वर्षमा २५ करोड रकम विनियोजन गरेको जानकारी दिए । उनले भने– यो वर्ष ट्रयाक खोलेर कच्ची बाटो जोडिने छ । त्यही अनुरुप अब निर्माण कम्पनीले पनि यो महिनादेखि कामको थालनी गर्ने छ ।

आयोजना प्रमुख शाहीले धनगढीदेखि दिपायलसम्म ८२ किलोमिटर रहेको सो सडकको डोटीमा दुई किलोमिटर र कैलालीमा आठ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको बताए ।
धनगढी–दिपायल दु्रतमार्गलाई १२ मिटर चौडा बनाउने सरकारको योजना रहेको छ । सोही अनुसार अहिले केही रुखहरू काट्नुपर्ने भएकाले ट्रयाक खोल्ने काम अघि बढ्न नसकेको जनाइएको छ ।

सो योजनामा सात सय ७९ रुखहरू काट्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख शाहीले भने– हामीले ट्रयाक खोल्ने क्रममा काटेका रुखहरूको अहिले जरिवाना तिर्नुपर्ने भनिएको छ । झण्डै ३४ वटा रुखहरूमा क्षति पुगेको भनेर वन कार्यालयबाट पत्र आएको छ ।’ अहिले मन्त्रीपरिषदले रुख काट्न सहमति जनाएपनि वन कार्यालयले आवश्यक प्रक्रिया अघि नबढाएको उनले बताए ।

२०७५ सालमा धनगढीदेखि स्याउलेसम्मको सडक कालोपत्रेको माग राख्दै स्थानीयहरूले विरोध प्रदर्शन गरे । हरेक वर्ष उनीहरूले सडक कालोपत्रेको माग राख्दै प्रदेशका मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री लगायतलाई ज्ञापनपत्र पनि बुझाउ“दै आएका छन । तर, अहिलेसम्म सो सडक कालोपत्रेको सुरसार छैन ।

योजना प्रमुख खगेन्द्रले भने– यस वर्ष हामीले कैलालीको २० र दीपायलदेखि बझाङसम्मको १५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना बनाएका छौं । हामीले स्वीकृतका लागि सडक विभागमा पठाएका र्छौ अहिलेसम्म निर्णय भएको छैन ।’ उनले सडक कालोपत्रेसहित अन्य कार्ययोजना बनाएर झण्डै एक अर्वको कार्यक्रम पेश गरिएको बताए । उनले भने– फागुनभित्र कार्ययोजना स्वीकृत भए कालोपत्रेका काम अघि बढाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार