७ बैशाख २०८१, शुक्रबार

जहाँ प्रधानमन्त्री राजीनामा दिएर मेयर हुन्छन्



प्यारीस/ फ्रान्स जस्ता देश त्यसै विकसित भएका होइनन् । उनीहरु कामलाई ठूलो मान्छन् । त्यही अनुसार काम गर्छन र देश अगाडि बढ्छ ।

प्रसंग हालै फ्रान्सेली प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर मेयर हुन गएको विषयको हो । प्रधानमन्त्री रहेका एडवार्ड फिलिप उत्तरपश्चिम फ्रान्सको हाभ्र शहरको मेयर हुन चुनाव लडे र जिते पनि ।

संयोग पनि गज्जवको छ । गत साता प्रधानमन्त्री भएका जँ क्यास्तेक्स पनि स्पेन नजिकको हिमाली क्षेत्रमा पर्ने प्राद सहरको मेयर हुन ।

राष्ट्रपति एमान्नुएल माख्रोँले उनलाई प्रधानमन्त्री नियुक्त गरेपछि उनले मेयर पद छोडेका छन् ।

प्रस्तुत छ अहिले मेयर भएका पूर्व प्रधानमन्त्री र मेयर छोडेर प्रधानमन्त्री भएका दुई नेताहरुको संक्षिप्त जानकारी ।

एडवार्ड फिलिप
पूर्वप्रधानमन्त्री तथा हालका मेयर एडवार्ड फिलिप ४९ वर्षका भए । उनी रिपब्लिकन पार्टीबाट २४ अक्टोबर २०१० मा उत्तरपश्चिम फ्रान्सको सामुन्द्रिक बन्दरगाह भएको महत्वपूर्ण हार्ब शहरको मेयरमा पहिलो पटक निर्वाचित भएका थिए ।

१५ मे २०१७ मा प्रधानमन्त्री भएका उनी प्रधानमन्त्री रहदै फेरि मेयरको चुनाव लडे । निर्वाचन हुदा फ्रान्समा ५० प्रतिशत बढी मत ल्याउने उमेद्वारहरु पहिलो चरणमै बिजयी हुन्छन ।

५० प्रतिशत भन्दा बढी मत ल्याउन नसक्नेहरु भने दोस्रो चरणको चुनावमा उत्रन्छन । उनी यसपटक दोस्रो चरणको चुनाव लडेर करिव ५९ प्रतिशत भोट ल्याएर मेयर बनेका हुन ।

त्यहाँको कम्युनिष्ट गठबन्दन अहिले प्रधानमन्त्रीलाई हराउदा प्रधानमन्त्री र राष्ट्रपति सहितको सरकार असफल हुन्छ भन्ने हिसावले एकजुट भएर फिलिपका विरुद्ध मेयरमा लडेका थिए तर सफल हुन सकेनन् ।

एडवार्ड फिलिपले प्यारीसको संसार प्रसिद्ध राजनीति शास्त्रको कलेजमा पढेका हुन । उनले विशिष्ट प्रशासकलाई पढाउन सन् १९४४ मा स्थापना भएको निजामति प्रशासन कलेज (एना) मा पनि पढेका छन् । त्यहाँ हरेक वर्ष फ्रान्स र संसारभरका उत्कृष्ट मानिएका निश्चित विद्यार्थीहरुलाई मात्रै भर्ना लिइन्छ ।

उनी मेयर हुँदा प्रतिनिधि सभा सदस्य पनि थिए । २०१७ पछि भने दुईवटा पदमा रहन नपाउने व्यवस्था बनेपछि कतिपय राजनितिज्ञले मेयर मात्रै रहने निर्णय गरे भने भने कतिले मेयर छोडेर सांसद बन्न रुचाए ।

तर फिलिपले आफ्नो सांसद पदमा पुन उम्मेदवारी नदिएर मेयर नै बनि रहे । गत साता फेरि प्रधानमन्त्रीबाट राजीनामा दिएर पुन मेयर नै बन्न राजधानी छोडी उत्तरपश्चिमको आफ्नै शहरतिर उक्ले ।

जँ क्यास्तेक्स
नवनियुक्त प्रधानमन्त्री एवम् पूर्व मेयर जँ क्यास्तेक्स ५५ वर्षका भए । उनी पनि रिपब्लिकन पार्टीकै हुन । विगत १२ वर्षदेखि उनी स्पेन नजिकको हिमाली क्षेत्रको प्राद शहरको मेयर थिए ।

गत मार्च महिनामा भएको स्थानीय निर्वाचनको पहिलो चरणबाटै ७६ प्रतिशत मत ल्याएर पुन निर्वाचित भएका थिए ।

दुई हप्ताअघि भएको फ्रान्सको स्थानीय तहको दोस्रो चरणको चुनावमा थुप्रै ठूला शहरहरुमा राष्ट्रपतिको दल एलएरएमको पराजय भएर वातावरणबादी पार्टीले राम्रो सफलता हात पारेका छन ।

प्यारीस, मार्सेई, लियो, घ्रोनोब्ल, आन्सी, बोर्दो, स्थ्रासबुर्ग सहितका दर्जनौ मुख्य शहरमा पनि वातावरणवादी र उनीहरुका गठबन्दनहरुले जितेका छन् ।

अव २०२२ हुने राष्ट्रपति चुनावमा राम्रो प्रभाव पार्न र स्थानीय तहको चुनावमा देखिएको जनमतको कदर गर्न राष्ट्रपतिले जँ क्यास्तेक्सलाई प्रधानमन्त्री नियुक्त गरेर नया सरकार बनाएको चर्चा छ ।

छाँयामा बसेर काम गर्न कुशल नवनियुक्त प्रधानमन्त्री जँ निकोला सार्कोजी राष्ट्रपति हुँदा राष्ट्रपति कार्यालयमा उपमहासचिव थिए भने पटकपटक मन्त्रीहरुको सल्लाहकार पनि भएका थिए ।

उनि प्रधानमन्त्रीमा नियुक्त हुनुअघि कोरोना संक्रमण व्यवस्थापन गर्न बनेको उच्चस्तरीय आयोगका प्रमुख थिए । फिलिप र जँ दुबैले प्यारीसको प्रसिद्ध राजनीति शास्त्रको कलेज (सिअँसपो) र निजामति प्रशासन कलेज (एना) मा पढेका हुन ।

प्रधानमन्त्री जँका आमाबुबा दुबै शिक्षक थिए भने बाजेहरु मध्ये कोही ट्रेड यूनियन तथा सक्रिय कम्युनिस्ट कार्यकर्ता थिए । उनी आफै प्रत्यक्ष नेतृत्वमा नदेखिने तर कुशल प्रशासक मानिन्छन् र सहयोगीका रुपमा राम्रो काम गर्न सक्ने क्षमता राख्दछन।

किन रोज्छन् मेयर
फ्रान्समा मेयर पदलाई राम्रो मानिन्छ । पहिलेका राष्ट्रपति ज्याक सिराक, निकोला सार्कोजी र थुप्रै मन्त्री तथा प्रधानमन्त्रीहरु पनि मेयरपछि राष्ट्रपति भएका हुन ।

मेयर वास्तवमा माटोसंग र जनतासंग घुलमिल भएको व्यक्ति हुन्छन भन्ने विस्वास फ्रान्समा गरिन्छ। मेयर पद सम्हालेको राजनितिज्ञमा आममान्छेको समस्या बुझ्न सक्ने क्षमता हुन्छ भनिन्छ ।

फ्रान्समा झन्डै ३६ हजार मेयरहरु छ्न जसको कार्यकाल सामान्यतया छ वर्षको हुन्छ

जतिबेला पनि हट्न सक्छन प्रधानमन्त्री
फ्रान्स मिश्रित शासन प्रणाली भएको देश हो । यहाँ राष्ट्रपति कार्यकारी र प्रत्यक्ष निर्वाचित हुन्छन । तर सरकार संसदमा हुने बहुमतको आधारमा बन्छ ।

विधायिकामा राष्ट्रपतिको दलको प्रष्ट बहुमत भएको खण्डमा उनले आफूलाई उपयुक्त लाग्ने जो सुकैलाई पनि प्रधानमन्त्री बनाउन सक्छन ।

आफू भन्दा लोकप्रिय वा साह्रै अलोकप्रिय भएमा वा जुनसुकै वेला पनि प्रधानमन्त्रीलाई हटाउन सक्छन । फ्रँस्वा होलँन्दले आफू राष्ट्रपति हुँदा ५ वर्षमा तीन जना प्रधानमन्त्री नियुक्त गरेका थिए । एडवार्ड फिलिप अघिका बेर्नाड क्याजनोभले चार महिना मात्र प्रधानमन्त्री हुन पाएका थिए ।

निर्वतमान प्रधानमन्त्री एवम् अहिले हाभ्र सहरका मेयर एडवार्ड फिलिपको पनि पछिल्लो समयमा राम्रो लोकप्रियता थियो ।

नेपाल भन्दा फरक कुरा
नेपालमा हरेक नियुक्ति आफ्नै दलको नेता, कार्यकर्ता वा सर्मथकलाई मात्रै दिइन्छ र आफ्नो दलको वा आफू नजिको मान्छेले मात्र राम्रो काम गर्छन भन्ने ठानिन्छ ।

तर फ्रान्समा आवश्कता र दक्षताको आधारमा राष्ट्रपतिले जो सुकैलाई कर्यपालिकाको जुनसुकै जिम्मेवारीमा जतिखेर पनि नियुक्ती दिन सक्छन र पदमुक्त पनि गर्न सक्छन ।

निर्वतमान प्रधानमन्त्री एडवार्ड फिलिप र गत साता प्रधानमन्त्री भएका जँ क्यास्तेक्स अनि त्यसैगरी वर्तमान सरकारका गृहमन्त्री र अर्थमन्त्री पनि राष्ट्रपतिको विरोधी प्रतिपक्षी दल रिपब्लिकन पार्टीका नेता हुन ।

२३१ वर्ष देखि अभ्यास गर्दै आएको फ्रान्सेली गणतन्त्रको प्रजातान्त्रिक परिपक्कताले सायद यस्तो भएको हुनसक्छ ।

(विगत अढाई दशकदेखि प्यारीसमा बसोबास गर्दै आएका खकुरेल नेपाल फ्रान्स मैत्री संघका अध्यक्ष हुन )

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार