२३ बैशाख २०८१, आईतवार

अत्याधुनिक सडक निर्माण ठेक्का प्रक्रिया एक वर्षपछि टुंगिदै



धनगढी । कैलाली र कञ्चनपुर जिल्लाको चार स्थानीय तहमा आधुनिक सडक निर्माण गर्ने क्षेत्रीय सहरी विकास कार्यक्रमले ठेक्का प्रक्रिया टेण्डर आव्हान भएको एक वर्षपछि मात्रै टुंगिने भएको छ ।

संघीय आयोजना कार्यान्वयन ईकाईले धनगढी उपमहानगरपालिका, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको ठेक्का लगाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ भने भीमदत्त नगरपालिकाको सडक निर्माणमा लागि जेठाइसी लामा कन्ट्रक्सनसंग सम्झौता भएको जनाएको छ । गतवर्ष जेठमा टेण्डर आव्हान भएको ति सडकहरू निर्माणका लागि ईकाईले सम्झौता गर्न थालेको हो ।

संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीका सूचना अधिकारी ईञ्जिनियर श्याम बुढाथोकीले ठेक्का स्वीकृत गरी सम्झौताका लागि कन्ट्रन्स कम्पनीहरूलाई बोलाइएको बताए । उनले केही दिनमै बाँकी तीन वटा स्थानीय तहको सम्झौता भएर निर्माण कार्य शुरु हुने बताए ।

इञ्जिनियर बुढाथोकीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सडक निर्माणको ठेक्का कालिका कन्ट्रन्सलाई परेको छ भने शुक्लाफाँटा नगरपालिकामा रमन र केएफ जेभिको टेण्डर स्वीकृत भएको छ । भीमदत्त नगरपालिकामा जेठाइसी लामा कन्ट्रक्सनसंग ८७ करोडमा सम्झौता भएको उनले बताए ।

चार वटै स्थानीय तहहरूमा निर्माण कम्पनीहरूलाई सम्झौता भएको मितिले २४ महिनामा काम सक्ने गरी म्याद दिएर सम्झौता गरिरहेको इञ्जिनियर बुढाथोकीले बताए । उनले कोभिड–१९ लगायतका कारणले काममा अबरोध नभएमा २४ महिनामा अत्याधुनिक सडक निर्माण कार्य सम्पन्न हुने बताए ।

२०७६ असारमै संघीय आयोजना कार्यान्वयन ईकाईले सडक विस्तार कार्यक्रमको प्राविधिक टेण्डरको मुल्यांकन गरी स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएको थियो । सो प्राविधिक मुल्यांकनमा कालो सूचिमा रमण–पप्पु जेभी समेत कतिपय सडकको टेण्डरमा पास भएपछि ठेक्का प्रक्रिया अन्योलमा परेको थियो । एक वर्षपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचिमा परेको रमण–पप्पु जेभी बाहेकलाई ठेक्का दिने निर्णय गरेपछि ईकाईले निर्माण कम्पनीहरूसंग सम्झौता गर्न थालेको हो ।

पाँच वर्षमा क्षेत्रीय सहरी विकास कार्यक्रमको सबै कार्यक्रमहरू कार्यान्वयन गरिसक्ने गरी सम्झौता भएपनि ठेक्का प्रक्रियामा ढिलाई, अनिवार्य गर्नुपर्ने भनि सम्झौता भएको फोहोर मैला व्यवस्थापनको काममा ढिलाई लगायतका कारण कार्यक्रम लागु भएको तीन वर्षसम्म परियोजनाको कुनै पनि काम अगाडि बढ्न सकेको छैन ।

क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तरगत ति चार वटै स्थानीय तहमा सौर्यवत्ति, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक वत्ति, अण्डरग्राण्ड विद्युतीकरण निर्माण सहितको चार लेन र दुई लेनका सडकहरू गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । डिपिआर अनुसार ति सडकहरू निर्माण भएमा धनगढी, गोदावरी, शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा हल्का वर्षामा समेत सडक डुवान हुने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले धनगढी उपमहानगरपालिका, गोदावरी, शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा ११ अर्ब रुपैयाँको लागत हुने गरी क्षेत्रीय सहरी विकास आयोजना लागू गरेको छ । आयोजना अन्तरगत धनगढीमा साढे १०, गोदावरीमा १५, भीमदत्तमा १५ र शुक्लाफाँटामा ४ किलोमिटर अत्याधुनिक सडक निर्माण गरिने छ ।

सडक विस्तारका लागि पहिलो चरणमा धनगढीमा एक अर्ब १० करोड, गोदावरीमा ९० करोड, भीमदत्तमा एक अर्ब ३३ करोड र शुक्लाफाँटामा ८७ करोड गरी चार अर्ब २० करोड खर्च हुने लागत अनुमान गरिएको छ । पहिलो चरणमा यति सडक निर्माण सम्पन्न गरी क्षेत्रीय सहरी विकास कार्यक्रममा परेका बाँकी सडकहरू दोस्रो चरणमा निर्माण गर्ने ईञ्जिनियर बुढाथोकीले बताए ।

क्षेत्रीय सहरी विकास कार्याक्रममा परेका सडकहरूमा स्थानीय र प्रदेश सरकारले मर्मतमा समेत नगर्दा आवागन निकै कठिन भएको छ । धनगढीको सहिदगेट–क्याम्पस रोड सडक, डिभोटी चोक–पिपलचौतारा सडक र मालपोत रोडमा ठूल्ठूला खाल्दाखुल्दी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार