२२ बैशाख २०८१, शनिबार

१२ वर्षपछि चैनपुर विमानस्थल सञ्चालन हुँदै





वझाङ / झण्डै १२ वर्षदेखि बन्द रहको वझाङको जयपृथ्वी नगरपालिका देवलमा रहेको चैनपुर (देवल) विमानस्थलको निमार्ण कार्य पुरा भएको छ ।

२०६६ सालदेखि पूर्णरुपमा बन्द अवस्थामा रहेको विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरवार लगाउने काम र नाली निमार्णको काम पुरा भएको हो ।

विमानस्थल सञ्चालन गर्न पटक–पटक यहाँका बासिन्दाले नागरिक उड्ययन प्राधिकरणमा दवाव दिदै आएका थिए । सोही दवावपछि २०७५ साउनमा विमानस्थल कालोपत्रेका लागि बोलपत्र आह्वान गरेर निर्माण कार्य अगाडि बढाइएको थियो ।

झण्डै ५ करोड ५० लाखको लागतमा १८ महिनामा सो विमानस्थलको कालोपत्रे र घेरवार लगायतका काम भएका हुन ।

विमानस्थल निर्माणको काम वैशाखमा सकिनु पर्ने भए पनि कोरोनाका कारण ढिला भएको ठेकेदार कम्पनिका प्रतिनिधि प्रदिप डंगोलले बताए ।

उनले दशैसम्म जहाज चलाउन मिल्ने गरेर विमानस्थल हस्तान्तरण गर्ने तयारी रहेको समेत जानकारी दिए । विमानस्थलको करीब ६५० मिटर रनवे कालोपत्रे र वरिपरिको नालीको काम सकिएको छ उनले भने , विमानस्थलको साइड फिलिङको काम भने भइरहेको छ । अव असोजको दोस्रो साता भित्र परीक्षण उडानको तयारी समेत भइरहेको उनको भनाइ छ ।

नागरिक उड्ययन मन्त्रालयले उडानको अनुमति दिए विमान अवतरण गर्न सकिने तथा विमानस्थल सञ्चालन हुने सक्ने बताइएको छ ।

समयमै काम पुरा भएर विमानस्थल सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका र गम्भीर प्रकारका विमारीले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुने स्थानीय देव खड्काले बताए ।

वझाङमा हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिउँ जम्मा हुने र वर्षा भएको वेला विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने भएकाले पनि यात्रुहरुले निकै सास्ती खेप्नु पर्ने वाध्यता छ ।
सडक अवरुद्ध हुँदा गम्भीर अवस्थामा पुगेका विरामीहरूले बाटोमै ज्यान गुमाउने गरेका छन ।

विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने स्थानीय पर्यटन व्यवसायी किशोर खड्काले बताए । उनले साइपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानासरोबर लगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत बृद्धि हुने आशा गरे ।

२०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोउन्नति हुन नसक्दा जहाजले उडान भर्न सकेका थिएनन् । केही समय नेपाल वायुसेवा निगम बाहेकका नीजि विमान कम्पनीहरूले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए ।

द्धन्द्धकालमा तत्कालिन माओवादीले दुई पटक विमानस्थलको टावरमा वम बिस्फोट गराएपछि पनि विमानस्थलमा नीजि क्षेत्रका जहाज फाटफुटरुपमा चल्ने गरेका थिए । तर पछि बझाङबाट नेपालगन्ज जाने यात्रुको चाप घट्न थालेपछि नीजि विमान कम्पनीहरूले उडान रद्द गरेका थिए ।

लामो समय सेवा दिएको नेपाल वायुसेवा निगमले २०६६ सालमा बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार