७ कार्तिक २०८१, बुधबार

बिरामीको नाममा यात्री बोक्ने एम्बुलेन्स नियन्त्रणमा



धनगढी । लकडाउनका बेला बिरामीका नाममा यात्री ओसारेको भन्दै प्रहरीले एउटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुडरले कैलालीबाट यात्रु बोकेर दिपायल जाँदै गरेको सायल गाउँपालिकाको से १ झ ३३४ नम्बरको एम्बुलेन्सलाई चालकसहित नियन्त्रणमा लिएको जनाएको छ ।

एम्बुलेन्समा चालकसहित पाँच जना सवारी र केही लगेज रहेको पाइएको इलाका प्रहरी कार्यालयका इन्चार्ज कर्णबहादुर रौलेले बताए । उनले भने– सवारी साधन चेकजाँचका क्रममा एम्बुलेन्समा यात्रु बोकेको पाइएपछि हामीले नियन्त्रणमा लिएका छौँ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका समयमा एम्बुलेन्स, सरकारी गाडी तथा खाद्यान्न लगायतका सवारी साधनमा यात्रु बोक्ने गरेको गुनासो आएपछि प्रहरीले जाँचमा कडाइ गर्न थालेको छ ।

प्रहरीले नियन्त्रणमा लिएका एम्बुलेन्स, चालक तथा यात्रुलाई इलाका प्रहरी कार्यालय बुडरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार