२ जेष्ठ २०८१, बुधबार

विरुवा हुर्काउँदै वैज्ञानिक वन



रानीफाँटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भई रुख कटान र झाडी सफाई गरिएको प्लटमा हुर्किदै गरेको सालका विरुवा ।

रानीफाँटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भई रुख कटान र झाडी सफाई गरिएको प्लटमा हुर्किदै गरेको सालका विरुवा ।

धनगढी । सुदूरपश्चिम प्रदेशमा रहेका वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गरेका सामुदायिक वनहरूले नयाँ विरुवा हुर्काइरहेका छन् ।
बैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गरी माउ रुख बचाएर कटान गरिएको वनहरूमा सालका नयाँ विरुवा उम्रिएका छन् । अघिल्ला वर्षहरूमा रुख काटिएका प्लटमा नयाँ विरुवा उम्रिएर हुर्किरहेको भए पनि कटान नगरिएको प्लटहरूमा नयाँ विरुवा उम्रिएका छैनन् ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६, रानीफाँटा सामुदायिक वनमा २०७२ देखि वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएको छ । दुई सय २७ हेक्टर जमीनमा फैलिएको सो वनलाई आठ वटा पिरियोडिक ब्लक मध्ये एउटा ब्लकको पाँच वर्षदेखि उपभोक्ता समितिले काम गरिरहेको छ । अघिल्ला चार वर्षमा काटिएका प्लटहरूमा सालका नयाँ विरुवा उम्रिएका छन् ।
सुदूरपश्चिम प्रदेशको वन निर्देशनालयका निर्देशक हेमराज बिष्टका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएको हरेक वनलाई आठ वटा पिरियोडिक व्लक र हरेक व्लकलाई १० वटा प्लटमा विभाजन गरेर रुख संख्या र प्लटको क्षेत्रफलको आधारमा रुख काट्ने कार्ययोजना तयार गरिएको छ । उनले त्यसरी रुख काट्दा माऊ रुख र भूक्षय हुने खतरा भएको ठाउँमा रुख नकाट्ने गरेको बताए । यसरी एक प्लटमा एक वर्ष रुख काटिने भएकाले ८० वर्षसम्म निरन्तर प्रक्रिया चलिरहने उनले बताए ।

सोही वनमा कटान नगरिएको वन क्षेत्र । यहाँ नयाँ विरूवा उम्रिन सकेकाे छैन ।

सोही वनमा कटान नगरिएको वन क्षेत्र । यहाँ नयाँ विरूवा उम्रिन सकेकाे छैन ।

रानीफाँटा सामुदायिक वनका अध्यक्ष चक्र बोगटीले रुख कटान गरिएको प्लटहरूमा नयाँ सालका विरुवा उम्रिदै हुर्किरहेको बताए । उनले पहिलो वर्षमा कटान गरिएको प्लटमा नयाँ उम्रिएका विरुवा हुर्किदै लाथ्रा भइसकेकाले माउ रुख पनि हटाएर छनोट गर्ने बेला भइसकेको बताए ।
सुदूरपश्चिम प्रदेशको कैलालीका ६२, कञ्चनपुरका १२ तथा बैतडी, डोटी, डडेल्धुरा र बाजुराका दुईदेखि तीन वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गरिएको छ । कार्ययोजना लागू भएका सबै वनमा कटान गरिएका प्लटहरूमा नयाँ विरुवा उम्रिएको वन निर्देशक विष्टले बताए ।
उनले रुख कटान गरी झाडी सफाई गर्दा नयाँ विरुवा वातावरण बन्ने गरेको बताए । पुरानो बुढा रुखको हांगा बढेर छाम छेक्ने भएकाले नयाँ विरुवा हुर्किन नसक्ने गरेको बताउँदै उनले कटान गरिएको क्षेत्रमा दिनभरी नै सुर्यको किरण पर्नाले रुख काटिएको नयाँ विरुवा हुर्किरहेको बताए । उनले नयाँ विरुवा हुर्किनका लागि एक/दुई घण्टाको घामले पर्याप्त नहुने बताउँदै दिनभरि नै घाम आवश्यक पर्ने बताए ।
सबैभन्दा धेरै सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएको कैलालीका बाह्रवन, जनजाग्रृति, हरियाली, रानीजरुवा, सिंगेकोट, सिताकुण्डा, दानुवाफाँटा, भगवती, सिद्ध बाँसघारी र कञ्चनपुरको सिंहपुर लगायतका सामुदायिक वनमा अनुगमनको क्रममा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना अनुसार व्यवस्थापन भई नयाँ विरुवा हुर्किदै गरेको भेटिएको सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले बताए ।
समितिका सभापति कुँवरले वनका विज्ञहरूले अध्ययन र प्रयोग गरेर नै वैज्ञानिक वन व्यवस्थापनको अवधारणा ल्याएको र नेपाल सरकारले लागू गरेको हुनाले अवधारणा राम्रो रहेको पुष्टी हुदै गए पनि कतिपय उपभोक्ता समितिमा खराव प्रवृत्तिका व्यक्ति रहेको वनमा अवधारणा अनुसार काम नभएको पनि पाइएको बताए । उनले सबै उपभोक्ताहरू अवधारणा बारे बुझेर जागरुक भएको वनले आगामी पुस्तासम्म पुग्ने गरी वन संरक्षण गर्न थालेको बताए ।
१९ हजार पाँच सय ३९ वर्ग किलोमिटर क्षेत्रफल रहेको सुदूरपश्चिम प्रदेशको भूभागमा ५७ प्रतिशत वन क्षेत्रले ओगटेको छ । यद्दपि, ती वन क्षेत्रमा रहेको ८० प्रतिशत भन्दा बढि रुखहरू ओभर म्याचुअर भइसकेको तथ्यांक छ । यी वनहरूलाई अहिलेदेखि नै पुनर्उत्पादन नगरिए केही वर्षमा नयाँ विरुवा नआउने र पुराना रुख ढल्दै सुक्दै जानाले सुदूरपश्चिमको वन आफै सकिने पहलमानपुर वन डिभिजन कार्यालयका वन अधिकृत कृष्णदत्त भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार