१६ बैशाख २०८१, आईतवार

कोरोना भाइरस संक्रमण सन्त्रासमा सुदूरपश्चिमका उद्योग र होटल बन्द



  • सटडाउन अवधिभरको ब्याज मिनाह गर्न व्यवसायीहरूको माग
  • अत्यावश्यक सेवा बाहेकका सबै व्यवसाय बन्द गर्नेबारे छलफल गर्दै महासंघ
  • कैलाली र कञ्चनपुरमा बजार बन्द आव्हान
  • कञ्चनपुरमा स्वास्थ्य उपचार बाहेकको काममा घर बाहिर निस्किन नपाउने
  • होटललाई क्वारेन्टाइन बनाउन संघद्वारा प्रदेश सरकारलाई पत्राचार

धनगढी । नोवेल कोरोना (कोभिड–१९) को संक्रमण सन्त्रासको प्रभाव सुदूरपश्चिमको उद्योग व्यवसायमा पनि पर्न थालेको छ । कोरोना भाइरस संक्रमणको त्राससंगै सुदूरपश्चिम प्रदेशका धनगढी लगायतका शहर तथा जिल्लामा रहेका ठूला लगानीका होटल, उद्योग व्यवसायहरू निकै प्रभावित भइरहेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समितिका अनुसार प्रदेशमा रहेका होटल र उद्योगहरू “सट डाउन” हुने अवस्थामा पुगेका छन् । महासंघका प्रदेश अध्यक्ष शंकर बोगटीले बजारमा सामान जान छोडेको बताए । उनले प्रायः सबै उद्योगहरूको उत्पादन बन्द भइसकेको बताए । सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न भनेको हुनाले प्रायः उद्योगहरूले मजदुरहरूलाई विदा दिएर घर पठाइसकेका छन् । अध्यक्ष बोगटीले ५० प्रतिशत उद्योगहरू बन्द भइसकेको बताए ।
खाद्यान्न उत्पादन गर्ने केही उद्योगहरूले बजारको माग अनुसार उत्पादन जारी राखे पनि अरु खालका उद्योगहरूले अहिले उत्पादन बन्द गरिसकेका छन् । अध्यक्ष बोगटीले निर्माण र पर्यटन उद्योगहरू पूर्ण रुपमा बन्द भइसकेको बताए । उत्पादन र विक्री हुन छाडेपछि उद्योगहरूले ठूलो नोक्सानी बेहोर्नु परेको उनले बताए ।
यसैबीच, महासंघको सुदूरपश्चिम प्रदेश समितिले प्रत्येक जिल्लामा अत्यावश्यक सेवा दिने पसल बाहेकका सबै बजार बन्द गर्ने बारे छलफल भइरहेको जनाएको छ । “यस विषयमा आजभोलि नै निर्णय गर्छौ’ महासंघका प्रदेश अध्यक्ष बोगटीले भने– व्यापार नहुने, भिडभाड भइरहने अवस्थामा सतर्कता अपनाउन बजार पनि बन्द गर्ने निर्णय गरिरहेका छौं । कैलाली र कञ्चनपुरका उद्योग बाणिज्य संघले आज (आइतबार) नै बजार बन्द गर्ने निर्णय गरिसकेका छन् ।
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जिल्लामा रहेका उद्योगहरू धमाधम बन्द भइरहेको बताए । उनले अहिलेसम्म ५० प्रतिशत उद्योगहरू बन्द भइसकेको बताए । उद्योगहरूले मजदुरलाई काममा राख्नु जोखिम हुने भएकाले मजदुरहरूलाई विदा दिएर घरमै बस्न आग्रह गरिएको बताए । उनले उद्योगहरू बन्द भएपछि व्यवसायीहरूलाई ठूलो घाटा भइरहेको बताउदै सरकारसंग व्याज मिनाहाका लागि अनुरोध गरिरहेको बताए । उनले अत्यावश्यक खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि समेत सरकारसंग आफूरुले छलफल थालेको बताए ।
धनगढीमा तारे फ्लोरा होटलका मालिक समेत रहेका अध्यक्ष कुँवरले अहिले होटलहरू बन्द नै नभए पनि अवस्था यस्तै रह्यो भने केही दिनभित्रै पूर्ण रुपमा बन्द हुने बताए । उनले होटलमा कार्यरत अधिकांश कर्मचारीलाई विदा दिएर होटलको गेट मात्रै खोलेर व्यवसायीहरू बसिरहेको बताए ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलमबहादुर बमले कैलालीमा प्रायः हरेक होटलमा ग्राहकको संख्या निकै कम भइसकेको बताए । उनले आफूहरू होटलको गेट खोलेर दिनभरी कुरेर बस्नुपर्ने अवस्था आएको बताए । ग्राहक नभएपछि होटलहरूले कर्मचारीलाई विदामा पठाउन थालेको बताए । उनले सोमबारदेखि सुदूरपश्चिमका धेरै जस्तो ठूला होटलहरू बन्द हुने बताए ।

?

होटललाई क्वारेन्टाइन बनाउन प्रदेश सरकारलाई पत्राचार

होटल व्यवसायीहरूले होटल बन्द गर्ने तयारी गरिरहेको सन्दर्भमा होटल व्यवसायी संघको निर्णय अनुसार आवश्यक परेमा होटललाई क्वारेन्टाइन र आइसोलेशन वार्ड बनाउन प्रदेश सरकारलाई होटल व्यवसायी संघले अनुरोध गरेको छ ।
कैलाली होटल व्यवसायी संघका जिल्ला अध्यक्ष बमले होटल बन्द भएपछि व्यवसायीहरूसंग समन्वय गर्न समस्या हुने भएकाले अहिले नै क्वारेन्टाइन र आइसोलेशन वार्डका लागि आवश्यक रुम र वेड संख्या माग गरी प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरिएको बताए ।
होटल व्यवसायी संघ सुदूरपश्चिम समितिले शनिबार विज्ञप्ति जारी गरेर आवश्यक परेमा होटलका कोठाहरू आइसोलेशन र क्वारेन्टाइन वार्डका लागि उपलब्ध गराउन सकिने निर्णय भएको जनाएको थियो । अध्यक्ष बमले आगामी पाँच दिनभित्र क्वारेन्टाइन र आइसोलेशनका लागि आवश्यक रुम र वेड संख्या एकीन गराइदिन आग्रह गरिएको बताए ।

सीमानाकामा कडाई गर्ने माग

सुदूरपश्चिम प्रदेशका उद्योगी व्यवसायीहरूले सीमानाकामा कमजोर चेकजाँचको असर प्रदेशमा पर्ने भएकाले कडाई गर्न माग गरेका छन् ।
भारतका विभिन्न शहरबाट घर फर्किने सुदूरपश्चिमेलीहरूको संख्या दिनहु बढ्दै गएको सन्दर्भमा सिमाना नाकामा स्वास्थ्य चेकजाचमा कडाई गर्न उद्योगी व्यवसायीहरूले माग गरेका छन् ।
कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलमबहादुर बमले सीमानाकामा राम्रो चेकजाच नभएको असर प्रत्यक्ष रुपमा उद्योग व्यवसायमा पर्ने बताए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले सीमानाकामा चेकजाच कडाईका साथ हुन नसकेकाले प्रदेशमा कोरोना भाइरसको त्रास बढेको बताए ।
त्यस्तै, उद्योग बाणिज्य महासंघका प्रदेश अध्यक्ष शंकर बोगटीले सीमानाकाबाट कोरोना भाइरस नेपालमा छिर्न नदिने गरी चेकजाच गर्न आवश्यक रहेको बताए । उनले प्रदेशमा रहेका सबै नाकाहरू बन्द गर्न आवश्यक रहेको बताए ।

कैलाली र कञ्चनपुर बजार बन्द

कैलाली र कञ्चनपुर उद्योग वाणिज्य संघले सोमबारदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने निर्णय गरेका छन् ।
कैलाली उद्योग वाणिज्य संघले सोमबारदेखि अर्को निर्णय नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेकका बजार बन्द गर्न सूचना जारी गरेको छ ।
त्यस्तै, कञ्चनपुर उद्योग बाणिज्य संघले चैत २१ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको छ । संघका कञ्चनपुर अध्यक्ष जंगबहादुर मल्लले चैत २१ गतेसम्मका लागि उद्योग र बजार बन्द गर्ने निर्णय भएको जनाए । उनले खाद्यान्न र मेडिकल सेवा बाहेकका व्यापार व्यवसाय बन्द रहने जनाए ।
यसैगरी, गोदावरी नगरपालिकामा आइतबार भएको अत्तरिया नगर उद्योग वाणिज्य संघ सहितको सर्वपक्षीय बैठकले पनि सोमबारदेखि अत्तरिया बजार बन्द गर्ने निर्णय गरेको छ । अत्तरियामा अत्यावश्यक पसलहरू बाहेकका सबै व्यवसाय अनिश्चितकालसम्म बन्द गर्ने निर्णय भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले बताए ।

कञ्चनपुरमा स्वास्थ्य उपचार बाहेकको काममा घर बाहिर निस्किन नपाउने

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि अत्यावश्यक सेवा बाहेक सबै व्यवसाय, यातायात, नाका लकडाउन गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतबाट आवागमनको चाप बढेकाले जाखिम हुन सक्ने भन्दै चैत ११ गते बिहान ७ बजेदेखि गड्डाचौकी नाकाबाट पैदल यात्रु समेतको आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सीमावर्ती क्षेत्रमा मदिरा विक्री समेत बन्द गर्ने निर्णय गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बन्द गर्ने निर्णयहरू अर्को सूचना जारी नभएसम्म लागु हुने बताए ।
उनले कञ्चनपुरमा स्वास्थ्य उपचार बाहेकको काममा घर बाहिर ननिस्किन समेत जिल्लाबासी सर्वसाधारणलाई अनुरोध गरिएको बताए । उनले प्रशासनको आदेश विपरित घर बाहिर निस्केमा कानुन बमोजिम कारबाही समेत गर्ने निर्णय भएको बताए ।

स्टक राख्दा बजारमा नुन अभाव

कोरोना भाइरस संक्रमण हुन सक्ने त्रासका कारण उपभोक्ताहरूले खाद्यान्न, ग्यास, पेट्रोलियम पदार्थ, नुन, चिनी भण्डारण गर्न थालेपछि सुदूरपश्चिमका बजारमा नुन, ग्यास र पेट्रोलको अभाव देखिन थालेको छ ।
धनगढी, टीकापुर, महेन्द्रनगर, भजनी, सुख्खड, लम्की, अत्तरिया लगायतका बजारमा नुन, पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ ।
धनगढीका एक व्यवसायीका अनुसार महिना एक प्याकेट नुन किन्ने उपभोक्ताले पनि एकै पटक ८/१० प्योकट किन्ने गरेकाले बजारमा नुन छिट्टै सकिन थालेको छ ।
तर, साल्ट ट्रेडिङ कर्पोरेशनको धनगढी कार्यालयले धनगढीकै गोदाममा अझै एक लाख ४० हजार क्वीन्टल नुन स्टक रहेको जनाएको छ । यो नुन सुदूरपश्चिममा एक वर्षका लागि पुग्ने साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङका एक कर्मचारीले व्यापारीले माग जति नुन साल्ट ट्रेडिङले दिइरहेको बताए ।
स्थानीय तहहरूले पनि एक महिना पुग्नका लागि खाद्यान्न भण्डारण गर्न सूचना जारी गरेपछि आम उपभोक्ताहरूले नुन, दाल, चामल, तेल लगायतका खाद्यान्न भण्डारण गर्न थालेका छन् ।
यसैगरी, आइतबार कैलाली र कञ्चनपुरका उद्योग वाणिज्य संघहरूले बजार बन्द गर्ने निर्णय गरेपछि आइतबार साँझदेखि पेट्रोल पम्पहरूमा पनि भिड बढेको छ । तर संघहरू अत्यावश्यक सेवा बाहेकका बजार बन्द आव्हान गरेका छन् । पेट्रोल, ग्यास, खाद्यान्न, स्वास्थ्य, सञ्चार, डाक सेवा अत्यावश्यक सेवाको रुपमा नेपालको राजपत्रमा प्रकाशित छ । पेट्रोल पम्पहरूले पनि बन्द नहुने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार