१ जेष्ठ २०८१, मंगलवार

हलिया मुक्तिका १२ वर्ष – तीन हजार ४०७ परिवार अझै पुनस्थापन हुन सकेनन्




टीकापुर / हलिया मुक्तिको १२ वर्ष पुग्दा पनि सरकारले प्रमाणीकरण गरेका परिवारले राहत पाउन नसकेका र पुनस्थापना हुन नसकेको सरोकारवालाले बताएका छन् ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघको सरकारले हलिया मुक्त घोषणा गरेको १२ वर्ष पुगेको सन्दर्भमा भदौ २१ गते (आज) सरकारको ध्यानाकर्षण गराउदै सुदूरपश्चिमका नौ वटा जिल्ला र कर्णाली प्रदेशको सुर्खेत र हुम्ला गरी ११ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई नौ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

महासंघका अध्यक्ष ईश्वर सुनारका अनुसार यसअघि सरकारले गरेका सम्झौता स्मरण गराउदै मुक्त हलियाको पुनस्थापना, रोजगारी र सुविधा पाउनुपर्ने नौ बुँदे माग राखिएको छ ।

महासंघका अनुसार पश्चिम नेपालका १२ जिल्लामा नेपाल सरकारबाट लगत लिएर प्रमाणीकरण भएका १६ हजार ९५३ घरधुरी मध्ये १३ हजार ५४६ घरधुरीले मात्र पुनस्थापनको प्याकेज प्राप्त गरेको र प्याकेज पाएका मध्ये एक हजार १५९ घरधुरी दोस्रो किस्ता वापतको रकम पाउनबाट बञ्चित छन् ।

सरकारले प्रमाणीकरण गरेका परिवारलाई जग्गा खरिदका लागि दुई लाख, घर निर्माणका लागि तीन लाख २५ हजार र आफ्नै घर भएर मर्मत गर्नुपरेका परिवारलाई एक लाख २५ हजार रुपियाँ उपलव्ध गराएको थियो । प्रमाणीकरण भएर पनि तीन हजार ४०७ परिवारले राहात प्याकेज पाउन सकेका छैनन् भने एक हजार ४९९ परिवार प्रमाणीकरण हुन बाकी रहेका छन् ।
संघीय सरकारको मन्त्री परिषद्को २०७६ जेठ ६ गतेको निर्णयले मुक्त हलियाको पुनस्थापनाको जिम्मा स्थानीय तहलाई दिएको छ तर समय अभावले अघिल्लो वर्ष पुनस्थापनाको काम हुन सकेको छैन ।

पुनस्थापना समितिका पूर्व संयोजक तथा संविधान सभासद् हरि श्रीपाइली संघीय सरकारले प्रदेश र स्थानीयलाई देखाउने, प्रदेश सरकारले अधिकार पाएको छैन भन्ने र स्थानीय तहले प्राथमिकता नदिएर दलितका सवाललाई प्राथमिता नदिएको बताए ।

‘सबै काम गर्न सक्ने स्थानीय सरकारले मुक्त हलियाको प्रमाणीकरण, पुनस्थापना लगायतका सबै अधिकार दिनुपर्छ अब ढिला गर्न हुदैन,’ श्रीपाइली भन्छन्, ‘मुक्त हलिया पुनस्थापन गर्न नसकेकाले कोभिड–१९ बाट सबैभन्दा बढी मुक्त हलियाहरु प्रभावित भईरहेका र दिनभरि ज्याला मजदुरी गरी साँझ, बिहानको छाँक टार्ने समस्या छ ।’

उनका अनुसार अहिले पनि मुक्त हलियाहरु सार्वजनिक स्थान, सडक किनारा, सामुदायिक वन लगायतका स्थानमा अव्यवस्थितरुपमा बसिरहेका छन् ।

हलिया मुक्ती र पुर्नस्थापनाका लागि चलाइएका अभियानका केही तस्बिरहरु

बाजुराको जुगाडाको एक हलियाबस्ती

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार