२२ बैशाख २०८१, शनिबार

लकडाउन उल्लंघन गर्नेलाई ६ महिना कैद हुन सक्ने



अहिले विश्वभर कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिरहेको छ। नेपालमा हालसम्म यो रोगबाट संक्रमित जम्मा दुई जना भेटिएका छन्। तीमध्ये एक निको भएर घर फर्किसकेका छन् भने एक युवती हाल उपचाररत छिन्। उनको अवस्था सामान्य छ। 

तर, नेपाल जोखिममुक्त छैन। त्यसैले एक हप्ताको लकडाउन गरिएको छ। यसलाई सामान्य ठानेर उल्लंघन गर्ने प्रवृत्ति बढेको छ। आदेश उल्लंघन गर्नु भनेको सरुवा रोगसम्बन्धी कानुन उल्लंघन गर्नु हो।

मुलुकी अपराध संहिता  २०७४ को दफा १०६ मा सरुवा रोगको सम्बन्धमा जारी गरेको नियम, निर्देशन वा आदेश उल्लंघन गर्न नहुने भनिएको छ। ‘कसैले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले वा कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले सरुवा रोगको सम्बन्धमा जारी गरेको नियम, निर्देशन वा आदेश उल्लंघन गर्न हुँदैन,’  अपराध संहितामा भनिएको छ।

 सरकारले यतिबेला सरुवा रोग फैलिन नदिन घरबाहिर ननिस्किन आदेश गरेको छ। यदि उक्त आदेश पालना नगरेर घर बाहिर निस्किए छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। 

यदि यो नियम, निर्देशन वा आदेश उल्लङ्घन गरेको कारणबाट कसैको ज्यान जान सक्ने अवस्था रहेछ भने त्यसलाई दश वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुन सक्छ।

यो रोग आफूलाई लाग्दा अरुलाई समेत फैलाउन उद्धत भएको दक्षिण कोरियाको भिडियो भाइरल भएको थियो। यदि नेपालमा पनि कसैलाई भयो र त्यही हर्कत गर्‍यो भने झन् कडा सजायँको भागिदारर बन्नुपर्नेछ। उक्त हर्कत संक्रामक रोग फैलिन सक्ने काम अन्तर्गत पर्छ। त्यस्तो ब्यक्तिलाई संक्रामक रोग फैलाउने काम गरेको कसुरमा कारबाही हुन सक्छ। मुलुकी अपराध संहिता २०७४ को १०४ मा यस्तो काम गर्न निषेध गरिएको छ।

संक्रामक रोग फैलाउन नहुने भनेर उक्त दफाको उपदफा १ मा भनिएको छ, ‘कसैले कसैको ज्यानलाई खतरा पुर्‍याउन सक्ने कुनै किसिमको संक्रामक रोग फैलाउने वा फैलिन सक्ने कुनै काम गर्न हुँदैन।’

नियतपूर्वक वा जानीजानी यसो गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।लापरवाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचक्य्राईँपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी प्रावधान छ।

ऐनमा भनिएको छ, ‘यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई नियतपूर्वक वा जानीजानी गरेको भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना, लापरवाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचक्य्राईँपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार