१० श्रावण २०८१, बिहीबार

सर्वसाधारणलाई खानाको चिन्ता, वित्तिय संस्था ब्याज असुल्दै



धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का पण्डितराम कठरियालाई सहकारीको ब्याज कसरी तिर्ने भन्ने चिन्ता छ । उनले लिएको ऋणको ब्याज लिन दैनिक जसो सहकारी संस्थाका कर्मचारी गाउँमा पुग्न लागेपछि उनलाइ यो चिन्ता बढेको हो ।

साना किसान बहुउद्देश्यीय सहकारी संस्था पहलमानपुर शाखाबाट उनले कृषिका लागि डेढ लाख रुपैयाँ ऋण निकालेको बताए । दैनिक ज्यालादारीमा काम गर्दै आइरहेका उनी अहिले आम्दानीको स्रोत नि नभएको बताउँछन ।

‘दुई महिना सरकारले लकडाउन गर्यो । अहिले निषेधाज्ञा जारी छ’ उनले भने –‘मजदुरी नि गर्न पाएको छैन । अन्न बेचु त्यो नि अहिले उब्जनी भएको छैन ।’ उनले घरमै खाने कुरा अभाव भइरहेका बेला सहकारीले ब्याज असुल गरिरहेको बताए । उनीबाट अहिले सहकारीले मासिक १० हजार रुपैयाँका दरले ब्याज तिनुपर्ने दबाब दिइरहेको छ । उनले भने –‘गाउँमै सहकारीले ब्याज असुलका लागि भेला गरिरहेको छ । कसरी तिर्ने भन्ने चिन्ता छ ।’

सरकारले लकडाउन जारी गरेपछि घरधनीलाई भाडामा बसेका व्यक्तिहरुलाई राहत दिन घर भाडा मिनाह गर्न आग्रह गरेको थियो । सोही अनुसार घरधनीले पनि मिनाहा गर्ने प्रतिक्रिया दिएका थिए । एक घरधनीले भने –‘घरभाडा त मिनाहा गर्ने भनेका थियौं तर, बैंकले हामीलाई कुनै राहत दिएन । जसका कारण मैले पनि घरभाडा मिनाहा गर्न सक्दैन ।’

धनगढीका एक व्यापारीले भने –‘बैंकले ब्याजमा केही छुट दिए घरभाडा मिनाहा गर्न तयार छौं ।’
कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले व्यापार व्यवसाय पूर्ण रुपमा बन्द भएको अवस्थामा बैंकहरुले ब्याज असुल गरिरहेको बताए ।

बरिष्ठ उपाध्यक्ष ओझाले लकडाउनमा पनि बैंकले जानकारीनै नदिई खाताबाट पैसा तानेको बताए । उनले भने –‘लकडाउनमा पनि बैंकले ब्याज असुल गरेकै थियो । लकडाउन खुकुलो भएसंगै झन बैंकलाई ब्याज असुल गर्न छुट भयो । अहिले निषेधाज्ञा पनि बैंकहरुले ब्याज तिर्न ताकेता गरिरहेका छन ।’ उनले बैंकका कारण घरधनीले पनि घरभाडा मिनाहा नगरेको गुनासो गरे ।

उनले लकडाउन र निषेधाज्ञाका कारण व्यापार व्यवसाय धराशायी भएकोले सरकारलाई सावा र व्याजमा छुट गर्नुका साथै व्यापार सञ्चालन गर्न अनुदान दिनुपर्ने बताए ।

‘यो अवस्थामा व्यवसायीले कसरी बैंकलाई सावा व्याज तिर्न सक्छन’, उनले प्रश्न गरे ।

सहकारी र नीजि बैंकबाट ऋण लग्दै किसान

घोडाघोडी नगरपालिकामा अहिलेसम्म सरकारबाटै सञ्चालन भएको वाणिज्य बैंकको शाखा छैन । त्यहाका किसान तथा व्यापारीहरुलाई पैसा आवश्यक परे नीजि बैंक तथा सहकारीमा पुग्छन ।

स्थानीय पण्डितराम कठरियाले भने –‘यहाँका सहकारीले राष्ट्र बैंकसंग झण्डै आठ प्रतिशतमा ऋण लग्छ तर, हामीबाट सहकारीले १५ प्रतिशत ब्याजमा ऋण दिन्छ ।’ उनले वाणिज्य बैंकको शाखा घोडाघोडीमा भएको भए किसान तथा व्यापारीहरुलाई राहत हुने बताए ।

कैलालीमा वाणिज्य बैंकको अहिले सात वटा स्थानीय तहमा पुगेको छ । कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी, गौरिगंगा, भजनी, लम्की, टीकापुर नगरपालिका र कैलारी गाउँपालिकामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार