२३ बैशाख २०८१, आईतवार

साँघु तर्न शुल्क



धनगढी । कैलालीको भजनी नगरपालिकामा साँघु तर्न समेत यात्रुले शुल्क तिर्नुपर्ने बाध्यता छ ।

भजनी नगरपालिका भएर बग्ने कान्द्रा नदीमा नगरपालिकाले साँघु बनाएर सञ्चालन गर्न ठेक्का लगाएको छ । भजनी नगरपालिकाका वडा नम्बर ३, ४, ५ र ८ का बासिन्दाले काम विशेषले भजनी जाँदा र फर्किदा साँघुको शुल्क तिर्नु परिरहेको छ ।

ती वडाका बासिन्दाले एक पटक साँघु प्रयोग गरेको साइकलको १० रुपैयाँ, मोटरसाइकलको २० रुपैयाँ र अटोरिक्साको एक सय रुपैयाँ शुल्क तिर्नु पर्छ । तर, यात्रुले साँघुको शुल्क तिरेवापत भने ठेकदारबाट रसिद पाउँदैनन् ।

भजनी नगरपालिकाले कान्द्रा नदीको पाँच ठाउँमा साँघु राख्न ठेक्का लगाएको छ । सो स्थानमा वर्षायाममा डुंगा सञ्चालन गर्ने ठेक्का दिने गरिएको छ ।

कान्द्रा नदीमा पर्ने कर्मदेवघाट, बिजुलिया–पचमुडिया, लालबोझी, मिलनपुर र पहलवान गरी पाँच ठाउँमा नदी तर्न ठेक्का लगाइएको वडा नम्बर ५ का अध्यक्ष केशवबहादुर बुढाले बताए ।

उनले पुल नभएकाले नगरपालिका कार्यालयले नै वर्षातको समयमा स्थानीय ठेकेदारलाई डुंगाबाट नदी तार्ने ठेक्का दिइएको बताए । नगरपालिकाले हरेक ठाउँबाट तीन लाख ५० हजार रुपैयाँमा साँघु लगाउन ठेक्का लगाएको छ ।

कर्मदेव घाटमा साँघु सञ्चालन गरिरहेका बमबहादुर साउँदले भने– पुल बनाउन काठ किन्नु पर्ने, अटो र मोटरसाइकल तार्दा पुलको काठ टुट्ने भएकाले मर्मत गर्नुपर्ने हुन्छ । त्यसैले पनि साइकल, मोटरसाइकल र अटोरिक्सा तार्दा शुल्क लिने गरेका छौं ।

उनले थपे– हामीले नगरपालिकासँग एक वर्षको साढे तीन लाख रुपैयाँमा साँघुको ठेक्का लिएका छौं । नगरपालिकालाई पैसा तिर्न, काठ किन्न र कामदारलाई ज्याला दिनका लागि यात्रुबाट शुल्क लिनु पर्ने बाध्यता छ ।

भजनी र अन्य गाउँबाट कान्द्रा नदी वारपार गर्न नसकिने भएकाले साँघुबाट भए पनि सुविधा दिने प्रयास गरिएको वडाध्यक्ष बुढाले बताए ।

हुलाकी सडकमा बनिरहेको पुल कहिले बन्ने भन्ने एकीन नहुँदा पनि नगरपालिकालाई कान्द्रामा साँघु सञ्चालन गर्न ठेक्का लगाउन सजिलो भएको छ । अहिले नगरपालिकाले साँघु लगाउने ठेक्काबाट वार्षिक १७ लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ ।

नगरपालिकाले नै नदीमा साँघु सञ्चालन गर्ने ठेक्का लगाए पनि यात्रुबाट असुल्ने शुल्क भने तोकेको छैन । नगरपालिकाले साँघु तर्ने शुल्क नतोकेका कारण साँघु सञ्चालन गर्ने ठेकेदारहरूले आफूखुशी शुल्क लिने गरेका छन् । वडाध्यक्ष बुढाले साँघु सञ्चालन गर्ने ठेकेदारले आफुखुसी रकम असुल गरिरहेको बताए । उनले विद्यार्थी, स्वास्थ्यकर्मी र प्रहरीलाई भने साँघु तर्दा निःशुल्क गरिएको बताए ।

नगरपालिकाका उपप्रमुख छाया देवकोटाले नगरपालिकाले डुंगा चलाएर नदी तार्न ठेक्का दिएको भए पनि ठेकेदार आफैँले काठेसाँघु बनाएकाले रकम असुलेको बताइन् । उनले भनिन– नगरपालिका आफैँले साँघु बनाउन सक्ने भए पनि संरक्षण नहुने भएकाले ठेक्का दिएका हौ ।
भजनी नगरपालिका भएर बग्ने कान्द्रा नदीमा अझैं पक्की पुल बनेको छैन । वर्षामा सो नदीमा बाढी आउँदा गाउँहरू डुबान भएर विस्थापित हुनुपर्ने बाध्यता छ । वर्षामा नदीको कारण आवागमन पुर्ण रुपमा ठप्प हुने गरेको छ । डुंगाबाट नदी तर्नेले शुल्क तिरेर मात्रै आवागमन गर्न पाउँछन् ।

१० वर्षदेखि पुल अलपत्र

पूर्वपश्चिम हुलाकी सडकमा भजनी नगरपालिकाको वडा नम्बर ५ मा कान्द्रा नदीमा निर्माणाधीन पक्की पुल १० वर्षदेखि अलपत्र रहेको छ ।

हुलाकी सडक अन्तर्गत २०६६ सालमा ठेक्का सम्झौता भएको सो पुल ३५ प्रतिशत मात्रै निर्माण भएको छ ।

भजनी नगरपालिकाका वडा नम्बर ३, ४, ५ र ८ लाई भजनी नगरपालिकासंग जोड्ने यो पुलको निर्माण कार्य अझैं पुरा नभएकाले स्थानीयले सहज रुपमा आवतजावत गर्न पाउने आशा नै छोडिसकेका छन् ।

‘योे पुल बन्ला र हामीले सहज रुपमा आवतजावत गर्न पाउँला भन्ने आशा समेत मरिसकेको छ’ स्थानीय मनिराम चौधरीले भने– ‘ठेकेदारले काम नै गर्दैन । नगरपालिकाका जनप्रतिनिधिहरूले समेत बेवास्ता गरेका छन् ।’

हुलाकी सडक आयोजना अन्तर्गत तीन करोड ४५ लाख २० हजार रुपैयाँको लागतमा २०६६ साल जेठ ३१ गते दुई वर्षको निर्माण अवधिसहित लामा सेर्पा जेभीले सो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । तर, ठेकेदार कम्पनीले तोकिएको अवधिमा काम पुरा गरेन, बरु पटकपटक सडक विभागबाट म्याद थप गर्दै आएको छ ।

जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूसंग थुप्रै पटक छिटो पुल निर्माणका लागि पहल गर्न अनुरोध गरे पनि कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ । पुल निर्माणको ठेक्का पाएको लामा सेर्पा जेभीले भने सडक आयोजनाले ठेक्का सम्झौता भइसकेपछि पुलको डिजाइन परिवर्तन गरेकोले समयमा निर्माण कार्य पुरा गर्न नसकिएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार