११ बैशाख २०८१, मंगलवार

व्रत वस्दा शरिरकाे स्वास्थ्यमा ध्यान पुगाउ



हिन्दू महिलाहरूको महान् चाड तीज मनाउने शैली पनि पहिलेको तुलनामा धेरै परिवर्तन हुँदै आएको छ । तीज आउनु महिना दिनअघिदेखि दर खान पार्टी प्यालेस तथा रेस्टुराँ धाउने जमात बाक्लै पाइन्छ । दरको बहानामा प्रोटिनयुक्त खानेकुरा बढी खाने चलन पनि छ ।

तीज भन्नेबित्तिकै व्रतको कुरा आइहाल्छ । व्रत बस्दा मानव शरीरलाई फाइदा–बेफाइदा दुवै हुन्छ । नेपाली महिलाहरू व्रत बस्दा वैज्ञानिकभन्दा धार्मिक पक्षलाई प्राथमिकता दिन्छन् । परिणामस्वरूप शारीरिक कठिनाइ तथा अल्पकालीन एवं दीर्घकालीन रोग निम्तिरहेको हुन्छ ।

पेटमा निरन्तर हाइड्रोक्लोरिक एसिड बन्ने प्रक्रिया चलिरहेको हुन्छ जसलाई सन्तुलित राख्न समय–समयमा पानी तथा अन्य खाद्यपदार्थ सेवन गर्नुपर्ने हुन्छ । व्रत बस्दा पनि शरीरमा इन्जाइम, हार्मोन, तरल पदार्थ बन्ने प्रक्रिया आदि सक्रिय नै हुन्छन् । लामो समयसम्म भोकै बस्दा टाउको दुख्ने, रिंगटा लाग्ने, कमजोरी महसुस हुनेजस्ता समस्या उत्पन्न हुनसक्छन् । लामो व्रतका कारण दीर्घकालीन रूपमा ग्यास्ट्राइटिस एवं अल्सरको सिकार हुने सम्भावना हुन्छ । सही तरिकाले छोटो समयका लागि व्रत वस्दा भने शरीरबाट विभिन्न टक्सिन बाहिर निस्कन्छ भने क्यालोरी इन्टेक पनि अन्य दिनको तुलनामा कम हुन्छ ।

व्रत वस्ने प्रक्रिया पनि फरक–फरक हुन्छ । कोही पानी पनि नखाने, कोही फलफूल तथा तरकारी र कोही केही मात्रामा अन्न ग्रहण गर्ने विभिन्न खालका व्रतालु हुन्छन् । केही नखानुभन्दा पानी वा थोरै मात्रामा फलफूल खानु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ ।

तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने चलन छ । दर भन्नाले अन्न, फलफूल, तरकारी तथा सम्पूर्ण खाद्यपदार्थ मानिन्छ । समय परिवर्तनसँगै दर खाने चलनमा पनि परिवर्तन आएको छ । विशेषत: सहरका महिलाहरूले एक महिनाअघिदेखि नै दर खान थाल्छन् । यसमा नियमित रूपले मासुजन्य चिल्ला खानेकुरा तथा पेयपदार्थ (वाइन, बियर आदि) का साथै अन्य धेरै परिकार अधिक मात्रामा खाने चलन छ जसले गर्दा स्वास्थ्यमा हानि पुग्नसक्छ ।

हरेकले आफ्नो आकार, उमेर, लिङ्ग, कार्यशैलीअनुसार खानेकुरा खानुपर्छ । अत्यधिक मात्रामा खानामा प्रयोग भएको क्यालोरी शरीरमा भण्डारण हुन्छ । फलस्वरूप असजिलो महसुस हुने, अपच हुने तथा दीर्घकालीन रूपमा रक्तचाप एवं मधुमेहजस्ता रोग लाग्ने सम्भावना बढ्छ तसर्थ व्रत बस्दा पनि भिन्न उमेर समूह, शारीरिक अवस्था आदिमा ध्यान पुर्‍याउनु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार