२३ बैशाख २०८१, आईतवार

जलविद्युत आयोजनालाई निर्माण सामग्री जुटाउन गाह्रो



धनगढी । लकडाउन खुकुलो भएर विकास निर्माण कार्य शुरु भए पनि अधिकांस जलविद्युत आयोजनाहरुले निर्माण सामग्रीको अभाव झेल्नु परिरहेको छ ।

जलविद्युत आयोजनाका लागि निर्माण सामग्रीको अभाव भएको कारण निर्माण कार्यले गति लिन नसकेको निर्माण कम्पनीहरुले बताएका छन् ।
बझाङको कालंगागाड जलविद्युत आयोजनाले आयोजनाको निर्माण कार्य लगभग पुरा भए पनि भारतबाट इलेक्ट्रिक सामान र प्राविधिक ल्याउन नसक्दा उत्पादन अनिश्चित बनेको जनाएको छ ।
आयोजनाका निर्देशक वीरेन्द्र मल्लले सीमा बन्द गरिएको र विदेशी नागरिकलाई प्रवेश निषेध गरिएकोले आयोजनाबाट विद्युत उत्पादन गर्न नसकिएको बताए । उनले सामान जुटाएर प्राविधिक ल्याउन सकिए तुरुन्तै विद्युत उत्पादन गर्न सकिने बताए ।
सो आयोजनाले सुदूरपश्चिम प्रदेशलाई जलविद्युतमा आत्मनिर्भर बनाउने लक्ष्यसहित निर्माण गरिरहेको ६५ मेगावाट क्षमताका तीन वटा जलविद्यु्त आयोजनालाई समेत निर्माण सामग्री अभाव भएको छ ।
आयोजनाका निर्देशक मल्लका अनुसार सिमेन्ट, छड लगायतका निर्माण सामग्री बजारमा अभाव भएकोले निर्माण कार्य प्रभावित भइरहेको छ । ‘निर्माण सामग्री जुटाउन गाह्रो भइरहेको छ,’ उनले भने– सामानको अभावमा निर्माण कार्य प्रभावित भएको छ ।
उनले लकडाउनपछि विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाका कारण जनशक्ति जुटाउन समेत गाह्रो भएको बताए । ‘कहिले निर्माण सामग्री त कहिले जनशक्तिको अभाव झेल्नु परिरहेको छ,’ निर्देशक मल्लले भने– भारतबाट आयात गर्नुपर्ने सामग्रीहरु पनि ल्याउन पाइएको छैन ।
कालंगा गाड जलविद्युत आयोजनाले बझाङको कालंगा रिभर बेसिनमा ३८.४६ मेगावाटको अपर कालांगा, १५.३३ मेगावाटको कालंगा र १०.७० मेगावाटको सानीगाड जलविद्युत आयोजनाबाट ६४.४९ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाहरुको निर्माणका कार्य सामग्रीमा ८५ प्रतिशत सम्पन्न भएको छ । ‘निर्माण सामग्री र जनशक्ति पर्याप्त भएमा लक्षित अवधिमै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्न सकिन्छ,’ निर्देशक मल्लले भने– यस्तै समस्याहरु आइरहने हो भने निर्माण कहिले सम्पन्न हुन्छ भन्ने अनिश्चित छ ।
आयोजनाले २०७७ अन्तसम्म सबै आयोजनाबाट विद्युत उत्पादन शुरु गरिसक्ने लक्ष्य लिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) को कहरका कारण जलविद्युत आयोजनाहरुको काम प्रभावित भएकाले यो वर्ष निर्माण सम्पन्न नहुने देखिएको छ । २०७२ चैत १४ गते निर्माण अनुमति पाएका ती आयोजनाहरुबाट विद्युत उत्पादन पनि अनिश्चित भएको छ ।
सामग्री अभावका कारण निर्माण सम्पन्न भए पनि जलविद्युत आयोजनाहरुबाट विद्युत उत्पादन अनिश्चित भएसंगै सुदूरपश्चिम प्रदेशमा जलविद्युत उत्पादन पनि एक वर्षदेखि स्थिर रहेको छ । पछिल्लो पटक २०७६ कात्तिक १३ गतेबाट अपि हाइड्रो पावर प्रालिले अपर नौगाड जलविद्युत आयोजनाबाट आठ मेगावाट विद्युत उत्पादन शुरु गरेको थियो ।
योसंगै १८ हजार मेगावाट भन्दा बढि जलविद्युत उत्पादन गर्न सक्ने जलस्रोत रहेको सुदूरपश्चिम प्रदेशमा हाल ४९.८३ मेगावाट जलविद्युत उत्पादन भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक जगदिश जोशीले प्रदेशमा जलविद्युत उत्पादन थपिने कुनै जानकारी नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार