२२ बैशाख २०८१, शनिबार

व्यासीलाई भारत हुँदै गाउँ जाने बाध्यता हट्यो (तस्बिर नेपाली सेना)



दार्चुला सदरमुकाम र व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो मुख्यमन्त्री भट्टलाई हस्तान्तरण


दार्चुला / नेपाली सेनाले दार्चुला सदरमुकाम खलंगालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार हस्तान्तरण गरेको छ ।

सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सो बाटो हस्तान्तरण गरेका हुन । नेपाली सेनाले झण्डै चार महिनाको अबिरल प्रयासपछि व्यास गाउँपालिका–१ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो भीर फोरेर सो बाटो निर्माण गरेको हो ।

एक करोड आठ लाख खर्च गरेर महाकाली नदी किनारको सो क्षेत्रमा सेनाले चट्टानी भीर फोरेर दुई मिटर चौडाइ भएको ५५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । बाटो निर्माण गर्न चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिकरुपमा परिचालन गरिएको थियो ।

घाँटीबगर क्षेत्रमा बाटो निर्माण सम्पन्न भएपनि तम्बाकु भिरमा अझैपनि अप्ठ्यारो बाटो भएकोले सहज आवागमनका लागि तम्बाकु भीर फुटाएर बाटो निर्माण गरिदिन स्थानीयले सरकारलाई आग्रह गरेका छन् ।

घाँटीबगर ईलाकाको घोडेटो बाटोको स्थलगत निरीक्षण गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय सरकारले थप बजेट विनियोजन नगरे प्रदेश सरकारबाट बजेट विनियोजन गरेर तम्बाकु भीरमा बाटो निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री भट्टले अत्यन्तै कठिन भिरमा सफलतापुर्वक बाटो निर्माण सम्पन्न गरेकोमा नेपाली सेनालाई धन्यबाद व्यक्त गरे ।

झण्डै ४० वर्षअघि सो क्षेत्रमा पहिलो पटक घोडेटो बाटो निर्माण गरिएको थियो । बर्सेनी हिमपातसँगै पहिरो खस्दा बाटो अवरुद्ध हुँदै आएको थियो । त्यसैमाथि महाकालीको बाढीले बाटोको निसानै मेटाइ दिँदा यहाँका बासिन्दा दुई दशकदेखि खलंगापारीको भारतीय क्षेत्र धारचुला हुँदै भारतकै बाटो प्रयोग गरी पैदल छाङरु र तिङ्कर आवतजावत गर्न बाध्य थिए ।

सो क्षेत्रमा पैदल बाटोसमेत नहुँदा खलंगादेखि झण्डै ७२ किलोमिटरको दूरीमा रहेको छाङरु गाउँका १२० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करीब ७० परिवारलाई कुञ्चा (बसाई) सर्न समस्या हुँदै आएको थियो ।

दार्चुला सदरमुकाम खलंगाबाट ६० किलोमिटर उत्तरमा पर्ने घाँटीबगर क्षेत्रको बाटो निर्माणकै क्रममा नेपाली सेनाका एक जवानले वीरगति प्राप्त गरेका थिए ।

नेपाली सेनाले पहरो फोडेर बाटो बनाएपछि अब शौका समुदायका साथै सुरक्षाकर्मी र कर्मचारीहरुलाई नेपाली भूमि भएर व्यास जान सहज भएको व्यासका स्थानीय एबं प्रदेश सभा सदस्य गेल्बुसिह बोहराले बताए ।

भारतीय सीमा नजिकको छाङरु गाउँ र चीनको तिब्बत सीमा नजिकको तिङ्कर गाउँमा बसोबास रहेका शौका समुदाय हिउँदमा कात्तिकदेखि चैतसम्म दार्चुला सदरमुकाम खलंगा बसाई सर्ने तथा हिउँ पग्लेपछि गर्मी यामको वैशाखदेखि कार्तिकसम्म व्यास क्षेत्र उक्लिदै आएका छन् ।

गाउँसम्म पुग्ने स्वदेशतर्फ बाटो नभएकै कारण व्यासबासीले बर्सेनी विभिन्न समस्या भोग्दै आएका थिए । चालु आर्थिक बर्षमा स्थानीय बासिन्दाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि दार्चुला सदरमुकामदेखि हेलिकोप्टरमा खाद्यान्न ढुवानी गर्नुपरेको थियो ।

शौका समुदायलाई गाउँ फर्किन कठिनाई भएपछि सरकारले सो क्षेत्रमा बाटो बनाउने जिम्मेवारी नेपाली सेनालाई सुम्पेको थियो । जेठ दोस्रो साता तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको सो बाटो निर्माणको काम अप्ठ्यारो भूगोल र वर्षातका कारण केही समय प्रभावित भएको थियो ।

घोडेटो हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल, सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा, २५ नम्बर बाहिनी अड्डा कञ्चनपुरका बाहिनिपति कृष्ण जिसी, प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल लगायतको सहभागिता रहेको थियो आजको गोरखापत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार