२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा धान उत्पादन बढ्यो



धनगढी । अनुकल मौसमा तथा उन्नत बीऊको प्रयोगले यस वर्ष सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा बृद्धि भएको छ ।

सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्ष ३७ हजार सात सय २३ मेट्रिक टन धान बढि उत्पादन भएको छ । । गत वर्ष छ लाख ३२ हजार सात सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष छ लाख ७० हजार पाँच सय तीन मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

कैलालीमा गत वर्षको तुलनामा एक हजार एक सय ८८ हेक्टर कम जमीनमा धान खेती गरिएको थियो । कैलाली जिल्लामै धान खेती गर्ने सो जमीन घटेको हो । गत वर्ष प्रदेशमा एक लाख ८१ हजार हेक्टर जमीनमा धान रोपाइँ गरिएकोमा यस वर्ष एक लाख ८० हजार एक सय ४९ हेक्टर जमीनमा धान रोपिएको थियो । धान रोप्ने खेत घटे पनि ३७ हजार २३ मेट्रिक टन धान बढि उत्पादनछ । प्रदेशमा धान रोप्ने खेतको उत्पादकत्व पनि तीन दशमलव ४९ बाट बढेर तीन दशमलब ७२ पुगेको छ ।

कैलाली जिल्लामा धान खेतीको क्षेत्र घटेको भए पनि छ दशमलव तीन प्रतिशतले धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा कैलालीमा २० हजार २५ मेट्रिक टन धान उत्पादन बढेको हो । गत वर्ष कैलालीमा तीन लाख २० हजार ९५ र यस वर्ष तीन लाख ४० हजार एक सय २० मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।

प्रदेशमा सबैभन्दा बढि कञ्चनपुरमा सात प्रतिशतले धान उत्पादन बढेको निर्देशनालयले जनाएको छ । कञ्चनपुरमा गत वर्ष एक लाख ७४ हजार ३३ र यस वर्ष एक लाख ८६ हजार दुई सय १५ मेट्रिक टन धान उत्पादनछ । गत वर्षको तुलनामा कञ्चनपुरमा १२ हजार एक सय ८२ मेट्रिक टन धान बढि उत्पादन भएको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामध्ये दार्चुलामा सबै भन्दा बढि छ दशमलव चार प्रतिशतले धान उत्पादन बृद्धि भएको छ । दार्चुलामा यस वर्ष ११ हजार दुई सय मेट्रिक टन उत्पादन छ ।
धान उत्पादन डडेल्धुरामा तीन दशमलव तीन प्रतिशतले बृद्धि भई २० हजार चार सय २० मेट्रिक टन पुगेको छ ।

त्यस्तै, डोटीमा तीन दशमलव छ प्रतिशतले बृद्धि भई ३१ हजार ७३ मेट्रिक टन उत्पादन भएको छ भने बैतडीमा पाँच प्रतिशतले बृद्धि भई १८ हजार ४९ मेट्रिक टन पुगेको छ ।

त्यस्तै, बझाङमा एक दशमलव एक प्रतिशतले बृद्धि भई १४ हजार १२ मेट्रिक टन, बाजुरामा तीन प्रतिशतले बृद्धि भई १२ हजार नौं सय १५ मेट्रिक टन र अछाममा चार दशमलव आठ प्रतिशतले बृद्धि भई ३६ हजार चार सय ९८ मेट्रिक टन धान उत्पादन छ ।

यसपाली धान उत्पादन बृद्धि हुनुमा प्रमुख कारण समयमा राम्रो वर्षा हुनु र किसानले उन्नत जातको बीऊको प्रयोग गर्नु रहेको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए । खुकुलो सरकारी बजेट, रासायनिक मलको आपूर्ति सहज हुँदै जानु तथा कोटा निर्धारण हुनु, कृषि उत्पादनमा प्रदेश र स्थानीय सरकारले अनुदानको व्यवस्था गर्नु, प्रविधिको प्रयोग बढ्नु, सिचाइँ सुविधा थपिदै जानु, कृषि प्राविधिकको सेवा बढ्दै जानु, औषधि तथा उपचारको सुविधा बढ्नु र किसानहरूमा जागरुक हुँदै जानुले पनि कृषि उत्पादन बृद्धि भएको निर्देशक जोशीले बताए ।

किसानहरूमा जागरुक हुनुका साथै प्रविधिको उपलब्धताका कारण फलफुल, तरकारी लगायतका नगदे बाली लगाउने गरेकाले हरेक वर्ष धानखेती लगायने जमीनको क्षेत्रफल घट्दै भएको छ । किसानहरूले तरकारी, फलफुल, हल्दी, कोदो, फापर, कागुनो लगायतका नगदेबाली लगाउन थालेकाले अहिले धानखेतीको क्षेत्रफल निरन्तर घटिरहेको निर्देशक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार