२२ बैशाख २०८१, शनिबार

प्रदेश गौरवका एक सय किलोमिटर सडक कालोपत्रे हुँदै



धनगढी । सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लामा एक÷एक वटा प्रदेश गौरवका सडक निर्माण कार्य भइरहेको छन् ।

प्रदेश सरकारले स्थानीय तहको केन्द्रहरू र जिल्लाहरू जोड्ने गरी सडक सञ्जाल विस्तार गर्न प्रदेश गौरवका सडकहरू निर्माण गर्न थालेको जनाएको छ । ती सडकहरूले कम्तिमा तीन स्थानीय तहका केन्द्र र दुई जिल्लालाई एकापसमा सडक सञ्जालले जोड्ने बताइएको छ ।

प्रदेश सरकारको २०७५ चैत ११ गतेको निर्णयले प्रदेशको नौ वटै जिल्लामा एक÷एक सडकलाई प्रदेश गौरवको सडकको रुपमा अगाडि बढाउने निर्णय गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०७६÷७७ मा गुरुयोजना निर्माण गरिएको थियो । चालुआर्थिक वर्षबाट त्यसको निर्माण कार्य प्रारम्भ भएको छ । जसका लागि यसवर्ष प्रदेश सरकारले ६१ करोड रुपैयाँ विनियोजन गरेको छ भने विभिन्न जिल्लामा लागि बहुवर्षीय ठेक्का मार्फत् एक सय दशमलव चार किलोमिटर पिच भइरहेको छ ।

नौ वटै प्रदेश गौरवका सडकहरूलाई तीन वर्षको समय राखेर निर्माण शुरु गरिएको छ । ति सडकहरूको अनुगमन गरिरहेको यातायात पुर्वाधार निर्देशनालयले डिपिआर बनाउँदै बजेट छुट्याएर काम गरिरहेको छ । निर्देशनालयको निर्देशक प्रेमदत्त भट्टले सबै सडकको खण्ड–खण्डमा डिपिआर बनाएर काम हुने बताए । उनले तीन वर्षमा प्रदेश गौरवका योजनामा परेका सबै सडकको स्तरबृद्धि गरी सक्ने गरी काम भइरहेको बताए ।

‘तत्काल नयाँ ट्रयाक खोल्ने, स्तरबृद्धि गर्ने कामहरू भइरहेको छ,’ उनले भने, ‘स्तरबृद्धि भइसकेको ठाउँमा पिच पनि भइरहेका छ । तत्काललाई बाह्रै महिना गाडी चल्न सक्ने सडक बनाइरहेका छौं । धेरै जसो ट्रयाक खोलेकै सडक छन्् । खुलेको ट्रयाकलाई अपग्रेड गर्ने कामहरू धेरै ठाउँमा भइरहेका छन्् । सडकको स्ट्रक्चर बनाउने र ग्राभेल गर्ने काम भइरहेको छ ।’

पूर्वाधार विकास कार्यालयहरू मार्फत् कार्यान्वयन भइरहेका सडक योजनाहरूको धमाधम सिलान्यास भइरहेका छन्् । यही असोज २३ गते कैलालीमा पर्ने प्रदेश गौरवको भजनी (छोटी भन्सार) – खिमडी (ठूलीगाड) सडक मुख्यमन्त्री त्रिलोचन भट्टले सिलान्यास गरेका छन्् । भजनी नगरपालिका तथा बर्दगोरिया र मोहन्याल गाउँपालिकालाई जोड्ने सो सडकको बौनिया बजार भन्दा माथिको तीन किलो मिटर पीच गर्ने काम शुरु भएको पुर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्यामबहादुर खड्काले बताए । यसको लागि चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ छुट्याइएको छ ।

पुर्वाधार विकास कार्यालय डडेल्धुराले डडेल्धुरामा दैजी–पोखरा–ढुंगाड–बझाङ सडकमा यस वर्ष लिस्नादेखि जोगबुडासम्मको १७ र पोखरादेखि ढुंगाडसम्मको १० किलोमिटर पीच गर्ने ठेक्का लगाएको छ । ‘दैजिदेखि बझाङसम्म ११५ किलोमिटरको हाराहारीमा छ,’ कार्यालय प्रमुख रामचन्द्र खत्रीले भने, ‘चरणबद्ध रुपमा गुरुयोजना बनाउँदै सडक निर्माण पुरा गर्छौ ।’

सोही कार्यालयले डोटीमा सहजपुर–बोक्तान–दीपायल सडकको २१ किलोमिटर यसवर्ष पिच गर्दै छ । ‘सहजपुरदेखि दिपालयसम्म दुई सय किलोमिटर जति छ,! कार्यालय प्रमख खत्रीले भने, ‘रानागाउँदेखि वाइलसम्मको ११ र दिपालयतिरबाट पनि १० किलोमिटर पीचको लागि ठेक्का सम्झौता भएको छ ।’ यस सडकको सिलान्यास पनि मुख्यमन्त्री भट्टले यसै महिना गरेका छन् ।

यसै महिना कञ्चनपुरको बैलौरी–कलुवापुर–नाइल–बुडर सडक भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले यसै महिना सिलान्यास गरेका छन् । सो सडकमा पर्ने बैलौरीदेखि वनशाहसम्म ३१ किलोमिटर यसअघि सडक डिभिजन कार्यालयले पिच गरिसकेको छ । वनशाहदेखि डिल्लोसम्मको ९.१ किलोमिटरमा पीच गर्न ११ करोडमा ठेक्का भएको पुर्वाधार विकास कार्यालय कञ्चनपुरका ईञ्जिनियर हेमराज भट्टले बताए । ‘बंकदेखि पहरियासम्मको ७ किलोमिटरमा पनि काम शुरु भएको छ,’ उनले भने, ‘यसका लागि ८ करोडमा ठेक्का सम्झौता भएको छ ।’

पुर्वाधार विकास कार्यालय बैतडीले बैंतडीको सत्बाँझ–श्रीभावर–दार्चुला सडक र दार्चुलाको देथला–खार–खलंगा–खण्डेश्वरी सडक निर्माण गरिरहेको छ । करिब एक÷एक सय किलोमिटर लम्बाइरहेको यि सडकहरूका लागि यस वर्ष १०÷१० करोड रुपैयाँ विनियोजन भएको कार्यालय प्रमुख जगतप्रसाद जोशीले बताए । उनले सत्बाँझदेखि श्रीभावरसम्मको ७ किलोमिटर र श्रीभावरदेखि हाटसम्म ९ किलोमिटर सडक खण्ड पीचको लागि ठेक्का भएको बताए । यसैगरी, दार्चुलामा खलंगादेखि लेखनाथसम्मको ९ किलोमिटर १६ करोडमा र देथलादेखि खारसम्मको ६ किलोमिटर खण्डमा ११ करोडमा पीचको लागि ठेक्का भएको प्रमुख जोशीले बताए । उनले बाँकी सडकको पनि गुरुयोजना निर्माण गरी सडकको स्तरबृद्धिका लागि मन्त्रालयमा फाइल पेश गरेको बताए । ‘मन्त्रालयले स्वीकृति दिएमा यो पनि छिट्टै अगाडि बढ्छ,’ उनले भने ।

पुर्वाधार विकास कार्यालय अछामले बाजुरामा खप्तड–मार्तडी र अछाममा चिसापानी–अछाम–बडिमालिका सडक निर्माण गरिरहेको छ । करिब ७० किलोमिटरको खप्तड–मार्तडी सडकमा १५ किलोमिटर अपग्रेडिङको लागि तीन करोडमा ठेक्का भएको कार्यालय प्रमुख जंगबहादुर थापाले बताए । उनले चिसापानी–अछाम–बडिमालिका लम्बाई एकिन नभएपनि ४६ किलोमिटरको डिपिआर तयार भएको बताए । ‘त्यस मध्ये यसवर्ष २.३ किलोमिटर पिचको लागि ४ करोडमा ठेक्का भएको छ,’ उनले भने, ‘जंगल क्षेत्र बढि भएकोले वातावरणीय मुल्यांकलन रिपोर्ट बनाउने काम भइरहेको छ ।’

पुर्वाधार विकास कार्यालय बझाङले दिपालयदेखि साइपालसम्मको सडकलाई प्रदेश गौरवको योजना बनाएको छ । यसवर्ष चार करोड रुपैयाँ लगानी गरी सो सडकको ट्रयाक खोल्ने र स्तरबृद्धि गर्ने काम भइरहेको कार्यलय प्रमख नवराज रावलले बताए । यो सडकले कर्णाली प्रदेशको हुम्ला जिल्लालाई समेत जोड्ने छ । अझैपनि दिपायल, अछाम र बाजुराबाट बझाङ नजोडिएको बेला यो सडकले डोटी र बझाङलाई प्रत्यक्ष सडक सञ्जालमा जोड्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार