५ जेष्ठ २०८१, शनिबार

कारोनाले जलविद्युत निर्माणको काम ठप्प



धनगढी । सुदूरपश्चिमलाई जलविद्युतमा आत्मनिर्भर बनाउने गरी निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको निर्माणको काम ठप्प भएको छ ।

नोवेल कोरोनाभाइरस (कोभिड–१९) को कहरका कारण निर्माण सामाग्री नपाएपछि जलविद्युतको हेडवर्क कन्ट्रक्सन रोकिएको आयोजनाले जनाएको छ । कालंगा गाड जलविद्युत आयोजनाका निर्देशक विरेन्द्र मल्लले सिमेन्ट, छड लगायतका निर्माण सामाग्री नपाएकाले मुख्य निर्माणका कार्यहरु रोकिएको बताए ।

उनले स्टक सामानहरु प्रयोग गरेर बाढी, पहिरो रोक्ने लगायतका इमर्जेन्सी संरचनाहरु मात्रै निर्माण गरिरहेको बताए । उनले स्टक निर्माण सामाग्री पनि एक सातामा सकिने बताए । कोरोनाका कारण एक्कासी लकडाउन भएपछि टाढा घर भएर फर्किन नसकेका चार सय जनशक्तिलाई क्याम्पमै राखेर काम गराइरहेको बताए । उनले क्याम्प र निर्माणस्थलमा बाह्य मानिसको प्रवेश रोकेर पूर्ण सुरक्षा अपनाएर मजदुर खटाएको पनि बताए ।

कालंगा गाड जलविद्युत आयोजनाले बझाङको कालंगा रिभर बेसिनमा३८.४६ मेगावाटको अपर कालांगा, १५.३३ मेगावाटको कालंगा र १०.७० मेगावाटको सानीगाड जलविद्युत आयोजनाबाट ६४.४९ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कोरोनाको कहर नभए २०७७को अन्तसम्मति सबै आयोजनाबाट विद्युत उत्पादन शुरु गरिसक्ने गरी काम अगाडि बढाइएको थियो ।

यि आयोजनाहरुबाट व्यवसायिक रुपमा विद्युत उत्पादन भएसंगै सुदूरपश्चिम प्रदेश जलविद्युतमा आत्मनिर्भर भई अन्य प्रदेशलाई समेत जलविद्युत निर्यात गर्ने जनाइएको थियो । कोरोनाका कारण विश्वभर लकडाउन गरिएपछि यि आयोजनाबाट विद्युत उत्पादन हुने मिति अनिश्चित भएको छ ।

निर्देशक मल्लले लकडाउन खुलेपछि निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरु खुलेर निर्माण सामाग्री आयोजनालाई उपलब्ध गराएपछि मात्रै आयोजना निर्माण कार्य पुनःप्रारम्भ हुने हुने बताए । उनले निर्माण कार्य पुनः शुरु भएर गति लिएपछि मात्रै विद्युत उत्पादनको मिति निर्धारण गर्न सकिने बताए ।

उनका अनुसार हाल आयोजनाहरुको समग्रमा ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । निर्देशक मल्लले टनेलहरु निर्माणको काम ३/४ किलोमिटर मात्रै बाँकी रहेको बताए । हेडवर्क र पावर हाउस निर्माणको काम सकिनै लाग्दा लकडाउन भएपछि विद्युत उत्पादन अनिश्चित भएको उनले बताए । ‘ट्रान्समिसन लाईन निर्माणको कामपनि अवरुद्ध भएको छ,’ निर्देशक मल्लले भने, ‘ट्रान्समिसनको कामपनि सकिने अवस्थामा थियो । अब यि कामहरु लकडाउन खुलेपछि मात्रै सुचारु गर्न सकिन्छ ।’

यसैगरी, चालु आर्थिक आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी राष्ट्रिय गौरवको रानीजमरा सिंचाई आयोजनाले निर्माण गरिरहेको ४.७१ मेगावाट जलविद्युत आयोजनाको काम पनि लकडाउनका कारण रोकिएको छ । निर्माण भइरहेका बझाङको १ मेगावाट जिउली गाड, दार्चुलाको १० मेगावाटको मकारीगाड, १ मेगावाटको नौगाड, ८ मेगावाटको अपर नौगाड र डोटीको डेढ मेगावाटको गड्डीगाड आयोजना पनि कोरोनाका कारण अन्यौलमा परेका छन् ।

बुढीगंगाको टेण्डर अनिश्चित

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको अछामको २० मेगावाटको बुढीगंगा जलविद्युत आयोजना निर्माणको टेण्डर कोरोना कारण अनिश्चित भएको छ ।

बुढीगंगा जलविद्युत आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विरबहादुर बोहराले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गराएर आउँदो २/३महिनाभित्रै निर्माणका लागि टेण्डर आव्हान गर्ने योजना रहेपनि कोरोनाकाकारण स्थगित भएको बताए । उनले लकडाउनका कारण आयोजना कार्यालय बन्द भएकाले पुर्वतयारीको कामहरु रोकिएको बताए । उनले लकडाउन खुलेपछि मात्रै डिपिआर स्वीकृत गराउने र टेण्डरका आव्हानका लागि गृहकार्य गरिने बताए ।

बुढीगंगा जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने पुलनिर्माणको काम समेत अवरुद्ध भएको छ । पहुँचमार्गको सबै काम सम्पन्न भएपनि पुल निर्माण गर्न मात्रै बाँकी थियो । ‘दुई पिलरको ७२ मिटर लामो पुल निर्माण भइरहेको थियो, ’इन्जिनियर बोहराले भने, ‘लकडाउन भएपछि पुलनिर्माण पनि रोकिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार