२३ बैशाख २०८१, आईतवार

नेपाल सरकारको बजेटमा सुदूरपश्चिम : थोरै नयाँ, धेरै पुरानै योजनाको निरन्तरता



धनगढी । नेपाल सरकारले बिहीबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा सुदूरपश्चिममा थोरै नयाँ योजना ल्याएको छ । भने अधिकांश पुराना योजनाहरूलाई निरन्तरता दिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा बिहीबार सरकारको बजेट प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशका लागि पाँच वटा नयाँ योजना प्रस्तुत गरे । नयाँ योजना अनुसार सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणका लागि बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको राजधानीमा पुर्वाधार निर्माणका लागि बजेट व्यवस्था गरेको छ । अर्थमन्त्री खतिवडाले सुदूरपश्चिमको राजधानीका लागि बजेट छुट्याएको जनाए पनि बजेटको आँकडा भने बताएनन् ।
त्यसैगरी, निर्माणाधिन खुटिया–दिपालय–चैनपुर द्रुत मार्गको विपिनगरमा सुरुङ निर्माण गर्ने, महाकाली करिडोर विकास गर्ने, महाकाली सिंचाई आयोजना निर्माण गर्ने, कर्णाली नदीमा खक्रौलादेखि खिमडीसम्म जलमार्गको सम्भाव्यता अध्ययन गर्ने, चैनपुर सेती लजविद्युत आयोजना निर्माण गर्ने, बैतडी र बझाङमा फस्फोराइडको खानीको सम्भाव्यता अध्ययन गर्ने नयाँ योजना रहेको अर्थमन्त्री खतिवडाले बताए ।
उनले पुर्वाधार निर्माण कार्य पुरा हुन थालेको गेटा मेडिकल कलेजलाई आउँदो वर्ष नै सञ्चालन गरी सिकलसेल एनिमियाको अनुसन्धान केन्द्रको रुपमा अगाडि बढाउने योजनाका लागि समेत बजेट विनियोजन गरिएको बताए । । गेटा मेडिकल कलेज आर्थिक वर्ष २०७७÷७८ बाट सञ्चालन गर्ने पुरानै योजना हो ।
उनले महाकाली र कर्णाली नदी नियन्त्रण, खुटिया र मोहना नदीमा तटबन्ध, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने, कञ्चनपुरको महेन्द्रनगरमा सुख्खा बन्दरगाह निर्माणलाई निरन्तरता दिने बताए । ऊर्जा क्षेत्रमा डिपिआर तयार भई निर्माणको चरणमा प्रवेश गरेको बुढीगंगा जलविद्युत आयोजनालाई समेत अगाडि बढाउन नेपाल सरकारले बजेट व्यवस्था गरेको छ । पश्चिम सेती, पञ्चेश्वर र कर्णाली–चिसापानी बहुउद्देश्यीय आयोजनाहरूलाई समेत निरन्तर अगाडि बढाइने छ । उनले सुदूरपश्चिमको सबै क्षेत्रमा आगामी दुई वर्षमा आधुनिक ऊर्जा पु¥याउने कार्यक्रमलाई समेत निरन्तरता दिइएको बताए ।
नेपाल सरकारले धनगढी विमानस्थलको स्तरोन्नती र विस्तार गरी रात्रीकालीन उडान भर्न सक्ने व्यवस्था मिलाउने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने योजनालाई पनि निरन्तरता दिँदै बजेट व्यवस्था गरिएको छ । त्यस्तै, खप्तडलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न पुर्वाधार निर्माणका लागि बजेट व्यवस्था गरिएको छ ।
नेपाल सरकारले सुदूरपश्चिम प्रदेश राजधानी, विपिनगर सुरुङ मार्ग, कर्णालीमा जलमार्ग, फस्फोराइडको खानीको सम्भाव्यता अध्ययन र महाकाली सिंचाई आयोजना निर्माण गरी पाँच वटा नयाँ अगाडि सारेको छ भने बाँकी सबै पुराना योजनाहरूलाई निरन्तरता दिएको छ । सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले नेपाल सरकारको बजेट सबै क्षेत्रलाई छुने गरी सन्तुलित बनाउन खोजिएको बताए । उनले केही नयाँ योजनाहरू अगाडि सारिएको भएपनि रातो किताव अध्ययनपछि मात्रै थप प्रतिक्रिया दिन सकिने बताए ।
सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले समग्रमा सुदूरपश्चिमका लागि नेपाल सरकारले नयाँ योजना ल्याउन नसकेको बताउँदै पुरानै योजनालाई नयाँ बनाउने प्रयास गरिएको टिप्पणी गरे । उनले महाकाली करिडोर र विपिनगर सुरुङ मार्गको कुरा नयाँ भए पनि अरु योजनाहरू पुरानै निरन्तरता दिएको बताए । उनले गोदावरी क्षेत्रको वन फडानी गरी सुदूरपश्चिम प्रदेशको राजधानी बनाइराख्नुको औचित्यमाथि पुनः प्रश्न गरे । ‘गोदावरीमा राजधानी बनाउनुको अर्थ के ?’ उनले भने– राजधानी बनाउने योजना अगाडि सार्नु भन्दा लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रका जनताका लागि केही प्याकेज कार्यक्रम र त्यस क्षेत्रको विकासको कार्यक्रम ल्याँदा हामी खुशी हुन्थ्यौं ।
नेता रावलले कोरोनाका कारण पनि नेपाल सरकारको चालु बजेट बढेको हुन सक्ने बताउँदै पुँजिगत खर्च निकै कम ल्याएकोमा बजेट सन्तुलित नभएको बताए । उनले बजेटले सबै क्षेत्र छोएको देखिए पनि कार्यान्वयन गर्न निकै चुनौतिपूर्ण हुने खालको बजेट आएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार