२१ बैशाख २०८१, शुक्रबार

स्थानीय तहहरूद्वारा आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत



स्वास्थ्य, कृषि र रोजगारी तथा पूर्वाधार विकास प्राथमिकतामा

धनगढी । कैलालीका स्थानीय तहहरूले स्वास्थ्य सेवा, पूर्वाधार विकास, कृषि र रोजगारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

कैलालीका एक उपमहानगरपालिका, छ नगरपालिका र छ गाउँपालिकाले बुधबार नगर÷गाउँ सभामा आर्थिक वर्ष २०७७÷७८ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरे । स्थानीय तहहरूले कोभिड–१९ महामारीले सिर्जना गरेका समस्याहरूसंग सामना गर्न तथा महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण निकै कमजोर बनेको अर्थतन्त्र र रोजगारी गुमाएकाहरूको समस्या सम्बोधन गर्ने उद्घोष सहित आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

धनगढी उपमहानगरको बजेट डेढ अर्ब बढि

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आउँदो वर्षका लागि डेढ अर्ब रुपैयाँ बढिको बजेट ल्याएको छ । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बुधबारबाट शुरु भएको उपमहानगरपालिकाको पाँचौं नगर सभामा उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले उपमहानगरको आगामी वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै चालुतर्फ ८५ करोड र पूँजीगततर्फ ७८ करोड ८२ लाख रुपैयाँको बजेट पेश गरिन् ।

उपमहानरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा आयतर्फ आन्तरिक आय १९ करोड ९९ लाख ७३ हजार छ सय ६०, वित्तीय समानिकरण २९ करोड २ लाख, राजस्व वाँडफाँटबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार बिशेष अनुदान एक करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार तीन सय ४० रुपैया रहेको छ ।

नगर सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख भट्टले आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९ बाट सिर्जित संकट ब्यबस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधि तथा संचारमा विकासलाई प्राथमिकतामा राखिएको बताइन् । उनले आगामी वर्षको बजेटमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा बिशेष जोड दिनुका साथै कृषि आधुनिकीकरण तथा ब्यवसायीकरणलाई उच्च प्राथमिकतामा राखेको बताइन् ।

चुरेको बजेट ४३ करोड

कैलालीको चुरे गाउँपालिकाले आउँदो वर्षका लागि ४३ करोड ३३ लाख ६१ हजार पाँच सय ३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चुरेको गाउँ सभामा बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष दिपादेवी साउँदले चालुतर्फ २० करोड ८२ लाख ४२ हजार र पुँजिगततर्फ २२ करोड ५१ लाख १९ हजार पाँच सय ३० रुपैयाँ विनियोजन गरेको बताइन् ।
उनले कोभिड–१९ का कारण बेरोजागर भएका गाउँपालिका बासीलाई आजआर्जनमा सहभागी गराउन कृषिलाई उच्च प्राथिमिकतामा राखेको बताउँदै कृषि र पशु सेवा ८० लाख रुपैयाँ छुट्याएको जनाइन् ।

चुरेले सबै भन्दा बढि पुर्वाधार विकासका लागि ६ करोड रुपैयाँ छुट्याएको छ । क्षेत्रगत विकासका लागि १ करोड ९७ लाख, शिक्षाका लागि ७१ लाख, स्वास्थ्यका लागि ४० लाख, सुशासनका लागि २७ लाख, लक्षितवर्ग कार्यक्रमका लागि ५० लाख, कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि ४ करोड ७५ लाख, कोरोना लक्षित विपद कोषमा ५० लाख, अन्य समपुरक कोषमा १ करोड २५ लाख विनियोजन गरेको उपाध्यक्ष साउँदले बताइन् । वडा कार्यालयहरूलाई ३ करोड १५ लाख र सशर्त कार्यक्रमका लागि २० करोड ६३ लाख रुपैयाँ छुट्याएको उनले बताइन् ।

टीकापुरको बजेट ७१ करोड

टीकापुर नगरपालिकाले आउँदो वर्षका लागि ७१ करोड १४ लाख ५६ हजार ५० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाका सातौं नगरसभामा नगर उपप्रमुख केशरी रावल विष्टले चालुतर्फ ४५ करोड २४ लाख ११ हजार ७ सय ४९ रुपैयाँ र पुँजिगततर्फ २५ करोड ८३ लाख ४४ हजार ३ सय रुपैयाँ बजेट विनियोजन गरेको जनाइन् ।

उनले वडास्तरमा सडक सञ्जाल विस्तारका लागि एक वडा एक गौरवको सडक योजना अन्र्तगत ७ करोड २० लाख बजेट विनियोजन गरेको जनाइन् । उनले संघ, प्रदेश र दातृ निकायहरूबाट प्राप्त आयोजना कार्यानवयनका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्न १० करोड २६ लाख ४९ हजार ४ सय ५० रुपैयाँ बजेट छुट्याएको बताइन् ।

टीकापुर नगरपालिकाको समग्र शिक्षा क्षेत्रको विकासका लागि २२ करोड ३९ लाख ५२ हजार ७ सय १९ रुपैया वजेट विनियोजन गरीएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उद्धारका लागि ५० लाख वजेट विनियोजन गरीएको छ ।

टीकापुरले समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि ४ करोड ७८ लाख ९३ हजार ३६, कृषि विकासका लागि एक करोड १२ लाख ७६ हजार ७ सय ७९, पशुपन्छी विकासका लागि एक करोड ६९ लाख २८ लाख १ सय ४२ रुपैयाँ विनियोजन गरेको छ । उपप्रमुख विष्टले कोरोनासंग लड्न नगरपालिकाले स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको बताइन् । उनले वन, वातावरण तथा विपद व्यवस्थापनका लागि २ करोड १९ लाख ६५ हजार ८ सय ४४ रुपैयाँ विनियोजन गरेको बताइन् ।

कैलारीको बजेट करिब ५१ करोड

कैलालीको कैलारी गाउँपालिकाले आउँदो वर्षका लागि ५० करोड ९५ लाख ६६ हजार ६ सय २९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँ सभामा कैलारीकी उपाध्यक्ष लक्ष्मी सत्गौवाले चालुतर्फ सात करोड ६० लाख रुपैयाँ र बाँकी बजेट सबै बजेट पुँजिगत विकासका लागि विनियोजन गरिएको बताइन् ।

कृषिलाई पहिलो प्राथमिकतामा राख्दै एक वडा एक उत्पादन कृषि पकेट कार्यक्रमलाई निरन्तरता दिंदै तीन करोड ५० लाख रुपैयाँ छुट्याइएको उनले बताइन् । उनले वन, वातावरण तथा विपद व्यवस्थापनका लागि दुई करोड, सामाजिक विकासका लागि तीन करोड, पुर्वाधार विकासका लागि पाँच करोड रकम विनियोजन गरिएको बताइन् ।

कैलारीका अध्यक्ष लाजुराम चौधरीले कृषि यान्त्रिकरण तथा बजारीकरण, दीर्घकालीन उत्पादन बृद्धि, बेमौसमी, बगर खेती, नदी नियन्त्रणका लागि उखु खेती, उन्नत जातिका बीऊ बृद्धि, धान, गहुँको बीऊ वितरण, एक सहकारी एक उद्योग लगायतका कार्यक्रमहरू समावेश गरिएको बताए । उनले बैदेशिक रोजगारबाट फर्केका युवाहरूका लागि सार्वजनिक गुठीको जमीन, सामुदायिक वन र अन्यक्षेत्रमा रोजगारको व्यवस्था गर्ने कार्यक्रम ल्याएको बताए ।

गौरीगंगाको बजेट पौने ७८ करोड

गौरीगंङ्गा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७९ करोड ४० लाख ६३ हजारको बजेट ल्याएको छ ।

आठौं नगर सभामा नगर उपप्रमुख अञ्चला चौधरीले नगरपालिकाको आगामी बर्षको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा चालु खर्च जेष्ठ मसान्तसम्म तर्फ ३५ करोड ९८ लाख १३ हजार हुदा ४९.९८ प्रतिशत खर्च भएको छ । चालू बर्षका लागि ७० करोड ४० लाख प्रस्तावित बजेट रहेकोमा जेष्ठ मसान्तसम्म ५८ करोड २१ लाख ५५ हजार आम्दानी भएको छ ।

आउँदो वर्षको बजेटमा आन्तरीक आय ५ करोड ८८ लाख ९७ हजार, बित्तिय समानिकरण १६ करोड ५४ लाख ७१ हजार, राजस्व वाँडफाँडबाट १३ करोड ४१ लाख ६५ हजार ६ सय, सशर्त अनुदान २१ करोड ६२ लाख, संघीय समपुरक अनुदान ३ करोड ४ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान १ करोड ४० लाख ३० हजार, प्रदेश सरकार बिशेष अनुदान ४९ लाख र सामाजिक सुरक्षा कार्यक्रम १७ करोड रहेको उल्लेख गरिएको छ ।

घोडाघोडीको ८१ करोड बढी बजेट

कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ८१ करोड बढीको बजेट ल्याएको छ । पालिकाले बुधबार गरेको ११ औं नगर सभामा ८१ करोड ४१ लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ । जसमा नगरपालिकाले आन्तरिक राजस्वबाट ४ करोड, संघिय तथा प्रदेश सरकारको राजस्व बाडफाँडबाट १४ करोड ६३ लाख ८३ हजार, संघिय तथा प्रदेश सरकारको वित्तिय समानीकरण अनुदानबाट १९ करोड ३४ लाख ८९ हजार रुपैया प्राप्त हुने बताईएको छ ।

यस्तै बिशेष अनुदानमा १ करोड ५० लाख, समपुरक अनुदान तर्फ १ करोड ३६ लाख, शशर्त अनुदान तर्फ ३१ करोड ९५ लाख र नगरपालिकाको गत वर्षको मौज्दात रकम ८ करोड ६१ लाख ५१ हजार गरी कुल ८१ करोड ४१ लाख २३ हजारको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि सबै भन्दा बढी भौतिक पुर्वाधार बिकासमा खर्च गर्ने भएको हो । कुल बजेटको ५९.९७ प्रतिशत अर्थात २७ करोड ८६ लाख २३ हजार पुर्वाधार बिकासमा, २२.५५ प्रतिशत अर्थात १० करोड ५१ लाख चालु खर्च शिर्षकमा, १२.४ प्रतिशत अर्थात ५ करोड ७६ लाख सामाजिक बिकासमा, ४.५१ प्रतिशत अर्थात १ करोड १० लाख आर्थिक बिकासमा, ०.५८ प्रतिशत अर्थात २७ लाख वन, वातावरण तथा विपद ब्यवस्थापनमा र ०.२१ प्रतिशत अर्थात १० लाख स्वास्थ्य तथा कर्मचारी कल्याण कोषमा खर्च गर्ने भएको छ ।

लम्कीचुहाको बजेट ९५ करोड

लम्कीचुहा नगरपालिकाले ९५ करोड एक लाख ४३ हजार रुपैयाको बजेट प्रस्तुत गरेको छ । आइतबारदेखि शुरु भएको नगर सभाको बुधबारको बैठकले सर्वसम्मतीबाट आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

लम्कीचुहाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, स्वरोजगार र शुद्ध पिउने पानीलाई बढी प्राथमिकता दिएको छ ।

नगर प्रमुख महादेव बजगाईंले नगर सभा सदस्यहरुले उठाएका सवालको जवाफ दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।

नीति र कार्यक्रममा कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्किएका जनतालाई उत्पादनमुखी कार्यमा लगाएर रोजगारी सिर्जना गर्ने कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरको छुट्टै विपद व्यवस्थापन कोष बनाउने उल्लेख छन् ।

कोरोना भाईरस (कोभिड–१९) बाट नगरबासी जनतालाई सुरक्षित बनाउन अन्य स्थानीय पालिकाहरूसंग समन्वय गरी पिसिआर मेसिनको व्यवस्था गर्न आवश्यक पहल गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार