२२ बैशाख २०८१, शनिबार

रोजगारीका लागि भारत पस्ने क्रम झन् बढ्यो



फर्किनेभन्दा भारत जानेको संख्या दोब्बर

धनगढी । कोरोना भाइरस (कोभिड–१९) को संत्रासको वेवास्ता गर्दै रोजगारीका लागि भारतका विभिन्न शहरमा जानेहरुको संख्यामा दिनुह बृद्धि भइरहेको छ । भारतमा कोरोना भाइरस संक्रमण व्यापक बन्दै गएपछि गत वर्ष चैत्र महिनादेखि भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा नेपालीहरु घर फर्किएका थिए । भारतमा अहिले कोरोना संक्रमण झन् बढेको छ, तर सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारत पस्ने क्रम पनि दिनहु बढिरहेको छ ।

भारतका विभिन्न स्थानबाट स्वदेश फर्किने क्रम पनि जारी छ, तर फर्किने भन्दा भारततर्फ जानेको संख्या दोब्बर बढि छ ।
अहिले दैनिक करिब एक हजारभन्दा बढि नेपालीहरु भारत जान थालेका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका अनुसार बिहीबार एक हजार १०६ जना नेपाली भारत नेपालबाट रोजगारीका लागि भारत गएका छन् । बिहीबार भारतका विभिन्न स्थानबाट चार सय आठ जना नेपाली नेपाल फर्किएका छन् ।
असोज ७ गते एक हजार ४०४ जना नेपाली धनगढीको त्रिनगर भन्सार नाका र भीमदत्तनगरको गड्डा चौकी नाकाबाट रोजगारीका लागि भारत गएको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले जनाएको छ । सो दिन भारतबाट चार सय १७ जना नेपाली स्वदेश फर्किएका थिए ।
त्यसैगरी, असोज ६ गते एक हजार ७२९ जना नेपाली भारत भएका छन् भने सो दिन तीन सय १२ जना फर्किएका थिए । त्यस्तै, असोज ५ गते एक हजार २१९ जना नेपाली भारत गएका थिए भने चार सय १७ जना फर्किएका थिए ।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका अनुसार असोज ४ र ३ गते क्रमशः एक हजार ११६ र एक हजार ९६ जना नेपाली कैलाली र कञ्चनपुर नाकाहुदै भारत गएका थिए भने क्रमशः तीन सय ८१ र चार सय ८२ जना नेपाली घर फर्किएका थिए ।
विगतका वर्षहरुमा दशैं नजिकिंदा भारतबाट दशैं मनाउन र धानबाली भित्र्याउन भारतबाट घर फर्किनेहरुको भीड लाग्ने गर्दथ्यो, तर यसवर्ष दशैतिहार नजिकिदै गर्दा र बाली भित्राउने बेला पनि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट नेपालीहरु भारतर्फ गइरहेका छन् । असोज महिनाको शुरुवातदेखि नै घर फर्किने संख्या भन्दा भारत जाने नेपालीको संख्या दोब्बर रहेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोजगारी गुमाएर फकिएका नेपालीहरु स्वदेशमै रोजगारीको विकल्प नपाएपछि पुनः भारत जान थालेको बताएका छन् । स्वदेशमा रोजगारी नपाएको र कमाएर ल्याएको रकम पनि उहिले नै सकिएपछि बाध्य भएर पुनः भारत जान परेको अछामको मेल्लेख गाउँपालिका वडा नम्बर १ का दिपक विकले बताए ।
पछिल्लो २० दिनमा दुई हजार ६६४ जना महिला, ११ हजार ७३३ जना पुरुष र दुई हजार ३६३ जना बालबालिका गरी १६ हजार ५१४ जना नेपाली रोजगारीका लागि भारत गएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । सोही अवधिमा दुई हजार ८१३ जना महिला, छ हजार ४४९ जना पुरुष र एक हजार ६१६ जना बालबालिका गरी १० हजार ८७० जना नेपाली स्वदेश फर्किएका छन् । (तालीकामा हेर्नुस्)
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले नेपाली नागरिकता देखाउनेलाई नेपाल भित्रिन र भारतीय आधार कार्ड देखाउने नेपालीलाई भारत जान दिइरहेको बताए । उनले भारतीय आधार कार्ड भएका नेपालीले लामो समय भारत बसेको र उनीहरुको परिवार नै भारतमा रहेको हुनाले जान दिन प्रशासन बाध्य रहेको बताए ।
‘रोजगारी गर्न पाउने र रोजगारीका लागि विभिन्न देशमा जान पाउने नागरिकहरुको नैसर्गिक अधिकार भएकाले प्रशासनले यसमा केही गर्न सक्दैन’ प्रमुख जिल्ला अधिकारी महतोले भने– नेपालीहरुलाई कोरोना कहरको बेला भारत जानबाट रोक्ने प्रमुख दायित्व स्थानीय सरकारहरुको हो । उनीहरुले स्थानीयस्तरमा रोजगारी सृजना गरेर नेपालीहरुलाई संक्रमणको बेला भारत जानबाट जोगाउन सक्छन् ।
स्थानीय र प्रदेश सरकारहरुले चालु आर्थिक वर्षको बजेटमा कोरोना प्रभावितहरुका लागि रोजगार सिर्जना गर्न कार्यक्रम र बजेट व्यवस्था गरेका छन् । तर तीकार्यक्रमहरु कार्यान्वयन हुन नपाउँदै नेपालीहरु रोजगारी खोज्दै भारत छिर्न थालेपछि कार्यक्रम र बजेटको प्रभावकारितामाथि पनि प्रश्नचिन्ह उठेको छ ।
डोटीको गोरायल गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दुर्गादत्त जोशीले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कारोना प्रभावितहरुको लागि कृषि व्यवसायका लागि निकालेको सूचनाको फाराम भर्न र कृषि व्यवसायमा लाग्न नागरिकहरुलाई आग्रह गरिरहेको बताए । उनले तत्काल कृषि बाहेकको पेशामा रोजगारीको सम्भावना कम रहेको बताए ।
नेपाल भारत आवत जावतका लागि सुदूरपश्चिमको नाका प्रयोग गर्नेहरुमा सुदूरपश्चिमका सबै नौ जिल्ला लगायत कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, दैलेख लगायतका जिल्लाका नागरिक पनि छन् । भारत जानेहरु र भारतबाट स्वदेश फर्किनेहरु मध्ये अधिकांशले धनगढीको त्रिनगर नाका प्रयोग गर्ने गरेका छन् ।
यो बेला भारतको सिम्ला, कास्मिर लगायतका ठाउँमा स्याउ टिप्ने, समुद्रीटतमा माछा मार्ने, लगायका काम पाइने भएकाले नेपालीहरु सिम्ला, कास्मिर, महाराष्ट्र, पुना तिर जान थालेको छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार