महाकाली अस्पतालमा फार्मेसी स्थापना
कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली उपप्रादेशिक अस्पतालकमा मंगलबार फार्मेसी स्थापना गरिएको छ । स्थापनाको करिब साढे पाँच दशकपछि महाकाली अस्पतालमा फार्मेसी स्थापना भएको छ । महाकाली अस्पताल २०२० सालमा प्राथमिक स्वाथ्य केन्द्रका रुपमा स्थापना भएको थियो ।
मंगलबार जिल्ला समन्वय समिति, कञ्चनपुरका प्रमुख फैरु तामाङले फार्मेसीको उद्घाटन गरे ।
सरकारले हरेक सरकारी अस्पतालमा फार्मेसी राख्ने निर्णय गरेको छ । महाकाली उपप्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पताल परिसरमा फार्मेसी स्थापना भएपछि विपन्न समुदायलाई ठुलो राहत हुने बताए ।
उनले २५ लाख रुपैया मूल्य बराबरको आधारभूत औषधी राखेर फार्मेसी स्थापना गरिएको बताए ।
दुई फार्मेसिष्ट र एक सहयोगी सहित तीन जनशक्ति रहेको फार्मेसी बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने जनाइएको छ ।
फार्मेसी उद्घाटन कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा, प्रहरी उपरीक्षक मुकुन्द मरासीनी, अस्पताल व्यवस्थापन समितिका सदस्यहरु, चिकित्सक एवं स्वाथ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।